​गोजीमा दाम छ तर ठाम कहाँ छ ?

पोखरा आएका कोरियन खाएर, पिएर रमाइलो गर्न चाहन्छन् । ‘नाच्नुपर्छ, केटी पनि नजिकै चाहिन्छ’ ६४ वर्षीय कोरियन बूढाले आफ्ना चिम्सा आँखा झिम्क्याउँदै भने, ‘ल्याएको पैसा सक्नुप¥यो नि, गोजीमा पैसा छ तर सक्ने ठाउँ छैन ।’

कोरियन फोटोग्राफी एसोसियसन (हान्गुक साजिन छाक्का हेफ्फे) सँग आबद्ध किम साङ युन थिए, उनी । ४० जना फोटो पत्रकार लिएर आएका उनीहरू कास्कीको हेम्जाकोट, सराङकोट र फेवाताल क्षेत्रका सुन्दर दृश्यलाई क्यामेरामा कैद गरीे लेकसाइडमा सुस्ताउँदै थिए ।

कोरियन रेष्टुरेण्टमा परम्परागत ‘किम्छी’को स्वाद लिएपछि उनको टोली रात्रिकालीन गतिविधिमा रमाउन चाहन्थ्यो । छोरासहित आएका प्रोफेसर नै चम्केपछि अरुको के कुरा ? तर, जाने ठाउँ थिएन । पोखरामा रात्रिकालीन मनोरञ्जन छैन भनेपछि खिस्रिक्क परे । नेपाल आउन चाहनेलाई सजिलोसँग हवाई टिकटको उपलब्धता, विश्वभर प्रचार र मनोरञ्जनका गतिविधि थप्न सुझाए अनि चुरोटको धुँवासँगैे टिमका साथीहरूलाई आफ्नै भाषामा केही कुरा भने ।

२०७४ सालतिर जनार्दन शर्मा गृहमन्त्री हुदा ८४ बुँदे गृह सुधार योजना अगाडि सारे । त्यो योजनाको २४औँ बुँदामा पर्यटकीय क्षेत्रहरू २४ सै घण्टा खुलाउने प्रतिबद्धता व्यक्त थियो । कास्कीका तत्कालीन एसपी घनश्याम अर्यालले लेकसाइड १२ सै घण्टा खोल्न दिने तयारीको घोषणा पनि गरे । मन्त्री फेरिए, एसपी फेरिए । लेकसाइड भने रातभर खुल्ने गरी फेरिएन । 

‘हामीले अदालतबाटै २ बजे बिहानसम्म खोल्नको लागि परमादेश लिएका डिस्कोसहितका केही बारहरूलाई सुरक्षा दिएका छौँ’, बैदाम चौकीका डिएसपी कोमल शाहले भने, ‘अहिले लेकसाइड रातभर खुल्दैन, कतिपय अवस्थामा राति हल्ला भएको उजुरी आउने गरेको छ ।’

प्रदेश सरकारका कानुनमन्त्री विकास लम्सालले पोखरामा छुट्टै मनोरञ्जन क्षेत्र बनाउने, रातभर खुला राख्ने र थप पर्यटकीय गतिविधि बढाउने घोषणा गरिरहँदा यहाँको प्रशासन÷प्रहरी भने आफ्नै तालले वस्तुस्थितिको अध्ययन गरिरहेको बताउँछ ।

‘राति ११ बजेपछि आउने पर्यटकले बास नपाउने अवस्था छ, अबेरसम्म खोल्न दिन्छौँ भन्ने आश्वासन पूरा भएको छैन, यस्तोमा कहिले इन्जोय जोन बन्ने र हामी त्यहाँ सर्ने ?’, एक पर्यटन व्यवसायीले प्रश्नसँगै व्यंग्य गरे, ‘सायद हाम्रा मन्त्रीज्यू (पर्यटनमन्त्री विकास लम्साल) भर्खरै थाइल्याण्ड गएको हुनुपर्छ, उहाँले त्यहाँको उज्यालो नभुल्दासम्म यो हल्ला चल्छ र पछि लेकसाइडको अँध्यारोमा हराउँछ ।’

टिप्पणीहरू