​पुरुष पशुमा परिणत भएपछि

न कहिल्यै नराम्रो वचन प्रयोग गरेका थिए न कहिल्यै एक थप्पड हानेकै थिए । दुःखजिलो गरेरै भए पनि राम्रैसँग पालन पोषण गरेकै हुन् । फूलको थुँगासरी हुर्काएकी छोरी १३ वर्ष नपुग्दै झुण्डिएर मरेको देख्दा कुन बाबु–आमाको मन थामिएला ! दोर्दी गाउँपालिका–२ का ३५ वर्षीय दीपक परियारको मन अहिले बेचैन छ । 

०७५ चैत २१ गते कक्षा ७ को परीक्षा सकेर फुपू मीरा परियारको भोटेओडारस्थित घरमा गएकी थिइन् । वैशाख ७ गते आफन्तको विवाहमा गएकी अनिशालाई फुपूले नाताले मावली हजुरबुबा पर्ने सोही गाउँपालिका–३ श्रीमञ्ज्याङ, दासडाँडाका ४३ वर्षीय राजकुमार परियार र निजकी ५० वर्षीया श्रीमती जालुको साथ लगाएर वैशाख ९ गते बिहान घर पठाइन् । बेलघारी बजारको एक पसलबाट राजकुमारले एक केजी कुखुराको मासु र एक बोतल लोकल रक्सी किने । अनिशाको घरमा पुग्दा बिहानको खाना खाने समय भएको थियो ।

खाना खाएपछि अनिशाकी आमा कमला किताब–कापी किन्न भनी भोटेओडारतिर लागिन् भने बाबु दीपक गिट्टी बोक्न गए । ३ बजेतिर कामबाट घर फर्कंदा सलको पासो लगाई आफ्नै घरको दलिनमा छोरी झुण्डिएको देखेपछि मुच्र्छित बनेका दीपकले छरछिमेकलाई बताए । बिहान ११ बजेसम्म सकुशल हाँसीखुसी बसेकी छोरी एक्कासि यस्तो अवस्थामा फेला परेपछि उनले तिनै आफन्तमाथि लख काटे । रुवाबासी चल्यो । लाश पोष्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पताल बेंसीशहर पठाइयो । बलात्कारपछि घाँटी थिचेर मारेको भन्ने खुल्यो । 

१२ गते घ्यू चामल लिएर राजकुमार मृतकको घरमा आए । दीपकले शंका गरेकै थिए । राजकुमार र उनकी श्रीमती जालु दुवै जना भेट्न भनेर अनिशाको घरमा पुगेपछि ईश्वरीप्रसाद लामिछाने, सत्यदेवी ढकाल, विष्णुहरि पौडेललगायतका स्थानीयले घरमाथिको चौतारोमा लगी गाउँको घटना गाउँमै मिलाउनुपर्छ, यो केसलाई प्रहरीकोमा पु¥याउनुहुन्न, यो घटना तिमीहरूले नै गराएको होला है भनेर निकै चलाखीपूर्वक सोधपुछ गरे । अनुहारमा अपराधको संकेत देखिइसकेको थियो र पनि आलटाल गर्दै आफूलाई थाहा नभएको बताइरहँदा विष्णुहरि पौडेलले तिमीहरूलाई केही हुँदैन भनेपछि राजकुमारले आफूले मारेको सकारे । 

यसरी मारेका रहेछन्
०७६ वैशाख ९ गते बिहान अनिशाकै घरमा खानपिन गरी १२ बजेतिर आफ्नो घर श्रीमञ्ज्याङतिर लागेका राजकुमारले मोबाइलको चार्जर छोडिएछ भन्दै श्रीमती जालुलाई बाटोमा कुराए । अनिशा घरभित्रै थिइन् । के गरेको यस्तो, म बाबाआमालाई भन्दिन्छु भनेपछि मन थाम्न नसकेका राजकुमारले अनिशालाई भुइँमा लडाई सुरुवाल र पेन्टी फुकालेर करणी गरे । निकै बेर हँुदा पनि लोग्ने नआएपछि मृतकको घरमा गएकी जालुले यस्तो देखेर गाली त गरिन्, अन्ततः लोग्नेले अब हाम्रो बेइज्जत हुन्छ, बरु मारिदिऊँ भन्ने प्रस्ताव राखेपछि हत्याको योजना बन्यो । 

निकैबेर छटपटाएकी अनिशालाई लोग्ने÷स्वास्नी मिलेर मारी नजिकैको खाटमा रहेको उनकै सलले घरको दलिनमा झुन्ड्याएको जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय दुवैमा सकारेपछि, जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८, करणीसम्वन्धी कसुरको दफा २१९ को उपदफा २ बाट परिभाषित जबर्जस्ती करणीको कसुर अपराध र सोही संहिताको परिच्छेद–१२ को ज्यानसम्बन्धी कसुरको दफा १७७ को उपदफा १ बमोजिम दुवैलाई जीवित रहँदासम्म कैद र मुलुकी अपराध संहिता २०७४ को दफा २२८ तथा दफा १८६ बमोजिम पीडितको हकवालालाई मनासिव क्षर्तिपूर्तिको मागदाबी गरेका छन् भने जिल्ला अदालत लमजुङले निजहरूलाई पुर्पक्षका लागि शुक्रबार जिल्ला कारागार चलान गरेको छ ।

– अञ्जनकुमार

टिप्पणीहरू