​मुड फेरियो, नयाँ गुट हेरियो

नेकपा एमाले काभ्रेमा अध्यक्षसहित ७ सदस्य नेता माधव नेपाल पक्षले जितेपछि उत्पन्न गुटगत कलह पार्टी एकीकरणको समयमा पनि देखिएको छ । माओवादी र एमाले स्थानीय तहको निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धामा थिए । 

स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दासमेत प्रमुख र उपप्रमुख अर्थात् अध्यक्ष र उपाध्यक्षमा दुवै समूहलाई दिइएको थियो । जिल्लाको सिफारिसभन्दा फरक टिकट प्राप्त भएपछि केही स्थानमा परिवर्तन भयो । केहीले टिकटकै कारण अन्तर्घात गरे र पार्टीले पराजय व्यहोर्न पुग्यो तैपनि एमाले एक्लैले बहुमत ठाउँमा विजय हात पा¥यो । जिल्ला कमिटीको बैठक त्यही गुटगत अस्तित्वका कारण नियमित बस्न सकेन । लगत्तै प्रदेश र संघ सरकारको निर्वाचनमा पार्टी एकीकरणको अभ्यासले गुटगत अभ्यास कम भए ।

जिल्ला अध्यक्ष हुने मापदण्ड पटक पटक फेरिए । एमालेका जिल्ला अध्यक्ष टोकबहादुर वाईवा मण्डन नगरपालिका प्रमुख, अध्यक्षका प्रत्यासी भीम न्यौपाने पनौतीका प्रमुख, उपाध्यक्ष अशोक ब्याञ्जु धुलिखेलको प्रमुख, कार्यालय सचिव बसुन्धरा हुमागाईं प्रदेशसभा सांसद, जिल्ला कमिटीका अन्य नेता नगर प्रमुख तथा उपप्रमुख अर्थात् गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यसमेत भए । निर्वाचनसँगै निर्वाचित जनप्रतिनिधि व्यस्त भएपछि पार्टी कार्यालय सुनसान हुन थाल्यो । 

पार्टी एकीकरणसँगै जिल्ला कमिटीको संख्या टुंगियो । अध्यक्ष र सचिवका लागि नामहरू सिफारिस पनि भए । तर काभ्रेको हकमा सबै कुरा फरक भयो । सूर्यमान दोङको सट्टा रुकु चौलागाईंलाई अध्यक्ष बनाइयो । टोकबहादुर वाईवालाई सचिव बनाइयो । 

क्षेत्र नम्बर २ बाट संघअन्तर्गत एमाले काभ्रेका पूर्वअध्यक्ष गोकुल बाँस्कोटा निर्वाचित भए । अघोषित उनले नै गुटको नेतृत्व गर्दै जिल्ला कमिटीमा आफ्ना एजेण्डाहरू पास गराउँदै आएका थिए । अहिले उनी मन्त्री मात्रै हैन, पार्टीको केन्द्रीय सदस्य पनि छन् । उनी जिल्ला इञ्चार्ज बन्ने प्रस्तावित नेताको रूपमा चर्चामा छन् । तर पनि उनले सिफारिस गरेका १६ जनाको नाममा सहमति हुन सकेको छैन । अधिकांश माधव नेपाल समूहका नेताहरू मात्रै सिफारिस भएको भन्दै अर्काे समूहले असन्तुष्ट जनाएको छ । त्यहि क्रममा मन्त्री बास्कोटाले आइतबार सिद्धार्थ कटेजमा गुटको बैठक राखेको सार्वजनिक भएको छ । 

को हुन् १६ नेता ? जो विवादित बने ? 
एमालेका अध्यक्ष टोकबहादुर वाईवाले गुमानध्वज कुँवर, लेखराज गौतम, प्रदीप लामा, कृष्ण खुलाल, घनश्याम आले, श्रीराम बजगाईं, भक्तकुमारी लामा, कृष्णबहादुर लामा, रामहरि नेपाल, कृष्ण तिमल्सिना, रघुवर चौ प्रधान, दीपक गौतम, जगत शाह, रवीन्द्र सिपखान, रणबहादुर बोहोरा र रञ्जु केसीलाई सिफारिस गरेका थिए । 

गुमानध्वज कुँवर र कृष्ण खुलाल गाउँपालिका अध्यक्ष हुन् । रणबहादुर बोहोरा र रञ्जु केसी पार्टी प्रवेश गरी आएका हुन् । अझै थुप्रै नेता अन्य पार्टीबाट एमालेमा पसेका थिए । उनीहरूलाई पनि पहिलाकै हैसियतअनुसार जिम्मेवारी दिँदा जिल्ला सदस्य बनाइनुपथ्र्याे । तर ती व्यक्ति यो सिफारिसमा अटेका छैनन् । 

माधव नेपाल समूहमा रहेका केही नेता ओली समूहमा प्रवेश गरेका छन् । ओली समूहका केही नेता मन्त्री बाँस्कोटासँग असहमति राख्दै नेपाल समूहमा पुगेका छन् ।

माओवादीबाट ७० सिफारिस भएकोमा रामशरण खुलाल र वाङदेल लामालाई हटाएर ६८ जना कायम गरिएको छ । अझै एक जना माओवादीमा बढी छ । सहमतिमा माओवादीलाई ६७ र नेकपा एमालेलाई ७८ हो । माओवादीमा सिफारिस गरिएकाहरू कसैको पनि विरोध छैन । सूर्यमान दोङ लालध्वजलाई अध्यक्षमा सिफारिस गर्दा पनि रुकु चौलागाई लगायतको सर्वसम्मत सिफारिस थियो ।

अहिले रुकुलाई अध्यक्ष बनाएर पठाउँदा पनि दोङ समूहको सर्वसम्मत छ । माओवादीभित्र रहेका तीन गुट दुई गुटमा विभाजन भएका छन् । रुकु र दोङको एउटा समूह बनेको छ भने गंगाबहादुर दोङ बमध्वज र दीनानाथ गौतम प्रयाससहितको अर्काे गुट बनेको छ । बमध्वजसहितको गुट ओली समूहमा मिसिएको छ । रुकुको गुट माधव नेपाल समूहसँग मिल्ने देखिन्छ । 

जिल्ला कमिटीको बैठक राख्न रुकुले पटक–पटक प्रयास गरे पनि सम्भव भएको छैन । ‘मैले प्रयास गरेको छु, केही सदस्यहरूको सिफारिसको विवाद कायम छ, छिट्टै बैठक बस्नेछ’, उनले भनिन् ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू