​जसले पूर्वबाट देश हल्लाए

  • गणेश लम्साल

 
विश्वेश्वर, गिरिजाप्रसाद, मातृकाप्रसाद कोइराला र नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारीलगायत देशलाई पटक–पटक प्रधानमन्त्री दिएको १ नम्बर प्रदेश । भरतमोहन अधिकारी, विजय गच्छदारदेखि सुजाता कोइरालालगायत उपप्रधानमन्त्री मात्र नभई दर्जनौं मन्त्री जन्माएको ठाउँ । पहिलोपटक समुद्रपार व्यापार शुरु गरेको र नेपालकै पहिलो उद्योग स्थापना भएको यो प्रदेशमा जन्मिएका कतिले देश हल्लाएका छन् । 

कुसकुमार जोशी २०६५ मा उद्योग बाणिज्य महासंघको अध्यक्ष थिए, संखुवासभाको चैनपुरमा जन्मेका हुन् । निक कम्पनीको प्रबन्ध निर्देशक रहेका उनी भेरी इनर्जी, हिमालयन ब्याम्बो प्रालि, लिबर्टी, इनर्जी इन्जिनियरिङ प्रालिमा अध्यक्ष छन् ।

झापाको भद्रपुर घर भएका चण्डिराज ढकाल पनि पूर्वबाट देश हल्लाउने उद्योगी व्यापारी हुन् । भद्रपुरमा मोमेन्टो एपरेल्स गार्मेन्ट उद्योगका संस्थापक हुन् । खोटाङको रावावेसी गाउँपालिका ५ मा जन्मिएका मिनबहादुर गुरुङ भाटभटेनी सुपर मार्केट सञ्चालनका रोल मोडल हुन् । 

उदयपुर जिल्लाको कटारी नगरपालिका निवासी इच्छाराज तामाङ पनि चर्चित व्यापारीमा कहलिन्छन् । इन्जिनियर पेशाबाट सिभिल मल र सिभिल बैंक स्थापना गर्न सफल उनी पूर्वसांसद थिए । 

एक नम्बर प्रदेशको योजना आयोगका अध्यक्ष एवं मानवअधिकारवादी संस्था इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेल पनि देश हल्लाउने उद्योगी हुन् । कुनै बेला एमालेको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिएका उनले विराटनगर जतुवामा महावीर तोदीलगायतको साझेदारीमा एमएम प्लाष्टिक उद्योग खोलेर उद्यम शुरु गरेका थिए । 

अर्का उद्योगी जुद्धबहादुर श्रेष्ठ हुन् । वि.सं. १९९५ मा बिराटनगर गोश्वारामा कृषि फाँटको ट्रान्सलेटरका रूपमा जागिर खान आएका उनले जुद्ध म्याच फयाक्ट्री, नेपाल प्लाइउड एण्ड बबिन कम्पनी, मोरङ सुगर मिल स्थापना गरेका थिए ।

विराटनगरका उद्योगी मोती दुगड सद्भावना पार्टीबाट सांसद थिए । दोस्रो संविधानसभामा नवनिर्माण पार्टी स्थापना गरेर प्रतिस्पर्धा गरे तर उनको पार्टीको जमानत जफत भयो । त्यसपछि पार्टीलाई एमालेमा बिलय गराएर सल्लाहकार बने । र, गत संघीय निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बन्न सफल भए । हाल विराटनगरमा तीन तारे ह्यारिसन होटल सञ्चालन गरिरहेका छन् । विराटनगरकै सबैभन्दा ठूलो मल पनि निर्माण गरिरहेका छन् । दुगड स्पाईसेज एण्ड फुडलगायत विभिन्न उद्योग पनि सञ्चालन गर्दैछन् । 

गोल्छा घरानाकी राजलक्ष्मीले पनि देश हल्लाउन सफल भइन् । समानुपातिक सांसद बनेकी उनले एमाले नेताहरूलाई चन्दा दिएको अभिव्यक्ति सार्वजनिक गरेर निकै चर्चा कमाइन् । हाल निस्क्रिय छिन् । उनकी छोरी युक्तिले उनको भागमा परेको हुलास वायर्स सम्हाल्दै आएकी छन् । 

