​झर्नैपर्ने को, पर्नैपर्ने को ?

सानातिना लफडाको कारण एक वर्षदेखि अवरुद्ध हुँदै आएको नेकपाको एकता प्रक्रियामा फेरि नयाँ समस्या देखिएको छ । 

जिल्ला कमिटीलगत्तै पोलिट्व्युरो, केन्द्रको कार्यविभाजन र जनसंगठन एकताका काम अगाडि बढ्ने भनिए पनि अहिलेसम्म कुरा पोलिट्व्युरोमै पुगेर अड्किएको नेकपाका एक सचिवालय सदस्यले जनआस्थालाई बताए । भयो के भने, राजेन्द्र राई (भोजपुर) पोलिट्व्युुरो सदस्य बन्ने योग्यता पुगिसकेका, माधव नेपाल पक्षधर । उनको नाम काटिएर विजय सुब्बा (तेह्रथुम) को हालिएको आरोप छ । विजय पोलिट्व्युरोमा पुग्नै नहुने हैनन् तर बीचमा छाडेर गैरकम्युनिष्ट पार्टीमा गएको र फर्किएपछि सर्लक्कै पुरानो हैसियत दिन नमिल्ने माधव पक्षको अडान छ । 

विजय सुब्बाहरुले पार्टी छाडिरहँदा तत्कालीन एमाले जनजातिमैत्री रहेन भन्ने हल्ला चिर्नका लागि भोजपुरका जिल्ला अध्यक्ष शेरधन राई, दोलखाका पार्वत गुरुङहरुलाई केन्द्रीय सदस्यमा ल्याइवरी कोही मुख्यमन्त्रीसम्म बनिसके । तर, आठौँ महाधिवेशनदेखिका केन्द्रीय सदस्य राजेन्द्र राईले ‘पानी केन्द्रीय’ को रुपमा फेरि पनि थन्किनुपर्ने स्थिति आएको छ । 

डोटीकी गौरी ओलीले ०७० को चुनावमा प्रेम आलेलाई हराउन कांग्रेसका लागि भोटै मागिन् । यसको अडियो रेकर्ड पेश गर्दा पनि समानुपातिक सांसद बनिन् । अहिले उनलाई ‘जसरी पनि’ पोलिट्व्युरो सदस्य नबनाई नहुने चट्टाने अडान छ । उनीसँगै वैकल्पिक केन्द्रीय सदस्य बनेका गरिमा शाह, ममता गिरीको त चान्सै छैन । शेरबहादुर तामाङ, जीवनराम श्रेष्ठ, खगराज अधिकारी, नरेश खरेल, धर्मनाथ साह पोलिट्व्युरोमा जाने निश्चित भएको छ भने पाँचौं महाधिवेशनदेखिका केन्द्रीय सदस्य गुरु बराल, देवराज घिमिरे, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठहरुको पनि निश्चित छ । नेकपाले अब पोलिट्व्युरो सदस्यलाई जिल्ला इञ्चार्ज र केन्द्रीय सदस्यहरुलाई सहइञ्चार्ज बनाउने गरी सांगठानिक एकताको खाका तयार पारेको छ । त्यस्तै, विभागीय प्रमुख पोलिट्व्युरो र उपप्रमुख केन्द्रीय सदस्यहरुबाट बनाइने भएको छ । यसअनुसार, वरिष्ठ नेता माधव नेपालले विदेश, स्कुल विभागमा इच्छा देखाएका ईश्वर पोखरेललाई संगठन, प्रचारमा नारायणकाजी श्रेष्ठ, आर्थिक विष्णु पौडेलले पाउने सम्भावना छन् । वामदेव गौतम र रामबहादुर थापा (बादल) मध्ये एकले स्कुल विभाग सम्हाल्ने छन् ।  

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय इञ्चार्जसम्म केन्द्रीय सदस्यबाट तोकिने भएको छ । तर, प्रदेशसभातर्फ भने प्रदेश कमिटी सदस्यमध्येबाट र सहइञ्चार्ज जिल्ला कमिटी सदस्यमध्येबाट तोकिने तयारी छ । नेकपाले प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा केन्द्रीय टोली परिचालन गरेर क्षेत्रीय कमिटी गठन गर्ने, क्षेत्रहरुको बस्तुस्थिति, जनताको अभिमतको अध्ययन र तत्काल गर्नुपर्ने कामबारे बुझ्नका लागि क्षेत्रपिच्छे फरक–फरक टोली निर्माण गर्ने तयारी पनि थालेको बताइन्छ ।

जनसंगठनतर्फ मजदुर, किसान, महिला, युवा र विद्यार्थी टुंगिसकेको र घोषणाको तयारी भइरहेको बताइन्छ । त्यसअनुसार, मजदुर, युवा र महिला पूर्वमाओवादीकेन्द्रलाई परेको छ । किसान, विद्यार्थी, पेशागत महासंघ, भारत प्रवास, जातीय मुक्ति समाज (दलित) पूर्वएमालेको भागमा पारेको छ । शिक्षक, पत्रकारसहितका जनसंगठन पूर्वमाओवादीले नेतृत्व गर्ने भएको छ । 

टिप्पणीहरू