बम बिष्फोटमा समानताको बेलिविस्तार

सुरक्षा कति लापरवाह र समन्वयमा कति अविश्वास छ भने, देशभरका ७० हजार प्रहरीको नेतृत्व गर्ने महानिरीक्षकको घरबाट दुई सय मिटरको दूरीमा सम्साँझै बम पड्किन्छ । पाँच दिनदेखि प्रहरीले राज्यकै अर्को निकायसँग सहयोग मागेको माग्यै छ, पाउँदैन ।

शुक्रबार साँझ बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा पार्किङ गरेर राखिएको ल्याण्डक्रुजर गाडीमा बम बिष्फोट भयो । सर्वेन्द्र खनालको घरसँगै रहेको उक्त बिष्फोटले आइजिपीसहित आठ–दशजना छिमेकीको झ्यालका सिसा फुटेका छन् । भएभरका प्रहरी युनिट घटनास्थलमा पुगे । तर, चाहिने चिजै नभएपछि पुगेरमात्रै के गर्नु ? यदि प्रहरीसँग तुरुन्तै मोबाइल ट्रयाक गर्ने सुविधा हुन्थ्यो भने त्यही रात घटनामा संलग्न व्यक्तिहरु समातिन्थे । तर, नेपाल टेलिकमले घटना भएको तीन दिनपछि सोमबार साँझ मात्रै प्रहरीले मागेका आवश्यक कल डिटेल्सहरु दिएको छ । यदि, त्यही दिन घटनालगत्तै प्रहरीले हात पारेको भए, वा त्यो एरियामा घटनाअघि सक्रिय भएका मोबाइलका सिग्नलहरु फेला पर्न सकेको भए बढीमा तीन घण्टा हो, अपराधी नियन्त्रणमा आउने समय । तर, प्रहरीले कल डिटेल्स, लोकेशन ट्रयाकजस्ता अनुसन्धान विधिको दुरुपयोग गर्छ भनेर टेलिकमलाई चिठी लेख्नुपर्ने, मुद्दा खुलाउनुपर्नेजस्ता झण्झट थोपरिएको छ । अहिले विप्लव समूहले एनसेललाई जस्तै टेलिकमका टावर पनि हान्ला भन्ने डरले प्रहरीलाई उसले सहयोग गरिरहेको छैन । तर, लोकमान अख्तियार भएको बेला आशंकित व्यक्तिमाथि छानवीन गर्न टेलिकमका हाकिमहरु आफैँ कल डिटेल्स र मोबाइलको लोकेशन ट्रयाक गर्ने उपकरण पु¥याउन गएका थिए । त्यस्तो उपकरण डिएसपी दानबहादुर थापामार्फत दुरुपयोग गरेर लोकमानले धेरैको हुर्मत लिन भ्याए । 

शुक्रबारको बसुन्धरा बिष्फोट र फागुन ११ गते साँझ नख्खुस्थित एनसेल कार्यालयको बिष्फोटका सबै तरिका मिलेका छन् । बसुन्धरामा बम राख्न गएको मान्छे गुरुङको घरको पर्खाल नाघेर सरासर गाडीमा छिर्छ । ऊ छिरेर निस्ँिकदासम्म कोही कसैले देख्दैन । पर्खाल नाघेरै फर्किएको एक मीनेटभित्र बिष्फोट भइसक्छ । नख्खुमा पनि यस्तै भएको हो । नख्खुमाचाहिँ बिष्फोट हुन करिव चार मिनेट लाग्यो । उक्त बम एनसेल कार्यालयको रिसेप्सनमा पड्काउने तयारी थियो । बममा टाइम हालिएका कारण पहिला पालेले र पछि बाटो हिँड्ने (त्यहीँ ज्यान गुमाउने) ले फयाँक्दा पनि पड्किएन । यहीँबाट पाठ सिक्दै बसुन्धरामा टाइम हालिएको, तर एक मीनेटकोमात्र थियो । नख्खुमा एकजना मास्क लगाएका र अर्का नलगाएका मानिसले बम राखेका छन्, बसुन्धरामा पनि तरिका त्यही नै । 

दुबैतिर पड्किएको बम हाइ एक्स्प्लोजन, अर्थात् प्रेसर कुकर बम हो । यस्तोमा एउटा सानो लड्डुजति टिएनटीको धुलो (ट्राई नाइट्रो ट्रलिन) हालिएको हुन्छ । त्यही धुलोले हो, धमाका सिर्जना गर्ने । नख्खु र बसुन्धरामा पड्किएको बमको यो पनि अर्को समानता हो । ट्राई नाइट्रो ट्रलिनलाई विज्ञानले अग्र्यानिक कम्पाउण्ड मान्दछ । यसले बिष्फोटनलाई भयानक बनाउने गर्दछ । तर, नेपालमा सक्कली ट्राई नाइट्रो ट्रलिन प्रहरी र सशस्त्रसँग पनि छैन, नेपाली सेनासँग मात्र छ । विप्लव समूहले प्रयोग गरेकोचाहिँ कमर्सियल एक्स्प्लोजन हो । यो सेनासँग भएजत्तिको असली होइन, तर त्योभन्दा केही मात्रा मात्रै कम बिष्फोटन क्षमता राख्ने टिएनटी उनीहरुसँग छ । प्रहरीसँगको सूचनाअनुसार गत वर्षको स्थानीय निर्वाचनताका बिथोल्ने प्रयोजनका लागि विभिन्न नाकाबाट भारतीय बजारमा खरिद गरिएको करिब दुई सय टन त्यस्ता ट्राई नाइट्रो ट्रलिन (टिएनटी) भित्रिएको थियो । अहिलेसम्म विप्लव समूहले त्यसैबाट काम चलाउँदै आएको छ ।

उता, नख्खु बिष्फोटमा संलग्न भएको भनी पक्राउ परेका विप्लव नेकपाका पोलिट्व्युरो सदस्यहरु सूर्य भुजेल र केदार खतिवडाको कल डिटेल्समार्फत बसुन्धरा बिष्फोटनमा संलग्न व्यक्ति फेला पर्न सकेका छैनन् । तर, प्रहरीको बुझाईअनुसार नख्खु र बसुन्धरामा बिष्फोट गराउन गराएका व्यक्तिहरु उही हुन् ।
 

टिप्पणीहरू