लेखा समिति सभापतिकी श्रीमती पनि ‘क्लिनचिट’ लिने तयारीमा

लेखा समिति सभापतिकी श्रीमती पनि ‘क्लिनचिट’ लिने तयारीमा
सुन्नुहोस्

सहकारी संस्थाका सञ्चालक कालोसूचीमा परेको खबर सार्वजनिक भएपछि संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाले अदालत गुहारेकी छन् । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको सञ्चालक समिति सदस्य छँदा लिएको बैंकको ऋण नतिरेको भन्दै कालोसूचीमा राखेपछि अञ्जलाले त्यसविरुद्ध उच्च अदालत विराटनगरमा भदौ ३१ गते रिट दर्ता गराएकी हुन् ।

उमागौरी कृषि सहकारी, आरएडिसी लघुवित्त रुपन्देही र कर्जा सूचना केन्द्र काठमाडौँलाई विपक्षी बनाइएको उक्त रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ । संविधानसभा सदस्य तथा मोरङ–२ का एमाले सांसद पोखेरेलपत्नी अञ्जला २०७४ देखि ०७८ सम्म उमागौरी सहकारीको सञ्चालक सदस्य थिइन् । 

त्यसबेला उनीसमेत जमानी बसेर प्रवाह भएको ऋण चुक्ता नभएको भन्दै आरएसडिसी लघुवित्तले २०७९ कात्तिकमा कालोसूचीमा राखेको थियो । तर, कालोसूचीमा परेको दुई वर्षसम्म चुपचाप बसेकी उनी एकाएक किन अदालत गुहार्न पुगिन् ? भन्ने प्रश्न खडा भएको छ ।

विराटनगरस्थित महेन्द्र रात्रि माध्यमिक विद्यालयकी शिक्षिकासमेत रहेकी अन्जलाले आफू सहकारीमा नाम मात्रको सदस्य रहेको उल्लेख गर्दै सबै काम अध्यक्षले नै गरेकाले निर्दोष रहेको दाबी गरेकी छन् । तर, उनका श्रीमान ऋषिकेश अघोषित हर्ताकर्ता रहेको उमागौरीमा क्षेत्राधिकार बाहिरबाट पनि सञ्चालक समिति सदस्य बनाइएको सहकारी पीडितहरुको भनाई छ । साबिकको एउटा मात्रै गाविस कार्यक्षेत्र तोकिएकोमा पछि पाँचवटा हेर्नेगरि विस्तार गरियो । २०६८ सालमा स्थापित यो सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको आरोपपछि संकटग्रस्त घोषणा गरिसकिएको छ ।   

यो पृष्ठभूमिमा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री नेतृत्वको सहकारी छानबिन विशेष संसदीय समितिको प्रतिवेदन अक्षरशः कार्यान्वयन हुँदा अन्जाल पनि सहकारी ठगीमा तानिने अवस्था रहन्छ । किनभने समितिको प्रतिवेदनमा संचालक सदस्यको जायजेथाबाट संकटग्रस्त सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने उल्लेख छ । त्यसो हुँदा अञ्जलामात्र होइन उनका पति ऋषिकेश पनि यो प्रकरणमा मुछिने छन् । यहि कुरा बुझेकी अन्जालाले पतिको निर्देशनबमोजिम कालोसूचीबाट नाम हटाएर ‘क्लिनचिट’ लिन अदालत गुहारेको बताइन्छ ।  

सहकारीसँग जोडिएर सञ्चार माध्यमहरुमा छयाप्छयाप्ती समाचार आएपछि उनले आफू मात्र एक कार्यकाल सञ्चालक समिति सदस्य रहेको प्रतिक्रिया दिने गरेकी छन् । २०७५ मा नयाँ सहकारी ऐन आएपछि राजीनामा दिइसकेकोले आफ्नो कुनै संलग्नतना नरहेको उनको दाबी रहँदै आएको छ । सहकारीका अध्यक्ष शम्भु रौनियारले नै एकलौटी रुपमा कारोबार गर्दै आएको दाबी गर्दै बचत हिनामिनामा पनि उनकै भूमिका रहने आरोप लगाइरहेकी छन् । 

पछिल्लो वासलातअनुसार कूल पुँजी १८ करोड ४९ लाख रुपैयाँ रहेको उमागौरीले सहकारीका सदस्यको मात्रै नभएर ऋणी शेयर सदस्यहरुको समेत घरजग्गा घितो राखिदिएको छ । महिला उद्यमीलाई सामुहिक जमानीमा १० लाख ऋण दिलाउने भन्दै बैंकबाट निकालेको रकमसमेत बैंकमा दाखिला नगरिदिएकोले प्रलोभनमा परेर शेयर सदस्य बनेकाहरुको अहिले रुवाबासी चलिरहेको छ ।

कुनैबेला सहकारीका अध्यक्ष रौनियार र सांसद पोखरेलको सम्बन्ध एकदमै प्रगाढ थियो । त्यही सम्बन्धका कारण सहकारीको भित्रि भूमिकामा रहेका उनले २०७४ तिर महिला उद्यमी कार्यक्रमको उद्घाटन गराउन समन्वय गरेको अहिले पनि चर्चा हुने गर्छ । यद्यपि लेनदेनमा कुरा बिग्रिएपछि अहिले भने पोखरेल र रौनियारको सम्बन्ध चिसिएको बताइन्छ ।  

उक्त सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण र फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । ठगी भएको भन्दै बचतकर्ता र शेयर सदस्यहरुले एक बर्षअघि नै प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी गरेका थिए । तर, अझैसम्म कुनै कार्वाही भने भएको छैन । एमाले कार्यकर्ता भन्ने गरिएका रजिष्ट्रार हरिबहादुर खत्रीले आँखा चिम्लिदिएका कारण पोखरेल जोगिएको बताउनेहरु विराटनगरमा थुप्रै छन् । 

यता, अध्यक्ष रौनियार भने अर्धभूमिगत अवस्थामा छन् । सचिव आलम अन्सारी भागेर भारत पुगेको बताइन्छ । कर्सिया बजारमा रहेको उमागौरी सहकारीको कार्यालयमा दुई वर्षदेखि भोटेताल्चा झुण्डिएको छ ।

टिप्पणीहरू