कांग्रेसले हानेको बम सगुन थियो ?
- अनिल शर्मा विरही
कमरेड विप्लव नेतृत्वको नेकपाले एनसेल नामक दूरसञ्चार सेवाप्रदायक कम्पनीमाथि कारवाही गरेपछि विभिन्न कोणबाट बहसहरु भएका छन् । घरानियाँहरूले कडा आपत्ति र विरोध जनाएका छन् । झापाका एकजना झापा विद्रोहकालीन नेताले अरुण –३ मा आक्रमण भएको र विराटनगरस्थित भारतीय अवैध ‘दूतावास’ मा आक्रमण भएको खबर सुन्नासाथ ‘यो देशमा देश र जनताको विरुद्ध जानेहरुलाई थ्रेट गर्ने शक्ति पनि रहेछ भन्ने भयो । स्वाभीमानबोध भयो । त्यसदिन राम्रो निद्रा लाग्यो ।’ भनेका थिए । एनसेलको समाचार सुन्नासाथ एकजना न्यायाधीशले खुशी हुँदै ‘आज भात धेरै खाएँ’ – भने । यसरी देश ध्रुवीकरण भइरहेको छ । यद्यपि, सरकार र निगम पँुजीवादको नुन खाएका सञ्चार र प्रायोजित बौद्धिकका स्वर मात्र ठूला सञ्चारगृहले पस्कने गरेका छन् । अक्टोबर क्रान्तिपछि रुसका एकजना पाका मजदुरले भनेका थिए – ‘हाम्रो देशमा धेरैजसो लखपति छन्् । उनीहरुको हाम्रो भन्दा फरक खाले जीवनस्तरमात्र नभएर भाषा पनि बेग्लै छ ।’ नेकपा र संसदीय व्यवस्थाका नेताहरुको भाषा पनि फरक हुँदै गएको छ ।
शान्ति प्रक्रिया अवरुद्ध भएको, गृहयुद्ध नभएको संक्रमणकालीन अवस्थामा नेपाल छ । हामीले २÷३ वर्षअगाडि नै माधव नेपाल, के.पी. ओली, रामचन्द्र पौडेललगायत नेताहरुलाई ‘प्रचण्ड र बाबुरामलाई किनेर शान्ति प्रक्रिया पूरा हुँदैन । जनयुद्धले उठाएका नारा संबोधन हुनुपर्छ’ भनेका थियौं तर पटक्कै सुनिएन । जनमुक्ति सेनाका युवाहरुलाई अनेक गरेर लखेटियो । परिचयपत्र, पोशाक सम्झनाको लागि लग्छु भन्दा खोसेर रुवाउँदै घर फर्काइयो । सहिद परिवारलाई राहत देऊ भन्दा रामचन्द्र पौडेलले ‘हाम्रालाई द्वन्द्वकै समयमा दियौं, तिम्रालाई तिमी नै देऊ, सरकारले दिंदैन’ भनेको होइन ? कुनै पनि समस्याको पछाडि वस्तुगत धरातल (ग्राउण्ड रियालिटी) हुन्छ । धरातलीय यथार्थको समाधान षड्यन्त्र र दमन हुन सक्दैन । विश्वका घटनाहरु हाम्रासामु छन् । हेर्दै जानुहोला श्रीलंकाको तमिल समस्या अझै भयावह भएर उठ्नेछ । अफगानिस्तानमा के भयो ? अरब देशमा के भइरहेको छ ?