महेश जाजू पनि चर्चित उद्योगी व्यापारी हुन् । जाजु चाउचाउ, बिस्कुट उद्योगका लागि प्रसिद्ध छन् । केबल, खाद्यान्न, स्टिललगायत उद्योग सञ्चालन गर्ने पवन सारडा चर्चित उद्योगी हुन् । मोरङ व्यापार संघमा दुईपटक अध्यक्ष बन्न सफल उनी फोरम लोकतान्त्रिकबाट दोस्रो संविधानसभामा गए । हाल कांग्रेस महासमिति सदस्य र मोरङ व्यापार संघको अध्यक्ष छन् । 

यसैगरी स्वर्गीय रामलाल गोल्छा देशकै पहिलो समुन्द्रपार व्यापारी र नेपालमा पहिलो उद्योग स्थापना गराउने भनेर देशैभर चिनिन्छन् । उनीलगायतको पहलमा सरकारको ५१ र राधाकृष्ण चिमडियाको ४९ प्रतिशत शेयर रहने गरी विराटनगरमा वि.सं. १९९३ मा जुटमिल स्थापना भएको थियो । नाति दिवाकर गोल्छा र हुलासचन्द्र गोल्छा नेपालकै सफल उद्योगीका रूपमा गनिन्थे । 

अर्का नाति सुरेन्द्र खाद्यान्न र मोटर उद्योगले चर्चित बने । उनले पावर टेलरबाट क्रमशः शेर्पा र मुस्ताङ जीप निर्माण र बिक्री–वितरण गरेका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनकै कम्पनीमा निर्माण भएको मुस्ताङ म्याक्स जीप चढेका थिए । उक्त मोटर उद्योग हाल बन्द छ । यस्तै राजकुमार गोल्छा पनि जुट उद्योगीका रूपमा चर्चित छन् । ज्ञानचन्द दुगड पनि चिनिएका उद्योगी व्यापारी हुन् । गोल्छा घरानाका भान्जाको नातामा लामो समय रेडक्रसमा बसे । यसैगरी झापाको भद्रपुरबाट आएका दिनबन्धु गोयल पनि समाज सेवाकै कारण चर्चित छन् । मारुती सिमेन्ट, बुटवल सिमेन्ट र गार्मेन्टका उद्योग सञ्चालन गरिरहेका उनले छोराबुहारी र श्रीमतीका नाममा फाउन्डेसन खोलेर विद्यालयलाई छात्रवृत्ति, आश्रम र अस्पतालाई सहयोग निरन्तर गर्दै आएका छन् । 

विराटनगरका चर्चित उद्योगी व्यापारीमा अशोक मुरारका पनि पर्छन् । चिया खेतीमा लगानीका कारण चर्चित बने । सँगै साझेदारसँग जोडिएर राजश्व छली विवादमा पनि चर्चित बने । उनको घरानाले कुनै बेला नेपालको राष्ट्रिय दैनिक नेपाल समाचारपत्रमा पनि लगानी गरेको थियो । यही घरानाका सदस्यहरू प्रदीप र पशुपति पनि चर्चामा छन् । 

शंकरलाल, मंगतुराम र सुबोध अग्रवालहरू पनि देश हल्लाउने उद्योगी हुन् । शंकरले पशुपति सोप र सुबोधले अन्नपूर्ण सोप उद्योग खोलेर गुणस्तरीय साबुनहरू देशैभर पु¥याए । तर बैंक घोटाला काण्डमा मुछिएर जेल परे अनि टाट पल्टिए । प्रदीप चैनवाला पहिले चम्किएर पछि टाट पल्टिएकै कारण चर्चित बने । अहिले दिल्लीतिर नोकरी गरेर गुजारा चलाउँदै छन् । यसैगरी विराटगरका उद्योगी व्यापारी जीवन नेपाल पनि टाट पल्टिएकै कारण चर्चित बने । 

चर्चितमा सुरेश शर्मा पनि पर्छन् । मोरङ व्यापार संघको पूर्वअध्यक्ष उनी होजियरी, राइस मिल सञ्चालन गरेर सफल उद्योगीमा दरिए । ताराचन्द खेतान अर्का चर्चित उद्योगी हुन् । विशाल ग्रुपका सदस्य तुल्सीराम र जगदीश अग्रवाल पनि चर्चित छन् । तुल्सीराम भारतीय अपराधी पप्पुदेवको समूहले अपहरण गरेपछि राष्ट्रिय चर्चामा थिए ।

