​प्रधानमन्त्रीको अड्डामा यस्ता प्रहरी

प्रधानमन्त्री अध्यक्ष हुने र राष्ट्रिय सुरक्षाका अति नै संवेदनशील योजना, तयारी र कामहरु गरिने सुरक्षा परिषद्मा कस्तो मान्छे हुनुपर्ला ? यसमा कुनै प्रश्नै हुँदैन– देश र संगठनप्रति बफादार । तर, एउटा युनिटमा आर्थिक अपचलनको अभियोग लागेका र दरबन्दी पनि नभएका अधिकृतलाई नेपाल प्रहरीले राष्ट्रिय सुरक्षा परिषद्मा पठाउने भएको छ । 

प्रहरी र सशस्त्रका डिआइजीले नेतृत्व गर्ने राष्ट्रिय सुरक्षा परिषद्मा अस्ति सोमबारको काज निर्णयबाट केन्द्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका समादेशक धीरु बस्नेत हाजिर हुने भएका छन् । प्रहरी प्रतिष्ठानका लेखापाललाई तर्साएर आउने जति प्रत्येक शीर्षकको रकममा आफ्नो भाग खोज्ने क्रममा धीरु दोषी भेटिएका हुन् । आफूले पनि होइन, पत्नीलाई अगाडि सारेर लेखापाल सुगन्ध श्रेष्ठलाई तर्साउने गरेको उजुरी आइजिपी सचिवालयमा परेको थियो । पहिला लेखापाल आफू एआइजीबाट पीडित भएको भन्दै हेडक्वार्टर पुगेका थिए । तर, आफूविरुद्ध उजुर गर्ने लेखापाललाई पनि धीरुले किन बाँकी राख्थे ! उनले पनि लेखापालका एक–दुईवटा बद्मासी सुनाए । त्यसपछि त्यहाँबाट दुबैजना तानिएका छन् ।

त्यस्तै, उजुरी किनारा नलाग्दै बढुवामा परेका ५२ इन्स्पेक्टरले आइतबार फुली लगाएका छन् । बढुवा ५४ जना भएका थिए, दुई जना फुली लगाउन गएनन् । अरु बेला फुली लगाउने कार्यक्रमबारे सूचना प्रकाशित गरेर बोलाइन्थ्यो । तर, यसचोटि बिनासूचना नै बोलाइयो । सँगै पदस्थापनको सूची पनि प्रकाशित गरिएको छ । उजुरी सुन्ने समितिमा दुईजनाको उजुरी परेको थियो ।

 

टिप्पणीहरू