​सञ्चारलाई सेक्दा यस्तो हुने रहेछ संसार

एउटा अतिलाई नियन्त्रण गर्ने नाममा लहडी प्रावधान थोपरिँदा अर्को अति जन्मिने खतराको प्रसंग हो, मिडिया काउन्सिल विधेयकको । अहिले देशभरका मिडियाकर्मी र सरकारबीच यही विषयले द्वन्द्व चर्काएको छ । यस्तोमा सरकारले मिडिया नियन्त्रणका इतिहास, परिणाम र विभिन्न देशका अनुभव पनि बुझिदिए फाइदै हुनेछ ।

उदाहरण छ, श्रीलंकाको । तमिल र लिट्टेसँग द्वन्द्व चर्किंदा सरकारले सोसम्बन्धी सामग्री सम्प्रेषण गर्ने मिडियामाथि नियन्त्रण जमायो । त्यस्तो गर्दा मिडियाले लेख्नै त छाडेन, तर शैली फे¥यो । ‘आज बट्टिकलोवा, ट्रिंकोमाली वा जाफ्नामा यति बम विष्फोट भए, त्यसमा सेनाको कुनै हात छैन । १६० जना मरे, त्यसमा सरकारको कुनै दोष छैन ।’ अर्थात्, यस्ता समाचार लेखेर जनतालाई व्यंग्यात्मक सूचना दिन थालियो । र, सँगै त्यहाँका मिडियाहरु अपराध र दुर्घटनाका समाचारमा केन्द्रित हुन थाले । सेना, सरकार र विद्रोहीसम्बन्धी समाचार लेख्न नपाएपछि हो, उनीहरु यस्तोमा लागेको । तर, त्यसले भयावह समाजिक समस्या सिर्जना ग¥यो, जताततै त्रास !

‘सरकार वा सेनाको हात छैन’ भन्ने, समाचारचाहिँ दिइरहने । ‘लंकादीप’ नामक चर्चित दैनिक अखबारले युद्धसम्बन्धी सरदर २६ वटा समाचार लेख्थ्यो । ऊ अपराधको समाचारमा ५१ प्रतिशतसम्म पुग्यो । ‘डेली मिरर’ ले २१ प्रतिशत युद्ध, ४१ प्रतिशत अपराधका समाचार दिन थाल्यो । सन् २०११ को शुरुवाती तीन महिनाको अवधिलाई हेर्ने हो भने ३२ प्रतिशत युद्धका समाचार छापिने अखबारमा ६२ प्रतिशतसम्म अपराधसम्बन्धी सामग्री आउन थाले । अपराध, दुर्घटनाका भयावह समाचारले जनजीवनलाई भयभीत बनाउने, बालमनोविज्ञान खल्बलिने जस्ता समस्या आयो । नेपालमा ‘मानवअधिकार ऐनको सबैतिरबाट प्रशंसा भएको छ’ भनेर व्यंग्यात्मक शैलीमा समाचार सम्प्रेषण हुन थाल्यो र मानवअधिकार ऐन पेरिस कन्भेन्सनविरुद्ध छैन भन्दै गइयो भने जनताले पेरिस कन्भेन्सनका पाना पल्टाउने भए । यसरी प्रविधिको विकासले प्रस्तुतिमा पनि फरकपन आउँछ र सरकारप्रति आक्रोश बढ्छ । 

माघ १९ पछिको हाम्रै अनुभव छ । जनआस्थामा रविन सायमीले कार्टुनमार्फत परेवा उडाउँदा सेनाको सेन्सर टोलीसँग गलफत्ति चल्यो । उनीहरुको प्रश्न थियो, ‘किन पिँजडाबाट परेवा उडाएको ?’ जनआस्थाले जवाफ दियो, ‘अब शान्ति सुरक्षा महाराजको नेतृत्वमा हुने भयो भन्दै परेवा रमाएर खुला आकाशमा उडेको हो नि †’ खासमा परेवालाई दूरसञ्चार अवरुद्ध र सञ्चार नियन्त्रणको त्यो समयमा परापूर्वकालीन सञ्चार शैलीका रुपमा सन्देशवाहक बनेर उडाउनुपर्ने दिन आयो भन्न खोजिएको थियो । 

त्यहीताका शाही संबोधनमा आधारित भएर समाचार लेख्ने नेपाली मिडियाले ‘अब नेपाल स्वर्गलोक हुने’ भनेर लेखेजस्तो हुनेछ, नियन्त्रणको स्थिति । किनकि स्वर्गमा त मरेपछि मात्र पुगिन्छ । 

टिप्पणीहरू