एक प्रदेशका चर्चित उद्योगीमा विराटनगरकै किशनलाल र तोलाराम दुगड पनि हुन् । केएल दुगड समूहबाट चिनिने उनीहरूले तेल, ब्याट्री, पेय पदार्थ, खाद्यान्न उद्योगसँँगै अस्पतालमा पनि लगानी गरेका छन् । एमसी ग्रुपको रूपमा चिनिएका मदनलाल अग्रवाल पनि यताका चर्चित उद्योगी हुन् । मदनलालले विराटनगरमा आलिसान भवनसहितको अतिथि सदन स्थापना गरिदिएका थिए । उनको वीरगन्ज, काठमाडौंलगायतका स्थानमा स्टिललगायतका विभिन्न उद्योग सञ्चालन छन् ।

गंगाबिसन राठी पनि चर्चित उद्योगी हुन् । खाद्यान्न उद्योग चलाउने उनी धार्मिक समाजसेवीका रूपमा चर्चित थिए । अपहरण गरेर भारतको सिलिगुडी लगी सुकुनाको जंगलमा उनको हत्या गरियो । हाल उनका छोरा हरिवंशले खाद्यान्नसँगै सिमेन्ट उद्योग सञ्चालन गर्दै छन् । 

वासुदेव र पवन गोल्यान पनि देशका चर्चित उद्योगी हुन् । कपडा, गार्मेन्ट उद्योगसँगै उनीहरूले सुनसरीको खनारमा देशकै ठूलो रिलायन्स धागो कारखाना सञ्चालन गरिरहेका छन् । 

पारस लुनिया अर्का चर्चित उद्योगी व्यापारी हुन् । पारस नेपालको चर्चित पूर्व राष्ट्रिय क्रिक्रेट खेलाडी पनि हुन् ।

जगदीश राठी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय राजश्व समिति संयोजक थिए । पहिलो संविधानसभामा उनी एमालेबाट समानुपातिक सूचीमा चर्चामा आए पनि सांसद भएनन् । शोकले गर्दा हृदयाघातबाट मृत्यु भयो । 

अविनाश बोहोरा पनि चर्चित उद्योगी व्यापारी हुन् । यस्तै खेलाडीबाट गार्मेन्ट उद्योग हुँदै हेभी इक्विप्मेन्ट अनि सिमेन्ट, चप्पल उद्योग सञ्चालन गर्न सफल राजेन्द्र राउत चर्चित उद्योगी हुन् । मोरङ व्यापार संघमा वरिष्ठ उपाध्यक्ष रहिसकेका उनी विद्रोह गरेर उद्योग वाणिज्य महासंघ १ प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष बन्न सफल भए । भनसुन र पहुँचमा प्रभावशाली उद्योगी मानिन्छन् । 

रिजाल समूहका सन्तोष, नवीन पनि चर्चित उद्योगी हुन् । रोटरियन रहेका सन्तोष नेपाल जेसिजका पूर्वराष्टिय अध्यक्ष थिए । चन्द्रशिव राईस मिल सञ्चालन गर्छन् । घैला छापा तेल र चामल उत्पादन गर्ने यो उद्योग विराटनगरमा ठूलो मिलका रूपमा चर्चित छ ।

सुशील अग्रवाल पनि चर्चित छन् । विराटनगरमा मोरङ अटोवक्र्स स्थापना गरेर सक्रिय रहेका उनी भारतको दिल्लीमा पनि हेल्मेट उद्योग सञ्चालन गर्छन् । दिनबन्धु गोयल र नन्दकिशोर राठी मारुती सिमेन्टका कारण चर्चामा छन् । मोरङ रंगेलीका दिलिप बगडिया पनि चर्चित उद्योगी हुन् । एक दर्जन इँटा उद्योगका धनी उनले चप्पल क्षेत्रमा लगानी गरेका छन् । पहिले कांग्रेसमा आस्था राख्ने उनी संविधानसभामा सांसदको टिकट नपाएपछि विद्रोह गरेर माओवादी प्रवेश गरेका थिए । रंगेली नगरपालिकाको प्रमुख निर्वाचित भएर थप चर्चा पाएका छन् । 

