​सोत्तर पारियो संविधान

देशको मूल कानुन बच्चाहरूले खेल्ने भाँँडाकुटी होइन । न यो कुनै बच्चाले परीक्षा केन्द्रमा गएर कनिकुथी लेखेको उत्तरपुस्तिका नै हो । तर, संविधानभित्र त्रुटि नै त्रुटिको चाङ भेटिनुजस्तो लज्जाजनक अरू के होला ?

०७२ सालमा जारी संविधानले हाम्रो भाषाको हुर्मत लिएकोे छ । झण्डै ८ वर्ष लगाएर ३० अर्ब लागतमा बनेको संविधानमा प्रामाणिक भाषा प्रयोग नगरिँदा १८१ पृष्ठको दस्ताबेज दिङमिङलाग्दो हुन पुगेको छ । प्रत्येकजसो धारा र उपधारा अशुद्ध र अस्पष्ट छ । एउटै पानामा ५ देखि १० वटासम्म अशुद्धि र अस्पष्टता भेटिँँदा भाषा बुझ्ने जो–कोहीको दिमाग रन्थनिन्छ । एउटै शब्दलाई कतै जोडिएको छ त कतै तोडिएको छ, कतै ह्रस्व त कतै दीर्घ बनाइदिएर भाषाको बलात्कारै गरिएको छ । संविधानसभा लेख्दा कतै संविधान र सभा जोडिएको छ, कतै विग्रह गरिएको छ । कतै उपप्रधानमन्त्री लेखिएको छ अनि कतै ‘उप प्रधानमन्त्री‘ बनाइएको छ ।

कतै सभामुख लेखिएको छ अनि कतै सभा र मुखलाई अलग गरिएकोे छ । एउटै शब्दलाई कतै ह्रस्व अनि दीर्घ बनाएर भाषा बुझ्नेहरूलाई हँसाइएकोे छ । विपरीत शव्द कतै विपरित लेखिएको छ कतै ‘विपरीत’ घुसाइएको छ । काठमाडौं÷काठमाण्डौ, बीच÷ वीच, किताब÷ कीताब, बसोबास, बसोवास । यस्ता गल्तीका चाङ खोज्दै जाने हो भने जनआस्थाको सिँगै पत्रिका भरिन्छ । जस्तो संविधानको पृष्ठ ४९ मा १०१ (३) अन्तर्गत ‘छानबीन’, अनि १०१ (५) मा चाहिँ ‘छानबिन’ । धारा ९३ मा ‘आह्वान’, फेरि धारा ९५ मा ‘आह्वान’, धारा ११ (२) मा ‘बसोवास’ अनि यही धाराकै उपधारा ५ र १० मा ‘बसोबास’ लेखिएको छ । 

संविधानका पाना पाना पल्टाइरहँदा त्यहाँ यति धेरै त्रुटि र भाषाको भाँडभैलो छ कि कुरै नगरौं । प्रचलनमा कानुन ह्रस्व लेखिन्छ तर संविधानमा ‘कानून’ प्रयोग भएको छ । शहीद शव्दलाई सुधारेर सहिद प्रयोग गर्न थालेको वर्षांै भइसक्यो । तर, हाम्रो मूल कानुनमा शहीद शब्द नै घुसाइएको छ । यस्ता बान्की लेखिसाध्य छैनन् । न आधिकारिक वर्णबिन्यासको प्रयोग भएको छ  न त वर्णविन्यासमा एकरूपता छ । नेपाल प्रज्ञा प्रतिष्ठानले तयार गरेको शव्दकोष,विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा प्रयोग हुने भाषालाई आधिकारिक वर्णविन्यास मानिँदै आइएको छ । तर, देशकै मूल कानुनमा यस्तो प्रचलित वर्ण विन्यासको प्रयोग नगरी व्यक्तिको लहड र सनकको भाषालाई किन र कसरी घुसाइएको होला ? जनआस्थाले ‘चुरो’ कुरो फेला पारेको छ । 

तत्कालीन संविधान मस्यौदा समितिका सभापति थिए कृष्णप्रसाद सिटौला । उनैले मस्यौदाको भाषा हेर्नका लागि संविधानसभाकै एक जना सहसचिवलाई जिम्मा लगाए । उनले मौकामा चौका हानिहाले । सम्झिए आफ्ना ज्वाइँँलाई । १९९१ मा बनेको नेपाली कसरी शुद्ध लेख्ने (नेकसु) यो बीचमा १० औं पटक संशोधन भइसकेको छ । त्यही वर्णविन्यासलाई आधार मानेर उनले शुद्धाशुद्धी हेरे । तर, सिटौलाले व्यक्तिले हेरेको शुद्धाशुद्धीमा चित्त बुझाएनन् । नेपाल प्रज्ञा प्रतिष्ठानलाई पत्र लेखेर संविधानको मस्यौदाको शुद्धाशुद्धि हेरिदिन आग्रह गरे । आग्रहबमोजिम कुलपति गंगाप्रसाद उप्रेतीले समिति बनाए । जसमा भाषाविद् प्रा.डा. हेमनाथ पौडेल पनि थिए ।

उनीहरूले दुई दिनमै मस्यौदालाई प्रचलित भाषाअनुसार सच्याएर समितिमै फर्काइदिए । कृष्णप्रसाद सिटौलाले उक्त मस्यौदा सच्याउन कर्मचारीलाई दिए । कर्मचारीले पुरानै वर्णविन्यास लादेर प्रेसमा पठाइदिए । फलतः नेपालकै संविधानले भाषाको हुर्मत लियो । यही संविधानको पुस्तक कानुन किताब व्यवस्था समितिले २९ औं संस्करण छापिसकेको छ । तर, संविधान जारी भएको ४ बर्ष व्यतित भइसक्दासमेत भाषामा भएको यो भरमार गल्ती सच्याउन न कसैले चासो दिएको छ न त कसैले जरुरी नै ठानेको छ । यदि, कुनै व्यक्तिको लहड र सनककै भरमा भाषा चलाइने हो भने किन चाहियो प्रज्ञा प्रतिष्ठान र भाषा आयोग अनि किन चाहियो विश्वविद्यालय ? 

– हरि गजुरेल

टिप्पणीहरू