​ठूलालाई रिझाउने, सानालाई बिझाउने !

मुलुकले नयाँ संविधान पाएसँगै जन्मिएको कान्छो जिल्ला रुकुमपूर्व । सोही जिल्लामा पहिलो पटक प्रजिअ भएर आएका भूपेन्द्र सापकोटा मदिरा र तरुनीमा लिप्त भएको भन्दै रातारात तानिए । तत्कालीन माओवादी नेता अग्नि सापकोटाका भतिज भूपेन्द्र रातारात भागेको गुनासोपछि असारमा आएका मित्रलाल शर्मा पनि विवादमुक्त रहन सकेनन् । बोलीले मीठो र हस् हजुर भन्दै नेता र पहुँचका मान्छे रिझाउन सफल शर्माले स्थानीय जनप्रतिनिधिलाई भने बिझाउने गरेका छन् । 

३ गाउँपालिकामध्ये पुथा उत्तरगंगामा उनी जाने वातावरण छैन । सदरमुकाम विवादको कारण पूर्वका जनताले स्वागत गर्ने अवस्था छैन । भूमे गाउँपालिकावासीसमेत उनको सेवाग्राहीप्रतिको व्यवहारबाट आजित छन् । अस्थायी सदरमुकाम रहेको रुकुमकोटका सीमित स्थानीयलाई च्यापेका छन् र बढीजसोलाई चिढ्याएका छन् । सिस्ने गाउँपालिका उपाध्यक्ष गोबर्धन बुढाले सामाजिक सञ्जालमा आक्रोश पोखेर सिडिओ शर्मालाई तानाशाहको आरोप लगाएका छन् । 

जनप्रतिनिधिलाई पटक पटक अपमानित गरेर कार्यकारी भूमिका लिन खोजेको गुनासो जनप्रतिनिधिको छ । शर्माले जनप्रतिनिधिको जनयुद्धलाई पारा नदेखाउनुस् भनेर होच्याउने गरेका छन् । आफू जिल्लाको अख्तियार प्रमुख भएको भन्दै एक एक हिसाब खोज्न सक्ने दम्भ देखाएर स्थानीय तहका योजनाबाट कोशेली झार्न खोजेको जनप्रतिनिधिले वताए । केही वडाध्यक्षका कुरा सुन्ने र जनयुद्ध लडेका तत्कालीन माओवादीबाट आएका जनप्रतिनिधिलाई अपमान गर्ने गरेको गुनासो छ । 

टिप्पणीहरू