​फरार फेरि करार

गत सातादेखि युनाइटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका अजयकुमार मिश्र प्रहरीको ‘फरार प्रतिवादी’ रहेको खुलेको छ ।

हालै मात्र जनता बैंकको डेपुटी सीईओबाट अवकाश पाएका मिश्र त्यसअघि सिद्धार्थ डेभलपमेण्ट बैंकमा थिए । जनता बैंकसँग २ वर्षअघि मर्ज हुनुअघि उनी उक्त डेभलपमेण्ट बैंकको सीईओ थिए । त्यहीबेला उनले बैंकको तीनकुने शाखाकी तत्कालीन प्रबन्धकलगायतसँग मिलेर इचंगुनारायणको भिरको जग्गाको जग्गाधनी फेरेर कृष्ण चौधरीको नाममा किर्ते कर्जा प्रवाह गरेको आरोप लागेको थियो । जनता बैंकसँग मर्ज गरेपछि उक्त लफडा सल्टिने आसमा डेपुटी सीईओ बनेपछि पनि आरोपको स्वर झन् बढेपछि जनता बैंकले प्रहरीलाई आवश्यक अनुसन्धानका लागि सम्पूर्ण कागजातसहित गुहारेको थियो । प्रहरीले लामो समय लगाएर गरेको अनुसन्धानबाट मिश्रलगायत तत्कालीन सिद्धार्थ डेभलपमेण्ट बैंकका झण्डै आधा दर्जन कर्मचारीलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

जनता बैंकसँग आफ्नो संस्था मर्ज हुने तयारी गरेपछि मिश्रले भीरको जग्गालाई समथर र महँगो प्रमाणित गर्न लगाई आफैँ कर्जा समितिको संयोजकको नाताले २ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, पछि उक्त ऋणको अपचलनबारे जनता बैंकमा गाइँगुइँ चलेपछि छानबिनका लागि बैंकले प्रहरीलाई गुहारेपछि रहस्य बाहिर आएको हो । स्मरणरहोस्, मिश्र पछिल्लो पटक सीईओ बनेको युनाइटेड फाइनान्स कम्पनी उद्योगपति तथा अर्बपति विनोदकुमार चौधरी समूहको प्रमुख लगानी रहेको संस्था हो ।

टिप्पणीहरू