​अर्को हप्ता भारतमा को प्रधानमन्त्री आउलान् ?

भारतमा जारी लोकसभा चुनाव आउँदो आइतबार सम्पन्न हुँदैछ । ५ सय ४३ सिटका लागि भएको निर्वाचनमा अब ५९ सिटको मात्र प्रतिस्पर्धा बाँकी छ । सातांै चरणको मतदान आउँदो आइतबार सम्पन्न भएपछि भारतले नयाँ प्रधानमन्त्री पाउनेछ । मतगणना मे २३ देखि शुरु हुने र २४ घण्टाभित्र परिणाम सार्वजनिक हुने तयारी छ । 

सातौं चरणको निर्वाचन अलि बढी रोचक यसकारण लाग्छ कि त्यसदिन प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र वाराणसीमा मतदान हुँदैछ । वाराणसी हिन्दु र जैन दुवै धर्मको पवित्र स्थल हो । गंगा नदीको बगरमा बुद्ध धर्म फैलिएको ठाउँ हो त्यो । यद्यपि मोदीका प्रतिस्पर्धी सबै बामपुड्के देखिएका छन् । शुरुमा मोदीविरुद्ध भर्खरै भारतीय राष्ट्रिय कंग्रेसको महासचिव बनेकी प्रियंका गान्धी उठ्ने अड्कल गरिएता पनि अन्तिममा उठिनन् । मोदीले पछिल्लो निर्वाचन यसै क्षेत्रबाट जितेका थिए । यसपालि कांग्रेसले अजय राय र समाजवादी पार्टीले शालिनी यादवलाई उठाएको छ ।

छैठौं चरणको निर्वाचनसम्म सबै विपक्षी पार्टीको एउटै उद्देश्य थियो, जसरी पनि नरेन्द्र मोदीलाई अर्को सरकार बनाउनबाट रोक्ने तर उनीहरु यसका लागि एकगठ भने हुन सकेनन् । राजधानी दिल्लीमा ५९.१ प्रतिशत मात्र मत खस्यो । त्यहाँ भाजपा, कंग्रेस र आम आदमी पार्टीबीच त्रिकोणात्मक प्रतिस्पर्धा छ । आइतबार छैटौं चरणको निर्वाचन ७ प्रान्तको ५९ सिटका लागि भएको हो, जसमा दिल्ली पनि पर्दछ ।  अहिलेसम्म ४ सय ८३ निर्वाचन क्षेत्रमा मतदान सकिएको छ । अहिलेसम्मको माहोल हेर्दा भाजपा नै अग्रपंक्तिमा रहेको प्रायः सबैको ठहर छ । तर, उसलाई पनि सन् २०१४ को निर्वाचनमा जितेको २ सय ८२ सिट ल्याउन गाह्रो भएको प्रष्ट देखिन्छ । भारतीय निर्वाचन यस्तै हुन्छ भन्न गाह्रो छ ।  समय–समयमा अचम्मको परिणाम आएका उदाहरण छन् । पछिल्लोचोटि भाजपाले ३१ प्रतिशत मत पाएको थियो तर गत साल पाँचवटा राज्यमा यसको स्थिति खस्केको छर्लंग भइसकेको छ । 

यसपालि भाजपा पार्टीभन्दा नरेन्द्र मोदी हावी छन् । मानौं लोकसभाको चुनाव हुँदैछैन बरु मोदी अमेरिकामा जस्तो राष्ट्रपतिको निर्वाचन लड्दै छन् । यो निर्वाचन उनको निम्ति जनमत संग्रहजत्तिकै महत्वपूर्ण छ । पाँच वर्षको कार्यकालमा गरिबलाई सहयोग, निःशुल्क स्वास्थ्य सेवा, घरघरमा शौचालय, गृहिणीलाई चुलो बाल्ने ग्यास सिलिण्डरको मूल्य घटाएको दाबी भाजपाको छ । अर्काेतिर विपक्षी दल कंग्रेसले उसमाथि हिन्दूवादलाई जबर्जस्ती उछालेको, पाकिस्तानसितको आणविक प्रतिस्पर्धामा कमजोर देखिएको जस्ता आरोप लगाउँदै आएको छ । धन्न यसपालि उनको साख हिन्दु कट्टरपन्थीहरुले बचाइदिएका छन् । अयोध्या उनको जन्मभूमि हो, जहाँ भएको बाबरी मस्जिदलाई यिनीहरुले पूर्णरुपमा भत्काइदिएका हुन्, राम मन्दिर बनाउने नाममा । त्यसबेला त्यहाँ ठूलो जातीय र धार्मिक दंगा फैलिएको थियो । 

तर प्रमुख प्रतिपक्षी दलहरुले भाजपा मुख्य समस्या समाधान गर्नबाट चुकेको आरोप लगाउन बन्द गरेका छैनन् । भारतका ७० प्रतिशत जनता गाउँ वा स–साना नगरमा बस्छन् र यिनीहरुको समस्या समाधान गर्नतिर भाजपा पूर्णतः असफल रहेको दाबी छ । उनीहरुले नरेन्द्र मोदीकै समयमा बेरोजगारको संख्या बढेको, किसानहरु मर्कामा परेको, फ्रान्सबाट खरिद गरिएको लडाकु विमानमा व्यापक भ्रष्टाचार भएको आरोप लगाइरहेका छन् । कंग्रेसले उक्त विमान खरिद काण्डमा सिधै मोदीमाथि आक्रमण गरेको छ । ३६ वटा विमान चर्को मूल्यमा खरिद गरी एउटा निजी उद्यमीलाई सहयोग गरेको आरोप छ । तेलको मूल्य पनि सुपथ र स्थिर पार्न नसकेको आरोप छ । सरकारद्वारा प्रस्तुत आर्थिक डाटामाथि पनि शंका उब्जेको छ । 

निर्वाचन सकिँदैजाँदा राजनीतिक दलहरु भाजपा एक्लैले बहुमत ल्याउने स्थिति नदेखिएपछि ऊसित तालमेल गरेर सरकारमा छिर्ने सपना देख्न थालेका छन् र सोहीअनुरुप सम्झौताको योजना बनाउँदै छन् । क्षेत्रीय राजनीतिक हस्ती चन्द्रबाबु नायडु र ममता बनर्जीहरु विपक्षीहरुसित सरसल्लाहमा लागिसकेका छन् । भाजपाले पनि बहुमत हासिल गर्न नसकेको अवस्थामा कोसित मिलेर सरकार बनाउने भनी भित्री योजना बुन्न थालिसकेको अवस्था छ । उता, कंग्रेस भने निर्वाचनले नसोचेको परिणाम दिने आशामा बसेको छ । राजनीतिक विश्लेषकहरु यसपालि राज्य र केन्द्र सरकार बनाउने कुरामा क्षेत्रीय तथा जातीय दलको भूमिका महत्वपूर्ण हुने अड्कल गर्दैछन् । विगत पाँच वर्ष त के १५ वर्षभित्रकै राजनीतिमा यसपालि क्षेत्रीय दलहरुको भूमिका बढ्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू