आउन त आउने, आएर के पाउने ?
‘भन्दा पार्टी ठूलो बनाउने भन्ने, तर चित्तचाहिँ सानो राख्ने ? हौ भने ए मर्द, आऊ गर गडबडी भनेर ठाडै लल्कार्ने कोमल वली अटाउने पार्टीमा क्रान्तिकारीलाई ठाउँ नै नहुने ?’
यसो भनेर केही दिनदेखि प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी केन्द्रका नेताहरु उफ्रिपाफ्री गर्दैैछन् । पहिला डा.बाबुरामको भाउँतोमा लागेर अहिले बिचल्लीमा परेका पुराना सहयोद्धालाई धेरै मेहनतका साथ फकाइवरी नेकपामा प्रवेशनिम्ति तयार पारिएको छ । प्रवेशमात्रै गर्न त समस्या भएन, तर ‘पार्टीमा ल्याएपछि दिने काम के हो ? पद के हो ? भूमिका के हुने ?’ यस्ता प्रश्न राखिएपछि प्रचण्ड पनि अलमलमा परेका छन् । एक वर्षअघि एकताको क्रममा केन्द्रीय कमिटीको संख्या ४४१ बाट नबढाउने भनिएअनुसार अहिले एक जना पनि केन्द्रीय सदस्य खालि छैन । जनयुद्धकालदेखिका कमरेडलाई प्रदेशमा झारेर कोमल वलीहरुसँगै राख्न पनि भएन । त्यसैले ४४१ मै रिजिड भएर जाने हो भने पार्टी ठूलो हुँदैन, झन्झन् खुम्चिँदै जान्छ भनी प्रचण्डकहाँ उनकै सहयोद्धाले कुरा पु¥याएका छन् ।
डा.बाबुरामले उपेन्द्रसँग एकता गर्दा पदाधिकारीमा ९ जना पाए । पत्नी हिसिलालाई उपाध्यक्ष बनाए । गंगा श्रेष्ठलाई महासचिवमा राखे । तर, युद्धकालमै दुईचोटि अखिल क्रान्तिकारीको अध्यक्ष भएका देवेन्द्र पराजुली र उनकी पत्नी तथा ०६४ की सांसद कल्पना धमलालाई ‘बूढाबूढीमध्ये एकजनाका लागि रोजेर आउनुस्’ भनियो । जबकि कल्पना देवेन्द्रसँग जोडिनुभन्दा धेरै पहिलाबाटै पार्टी र आन्दोलनमा थिइन् र लमजुङका देवेन्द्रकी पत्नीको परिचय पाए पनि कार्यक्षेत्र धादिङलाई बनाउँदै छिन् । प्रचण्डले धेरै गम्भीर भएर कुरा सुने । तर, नेकपामा आउँदा कहाँ व्यवस्थापन गर्ने भनी खासै जवाफ दिन सकेनन् । देवेन्द्र र कल्पनामात्र हैन, जाजरकोटबाट ०६४ मै चुनाव जितेका उतिबेलैका केन्द्रीय सदस्य भक्तबहादुर शाह पनि बाबुरामलाई छाडेर मूलधारमा फर्किंदैछन् । युद्धकालमा मकवानपुर इञ्चार्जको जिम्मेवारी सम्हालेका र अहिले पनि त्यतै कार्यक्षेत्र बनाएका सोनामसिंह स्याङ्तान नयाँ शक्तिमा गएका थिए । तर, बाबुरामले बिचल्ली पारेपछि उनले पनि नेकपामा फर्किन चाहेका छन् । सिन्धुली घर भएका उनी पार्टीले पठाएको ठाउँमा गएर काम गर्छु भन्दैछन् । तर, कहाँ पठाउने, के काम दिने ? प्रचण्डको जवाफ नपाउँदा रनभूलमा छन् । अर्का हुन्, काभ्रेबाट ०६४ मै सभासद् जितेका अक्कलबहादुर थिङ (महेश) ।
उता, दुई अध्यक्ष भएर पनि नेकपा नेतृत्वमा भद्रगोल छ । सरकार र पार्टी चलाउने क्रममा दुई अध्यक्ष नमिल्दा केही चल्दैन । एकातिर सरकारविरुद्ध अविश्वास प्रस्ताव कसैले ल्याउने कुरा भएन भने अर्कातिर पार्टीमा केपीबाहेक अरुले प्रस्ताव ल्याउने सम्भावना पनि छैन । त्यसमाथि केपी निर्वाचित अध्यक्ष हुन् । चित्त बुझे पनि, नबुझे पनि प्रचण्डलाई उनीसँग नमिली सुख छैन । अब केही गैरभौगोलिक जिल्ला कमिटीसँगै केन्द्रीय निकाय र विभाग गठन भएपछि एकीकरणको काम सकिन्छ । त्यसपछि विचार र सरकारमा साझेदारीको प्रश्न आउँछ । सरकार, पार्टीमा सबैको भूमिका हुनुपर्ने कुरा यसपछि जोडसँग उठ्ने नेकपा नेताहरुको विश्वास छ ।
पूर्वमाओवादीभित्र आ–आफ्ना असन्तुष्टि भए पनि प्रचण्डलाई मान्न प्रायः एक ढिक्का छन् । त्यो सुविधा केपी र माधवमा छैन । माधवले विधिको कुरा गर्ने, जिल्ला नेतृत्वमा कुरा मिलेपछि सकिने समस्या देखिँदै आएको छ । तर, नेकपाभित्रको अबका शक्तिकेन्द्र केपी, प्रचण्ड र माधव नै हुन् । जो–जो दुई मिले पनि तेस्रो शक्ति कमजोर हुन्छ । चित्त नबुझे पनि प्रचण्ड माधवलाई लिएर जानुपर्छ भन्ने, तर केपीलाई एक्लो पारेर जाने सम्भावना अहिले नै नदेखिने ।
पार्टी एकीकरणपूर्व ठेकेदार शारदा अधिकारीको घरमा भएको छलफलका क्रममा माधवले जनताको बहुदलीय जनवादको कुरा कडिकडाउसँग राखेका थिए । अहिले फेरि ईश्वर पोखरेल जवजबारे देशभरका कार्यकर्तामाझ पुग्ने भनिरहेका छन् । यसरी विचारको यो लडाइँले नेकपाभित्र प्रवेश पाइसकेको छ ।
अर्कातिर, गत बिहीबारसम्म मन्त्रिपरिषद् फेर्ने वा केही मान्छे हटाएर केहीलाई पठाउने कुरा चल्दा बजेटअघि सरकार चलाउनेले मूल विषय नै गिजोलिने र अर्को लफडा शुरु हुने कारण तत्काललाई केही नगर्ने दुई अध्यक्षबीच सहमति छ । खालि रहेको पर्यटनमा कृष्णगोपाल श्रेष्ठलाई पठाउने वा कुनै एक मन्त्रीलाई फिर्ता गराएर दुबैलाई मन्त्री बनाउने तयारी प्रम ओलीको थियो । खालिमा पठाउने कुरामा प्रचण्डको कुनै आनाकानी रहेन । तर, एउटालाई अहिल्यै फिर्ता बोलाउने कुराले बजेटको मुखमा समस्या आउने कारण ‘बजेटपछि गरौँला’ भनिएको छ ।
अष्टलाई कष्ट
जिल्ला कमिटी एकतापूर्व कसैले केही नसोधेका, तर एकतापछि सबै आफूमाथि खनिन थालेको भन्दै प्रदेश ३ की पार्टी इञ्चार्ज अष्टलक्ष्मी शाक्य कष्टबोध गरिरहेकी छन् । काभ्रेमा रुकु चौलागाईं अध्यक्ष तोकिएकोमा कसैको कुनै गुनासो छैन, तर एउटा पूर्वअध्यक्ष अध्यक्ष र अर्को पूर्वअध्यक्ष स्वतः सचिव हुने एकमुष्ट मापदण्डका आधारमा मण्डन देउपुरका मेयर टोकबहादुर वाइवा सचिव तोकिए । आइतबार काभ्रेमा जिल्ला कमिटीलाई पूर्णता दिने गरी प्रदेश कमिटीले नामावली घोषणा गर्दै थियो । तर, काठमाडौंको तीनकुनेमा एउटा बैठक बसेर पूर्वएमालेबाट कसैको पनि नाम घोषणा नगर्न भनी अष्टलक्ष्मीलाई चेतावनीयुक्त फोन गयो । कारण थियो, टोकबहादुरलाई नमान्ने पूर्वएमालेको अडान । सचिव फेर्नुपर्ने, अनिमात्र एकता अगाडि बढाउनुपर्ने माग ।
चितवनमा पार्टी एकताले पूर्णता नपाएपछि प्रचण्ड र सुरेन्द्र पाण्डेकै उपस्थितिमा घोषणा गर्ने तयारी भइरहेको छ । चितवनको समस्या पनि काभ्रेको जस्तै हो । पूर्वएमालेका अध्यक्ष कृष्णभक्त पोखरेल एकतामा सचिव बने । सचिव खान नपरोस् भनेर अनेकन जुक्ति निकालिरहेका छन् । त्यसपछि सचिव खाने दौडमा पूर्वएमालेबाट १८ जनाभन्दा बढी निस्कँदा समस्या भएको हो । ललितपुरमा पनि पूर्वएमालेकै गुट र उपगुटहरु एकता सम्पन्न गर्न बाधक बनेका छन् । यसरी एकताअघि कसैले नसोध्ने, एकतापछि सबैले सोधेर टाउकै खाउँलाजस्तो गर्नाले हो, अष्टलाई कष्ट भएको । त्यसमाथि उनको रोजाई र सिफारिसमा एकजना पनि अध्यक्ष र सचिव भएनन् । तिनलाई मिलाउने जिम्माचाहिँ उनैले लिनुपरेको छ ।
टिप्पणीहरू