​‘बलात्कार’ गरिवरी फुत्त बेलायत

गाउँमा आपत–विपत पर्दा काम लाग्छ भनी एम्बुलेन्स दिने ‘समाजसेवी’ ले त्यति ठूलो काम गरेर नाम कमाउनुपर्ने, तर नामचाहिँ जबरजस्ती करणी गरेबापतको बक्यौता नतिरी फरार भएकोमा कमाइदिए । 

नेपालमा जवरजस्ती करणी मुद्दाका दोषी खोजिँदैछ, उनै व्यक्ति अहिले बेलायत पुगेर फेरि ‘समाजसेवा’ मा जुटिसकेको खबर सुनेपछि प्रहरीहरु चकित छन् । रावाखोला सेरोफेरो समाज युकेको महासचिव हुँदै सप्तराज राईले आफू जन्मिएको खोटाङ जिल्लालाई सातवटा एम्बुलेन्स दिए । दिनभरि एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बाजागाजासहित सम्मानित भएका उनले राति १० बजे एकजना सामाजिक अभियन्तामाथि यौन सम्पर्कको प्रयास राखे । महिलाले इच्छा देखाइनन्, सप्तराजले जबरजस्ती गरे । एक वर्षसम्म विवाह, क्षतिपूर्ति वा कानुनी कारवाहीमध्ये केही होला भनेर उनी पर्खिएर बसिन् । तर, केही नभएपछि सामाजिक परिचालक हकहित केन्द्रका अध्यक्ष तेजबहादुर निरौलाले गत मंसिर २६ गते बेलायतस्थित रावाखोला समाजलाई चिठी लेखे । यही मुद्दा प्रहरीकहाँ दर्ता छ । तर, सप्तराजमाथि कुनै कारवाही भएको छैन ।

घटना भएको भोलिपल्टै सप्तराज भागेर काठमाडौं पुगे । ९८४१८७०२०१ नम्बर चलाएका थिए । त्यो अफ गरे । कुरा चर्किंदै गयो र एनआरएन बेलायतका अध्यक्ष हिराधन राई काठमाडौं आए । उनले भित्रभित्रै मिल्नुपर्ने र बाहिर हल्ला नगर्ने भनेपछि त्यहीअनुसार कुरा मिलाउन खोटाङदेखि बेलायतसम्मका अगुवाहरु लागि परे । तर, फेरि बद्मासी गरे सप्तराजले । पीडित युवतीका माग थिए, पहिलो नम्बरमा विवाह गर्नुपर्ने, यदि त्यसो नगरे ९३ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, त्यो पनि गर्न नसके कानुनी कारवाहीका लागि तयार हुनुपर्ने । कानुनी प्रक्रियामा जान नहुने भनी खोटाङ कांग्रेसका नेता सुवाष पोखरेल, नेकपा नेता तथा प्रदेश सांसद राजन राई, हलेसी–तुवाचुङकी उपमेयर विमला राई, कांग्रेसका समीर राई, माओवादी केन्द्रका नवीन राईसहितको छलफलले टुंगो लगायो । तर, ज–जसको साक्षीमा त्यस्तो सहमति भयो, सप्तराजले उनीहरुलाई पनि धोका दिए । छलफलका क्रममा पीडित युवतीको मागअनुसार १० लाख रुपैयाँ क्षतिपूर्तिको सहमति भयो ।

सप्तराजसँग त्यति पैसा थिएन । स्थानीय नेता आशधन राई (समिर) लाई साक्षी राखेर एक महिलाले पाँच लाखको चेक सापटी दिइन् । बाँकी ५ लाख एक महिनाभित्र दिने भनी दिक्तेलका एक वकिल बोलाएर मिलापत्र भयो । तर, न चेक साटियो, न एक महिनापछि दिने भनिएको पैसा पीडितलाई दिइयो । अहिले बेलायतमै सप्तराजको खोजी शुरु भएको छ ।

टिप्पणीहरू