​सिध्याए चुनाव, शुरु भयो तनाव

जनताले हालेको मतका आधारमा ०७४ सालभरि तीनै तहका जनप्रतिनिधि चुनिए । तर, चुनावको नाममा कति ठूलो घोटाला भयो, बल्ल खुल्दैछ ।

यदि तपाईंसँग त्यतिबेलाको मतदाता परिचयपत्र छ भने एकपल्ट हेर्न सक्नुहुन्छ, कत्तिको गुणस्तरीय छ ! पत्याउनुहुन्छ– त्यसलाई १४ रुपैयाँ पर्छ भन्दा ? तर, त्यसबेला पत्याइयो, अहिले उजुरी परेपछि बल्ल छानवीन शुरु भएको छ । 

मतदाता नामावली ऐन २०७३ को दफा २७ अनुसार उपलब्ध गराउनुपर्ने परिचयपत्र छपाईका निम्ति निर्वाचन आयोगले दुईखाले दरमा काम लगाएर घोटाला गरेको रहेछ । पहिलो चरणमा प्रदेश ३, ५ र ७ तथा दोस्रो चरणमा प्रदेश १ र ४ मा परिचय पत्र वितरण गरिँदा प्रतिपरिचय पत्र ९ रुपैयाँ ९९ पैसा परेको थियो । अन्तिममा प्रदेश २ को निर्वाचनका क्रममा त्यही परिचयपत्र १४ रुपैयाँमा छाप्न सकिने प्रस्तावअनुसार १३ रुपैयाँ ५० पैसा भुक्तानी दिइएको छ । प्रदेश २ का आठ जिल्लामा स्थानीय तहको संख्या तलमाथि हुँदा पुरानो परिचयपत्र काम नलाग्ने भन्दै ०७४ भदौ १२ मा आयोगले ९ रुपैयाँ ९९ पैसामै मतदाता परिचयपत्र छाप्न कार्यादेश दियो ।

तर, छाप्ने कम्पनीले कच्चा पदार्थको मूल्यबृद्धि, कार्डसंख्या घटेको, मजदुरको पारिश्रमिक बढेकोजस्ता कारण देखाउँदै १४ रुपैयाँमा छाप्ने बतायो । र, आयोगले त्यसमा ५० पैसा घटाएर छपाई ग¥यो । प्रदेश २ मा त जसै निर्वाचन सकियो । तर, मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा फेरि आयोगले सस्तो नखोजी त्यही १३ रुपैयाँ ५० पैसाकै कार्डतिर ध्यान लगायो । उसले ०७४ कात्तिक ५ को निर्णयानुसार सोही कम्पनीलाई अर्डर दिएर २१ लाख ७० हजार नौ सय ८५ थान परिचयपत्र छाप्यो । यसबारे छानवीन यही बैशाख २७ गतेदेखि शुरु भएको छ । 

उता, विदेशीहरु नेपालको एयरपोर्टमा पक्राउ पर्ने क्रम बढेको छ । वैशाख २३ गते मालिण्डो एयरको उडान ओडी १७४ मा मलेसियाको क्वालालाम्पुरबाट अवतरण भएका रुविल दास नक्कली डलरसहित पक्राउ परे । उनले भिसा शुल्कबापत बैंक काउण्टरमा रकम तिर्ने क्रममा नक्कली डलर दिएका थिए । 

वैशाख २१ गते इस्तानबुलबाट अवतरण भएको टर्किस एयर टिके ७२६ को उडानबाट काठमाडौं ओर्लिएका यात्रुको लगेज छामछुम गर्दागर्दै दुईजना लोडर समातिए । लगेज अनलोड गर्ने क्रममा एउटा लगेजको चेन खोल्दाखोल्दै सविन श्रेष्ठ र विनय खड्का पक्राउ परेका हुन् । त्यसको भोलिपल्ट, अर्थात् वैशाख २२ गते चाइना साउदर्न सिजेड ६०६७ को उडानबाट अवतरित एक व्यक्ति सुनसहित समातिए । अमेरिकी पासपोर्ट बोकेका ज्ञानेन्द्र भण्डारी भन्सार क्षेत्रमा रहेको वाकथ्रु मेसिनमा चेकजाँच हुँदा तीन सय १० ग्राम सुन, १० वटा औँठी, लकेटसहित सुनका दुई सिक्री र ब्रासलेटसहित समातिएका छन् ।

त्यस्तै, एकजना भरियालाई पनि प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको छ । वैशाख २४ गते मोरङ घर भएका २३ वर्षीय बालकुमार मगरलाई अन्तर्राष्ट्रिय टर्मिनलको पार्किङस्थलबाट पक्राउ गरिएको हो । विभिन्न उडानबाट आएका यात्रुसँग सुन संकलन गर्दै रहेको अवस्थामा एक सय ९९ ग्राम तौलको चारवटा सुनको बालासहित उनी पक्राउ परेका हुन् ।  

टिप्पणीहरू