कांग्रेस, पूर्व एमाले र त्यसको बैचारिक श्रोत निकट ब्यक्तिहरुले नेकपाको कारवाही र नीतिहरुको विरोध गर्दैछन् । त्यसो गर्ने नैतिक हक उनीहरुलाई हुनसक्दैन । नेपाली कांग्रेसले हतियार उठाएको, जहाज अपहरण गरेको, राजामाथि बमप्रहार गरेको होइन ? कांग्रेसले हानेको बम सगुन थियो ? तत्कालीन झापाली (हालका प्रम ओली, सिपी मैनाली, झलनाथ) ले टाउको काटेर आएका होइनन् ? राजाहरुको इतिहास देशभक्त भारदार र आफ्नै भाइ–भतिजा मारेर बनेको हो । राजतन्त्रको इतिहास रगतको पोखरीमा हुुर्केको छ । २०६६ सालताका चितवनका एकजना एमाले नेताले सर्वदलीय बैठकमा ‘बाटोमा हिंड्दा किरा पनि नमरोस् भनेर सोच्दै हिँड्छु’ भनेका थिए । मैले तत्काल माओवादी मार्न शाही सेनालाई बन्दुक थमाउने एमाले–कांग्रेस होइन ? एमाले–कांग्रेसका हरेक कार्यकर्ताले त्यसको नैतिक जिम्मेवारी लिनु पर्र्दैन ? मैले त तिम्रो अनुहारमा रगतको छिर्का देखिरहेको छु भनेको थिएँ । राजाको रक्षा गर्न नसकी, कालापानीमा विदेशी सेनाले परेड खेल्दा बोल्न नसक्ने, गीत गाउन पनि नपाउने नेता र निकायले सभ्य समाजको नेत्रृत्व गर्न सक्दैनन् । ती भजनमण्डली हुन्, कोही पशुपतिका, कोही रामजानकी मन्दिरका ।
राष्ट्रिय अर्थतन्त्र चौपट भएको छ । देशको प्रतिष्ठा गिर्दो छ । सत्ताधारी र नेताहरुलाई धार्मिक आवरणका अपराधी गिरोहले चलाउँछन् । देशको आन्तरिक मामिलाको निर्णय युरोप, अमेरिका र दिल्लीमा हुन्छ । शासकहरु ल्याप्चे ठोक्न मात्र जन्मन्छन् । विदेशी उत्पादनको विस्तार गर्नु, नयाँ–नयाँ उत्पादन उपभोग गर्न सक्ने उपभोक्ता तयार गर्नु नै बिकास होइन । जनयुद्ध त्यसका लागि भएको थिएन । वर्तमान गृहमन्त्री रामबहादुर थापाले २ बर्ष अगाडि प्रचण्डलाई लाल गद्धार भनेको स्वर राष्ट्रिय सभागृहमा अझै प्रतिध्वनित भैरहेको होला । अहिले तिनै थापा कानुनको कुरा गर्दैछन् । एक प्रसंगमा पम्फा भुषालले ‘मलाई राजनैतिक वेश्यावृत्ति मन पर्दैन’ भनेकी थिइन् । गृहमन्त्रीको गर्जनको कुनै नैतिक आधार छैन । जसले वैद्य नेत्रृत्वमा हुँदा चुनाव बहिष्कार भन्दै कांग्रेसको पैसा खपत गरेका थिए । चितवनको पार्टीको जमिन बेचेर दारुपानी खान खोजे । पँुजीवादी व्यवस्थाका लागि पनि निम्नतम् आदर्श र नैतिक बल भएका नेताहरु चाहिन्छ होला । प्रचण्ड, बादलले कानुन तोड्न हुने, अरुले नहुने ? २०४७ को संविधान घोषणा गर्दा बिरोध थियो, तर रगत बगेको थिएन । अहिलेको संविधान दर्जनौं नागरिकको रगतको आहालमा घोषणा भएको हो । त्यसैले आज ओली–प्रचण्ड –बादल–देउवा सबैले इतिहासको मूल्यांकन, नैतिक जिम्मेवारी र वस्तुगत समस्या समाधानको विषयमा सोच्न आवश्यक छ । अन्यथा आँधीले को–कसलाई उडाउने हो ? भन्न सकिन्न ।
(लेखक विप्लव माओवादीका पूर्वीकमाण्ड इञ्चार्ज हुन् )
टिप्पणीहरू