किशोर प्रधान पनि चर्चित उद्योगी हुन् । कुनैबेला औषधि उद्योग सञ्चालन गर्ने प्रधान एकताका बैंकको कालो सूचीमा परेका थिए । विश्व बैंकसँगको साझेदारीमा कृषि परियोजना भिœयाउन पहल गर्ने र देशभर डुलेर उद्योगी व्यापारीको पक्षमा हक्की रूपले बोल्ने व्यक्तिका रूपमा पनि चर्चित छन् । 

भीम घिमिरे पनि चर्चित छन् । सुनसरीको बराहक्षेत्रस्थित गरिब परिवारमा जन्मेका उनी आफ्नै मिहिनेतले उद्योगी बन्न सफल भएका हुन् । लायन्स क्लब एवानको नेपाल अध्यक्ष बन्न सफल घिमिरे हाल उद्योग संगठन मोरङको अध्यक्ष छन् । नेकपाका शीर्ष र पहुँचवाला नेतासँग राम्रो सम्बन्ध भएकोले राजनीतिक रूपमा पनि पहुँचवाला उद्योगी र नेताका रूपमा गनिन्छन् । उनले इन्धन र अटोमोबाइल्स व्यवसायसँगै इँटा उद्योग सञ्चालन गर्दै आएका छन । 

नवलकिशोर र श्याम कावरा पनि चर्चित छन् । सप्तरीको हनुमाननगरबाट विराटनगर आएर उद्योग व्यापारमा सक्रिय भएका उनीहरूले क्वालिटी बिस्कुट, नुडल्स र साबुन उद्योग सञ्चालन गरेका छन् । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष मुकेश उपाध्याय नेकपानिकट मानिन्छन् । 

भुपालमान सिंह कार्कीको परिवारका सदस्य डा. ज्ञानेन्द्रमान सिंह कार्की विराटनगरका चर्चित स्वास्थ्य उद्यमी हुन् । सुनिल शर्मा पनि देशका चर्चित स्वास्थ्य उद्यमी हुन् । शून्य लगानीमा शेयरकर्ताको रूपमा भित्रिएर देशकै ठूलो र चर्चित नोबेल मेडिकल कलेजको मालिक बन्न पुगेका छन् । उनले तत्कालीन नोबेल मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र गिरीलाई माओवादी वाइसिएल प्रयोग गरी अपहरण गराएका थिए । नोबेलमा भएका विभिन्न बम काण्डसँग पनि जोडिएर आए । नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै उनी मोरङको २ नम्बर निर्वाचन क्षेत्रबाट संघीय सांसदमा प्रतिस्पर्धा गरे । कानुनमन्त्री भानुभक्त ढकाललाई चुनाव जित्न निकै आच्छु आच्छु पारेका थिए । 

झापाका मेलिकल कलेज सञ्चालक दुर्गा प्रसाईं पनि देश हल्लाउन सफल भए । बिर्तामोड घर भएका उनी गाईभैंसी पालेर पहिले सामान्य जीवन व्यतित गर्थे । हाल बीएण्डसी मेडिकल कलेजका सञ्चालक छन् । नेकपाका अध्यक्षहरू केपी ओली र पुष्पकमल दहाललाई मार्सी चामलको भात खुवाएर निकै चर्चा कमाए । बंगलादेशमा डाक्टरी पढ्न गएका नेपाली चेलीहरू यौन शोषणमा पर्न बाध्य हुन्छन् भन्ने अभिव्यक्तिको विवादले पनि उनलाई निकै चर्चामा ल्यायो । झापाको भद्रपुर निवासी दीपक पोखरेल पनि चर्चित उद्यमी हुन् । सामान्य कर्मचारी पेशामा जीवन बिताइरहेका उनी एक्कासि सौर्य एयरलाइन्सको अध्यक्ष बन्न सफल भए । भद्रपुरमा पाथीभरा अस्पताल सञ्चालन गर्दै आएका छन् ।

