​नेविसंघमाथि नेविसंघको प्रहार

नेविसंघका भाइहरू अहिले सायद पूरा फुर्सदमा छन् क्यारे । अरू कोहीसँग झगडा गर्न नपाएर आ–आफैं हानाहानमा उत्रिएका छन् । नेविसंघको अक्सर हानाहान पर्ने त अखिलसँग हो । यति बेला दुइटा अखिल एक हुने तरखरतिर लागेकाले नेविसंघतिर ध्यान दिने फुर्सद उनीहरूलाई छैन । अखिलसँग भिडन्त गर्न नपरेपछि नेविसंघ पूरै फुर्सदमा हुनु स्वाभाविकै भयो । त्यही फुर्सदको सदुपयोग गर्दै आइतवार नेविसंघका विद्यार्थी एकआपसमै भिडन्तमा उत्रेका हुन् । 

कांग्रेसको केन्द्रीय कार्यालयमा बैठक चल्दै थियो । बाहिरचाहिँ नेविसंघ(नेविसंघ भिडन्त चल्दै थियो । प्रजातन्त्रमा जनताद्वारा जनताका लागि जनताको शासन भन्ने गरिन्थ्यो । एक प्रजातान्त्रिक विद्यार्थी संगठन भएको नाताले नेविसंघद्वारा नेविसंघमाथि नेविसंघकै कार्यकर्ताले ठोक्ने कार्य सम्पन्न भएको छ । 

नेविसंघबीच सम्पन्न भएको उक्त भिडन्त एक हिसाबले नजिक आउँदो स्ववियु निर्वाचनको तयारी पनि हो । केही गरी फ्याट्ट चुनाव भइदियो भने तयारीको लागि समय नपुग्न सक्छ । त्यसैले अहिले आ–आफू बीच नै हानाहानबाट चुनावको तयारी गरेको हुनुपर्छ । अब हुने स्ववियु चुनाव अस्तिको संसदीय चुनावजस्तै भयानक हुने खतरा छ । दुइटा कम्युनिष्ट मिलेपछि दुईतिहाइ ल्याएजस्तै दुईटा अखिल मिलेपछि यतातिर पनि दुईतिहाइ जाने सम्भावना छ । त्यस्तो सम्भावनालाई चिर्ने हो भने तयारी त खतरै गर्नुप¥यो नि ! आइतबारको भिडन्त सायद त्यसैको तयारी हुनुपर्छ । 
 

टिप्पणीहरू