झापाकै स्वर्गीय मोहनलाल अग्रवाल (मित्तल) पनि चर्चित उद्योगी हुन् । उनले स्थापना गरेको मित्तल चियाबगान देशकै सबैभन्दा ठूलो बगान थियो । झापामा नेपाल चिया उद्योग कम्पनी सञ्चालन गरेर टोकलालगायत विभिन्न चिया बगान सञ्चालन गरिरहेका सुभाष र वीरेन्द्र संघाई पनि चर्चामा छन् । 

एक नम्बर प्रदेशमा बसेर देश हल्लाउने उद्योगीहरूमा लुनकरणदास चौधरी पनि पर्छन् । सुनसरीको दुहबीमा महालक्ष्मी मैदामिल खोलेर पछि पशुपति बिस्कुट उद्योग सञ्चालन गरेका उनको चौधरी ग्रुप नामको औद्योगिक घराना नै बन्यो । सुनसरीमा न्यूटी फुड उद्योग समेत सञ्चालन गरिरहेका उनको घरानाले दुहबी औद्योगिक ग्राम स्थापना गरिरहेको छ । सुनसरी इटहरीका शिव घिमिरे पनि अर्का चर्चित पात्र हुन् । सामान्य मजदुरीबाट पेट्रोलियम व्यवसायी बनेका उनी पेट्रोलियम व्यवसायी संघमा राष्टिय अध्यक्ष भए । तेलको कारोवारलाई लिएर पटक–पटक विवादमा आइरहने घिमिरेका कैयौं पम्प छन् । सुनसरीको खनारस्थित गोदाममा छापा मार्दा फुटरिंग काटिएका ग्यासका सिलिण्डर भेटिएको घटना चर्चित बनेको थियो । 

सोलुखुम्बुका व्यापारी प्रकाशसिंह कार्की पनि नेपालको छुर्पी तेस्रो मुलुक निर्यात गराउन थालेपछि चर्चित बनेका छन् । उनकै जिल्लाका बलराम गुरुङ गलैंचा व्यापारीका रूपमा चर्चित छन् । पाँचथरका अलैंची व्यापारी दीपक नेपाल, इलामका चिया उद्यमी उदयराज चापागाँई पनि चर्चित छन् । मोरंङको केराबारी २, सिंहदेवीका नारायण राई अनकन्टार ठाउँमा विदेशमा कमाएको पैसाले सफल अग्र्यानिक चिया खेती गर्दै छन् । धनकुटाका कृषक चन्द्रलाल तामाङ पनि चर्चित छन् । उनी किवी, अलैंचीलगायत खेतीका लागि प्रसिद्ध छन् । ऐंसेलुको रक्सी (हिंवा वाइन) उत्पादन गर्ने संखुवासभाका उद्योगी शेषनारायण श्रेष्ठ पनि चर्चित छन् । छोरी अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको सामाजिक सल्लाहकार बनेपछि उनको चर्चा झन चुलिएको थियो । 

चर्चित उद्योगी व्यापारीमा सुनसरी इटहरीका बलराम आचार्य र धरानका मानबहादुर दियाली, विराटनगरका हरिभक्त सिटौला र मोरङ विराटचौरका भोलेश्वर  र कृष्ण दुलाल, भीम पौडेललगायत छन् । भारतको मनिपुरबाट आएका बलराम गोर्खा डिर्पाटमेन्टल उद्योग र गोरखा किचेन अनि गोरखा बेकरी ब्राण्डका बिभिन्न शाखाहरू खोलेर सफल व्यापारीका रूपमा चर्चित छन् । यसैगरी भोजपुरको निम्नवर्गीय परिवारमा जन्मिएका मानबहादुरले बराह ज्वेलरी हुँदै देशभर मात्र नभएर हङकङमा समेत शाखा विस्तार गर्न सफल भएका छन् । विराटनगरका हरिभक्त सिटौलाले बन्द व्यापारबाट तीन तारे होटल जेयिनल स्थापना गर्न सफल भए । भोलेश्वर र कृष्ण दुलाल कृषि औजारको व्यापार गर्दागर्दै नेपालकै प्रसिद्ध पिएलओ लुब्रिकेन्ट उद्योगको मालिक बन्न सफल भए । भीम पौडेलको ढुंगागिटीमा एकछत्र राज छ ।

टिप्पणीहरू