​विदेशमा नेपाली धमाधम पक्राउ

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबारे विश्वव्यापी धारणा यही छ कि, त्यहाँबाट जे पनि बाहिरिन्छ, जे पनि छिर्नसक्छ । पछिल्ला गतिविधि हेर्दा यहाँबाट अनुचित किसिमले आए÷गएकाको हिसाबकिताब दह्रो निस्कने गरेको पाइन्छ । 

स्वदेशी÷विदेशी नभनी विमानस्थलमा भटाभट कारवाही भइरहेको छ । जेठको १५ गते बुधबार थाई एयरको टिजी ३१९ उडानबाट इन्द्रबहादुर बस्नेत र पूर्णकला थापा काठमाडौं ओर्लिए । उनीहरुलाई जापानमा अवैधरुपमा बढी बसेको (इलिगल ओभरस्टे) सम्बन्धी अन्तर्राष्ट्रिय अध्यागमन कानुनअनुसार समातेर फिर्ता पठाइएको हो ।

विश्वव्यापी रुपमा निर्धारित रकमभन्दा बढी बोकेर हिँड्न नपाइने अध्यागमन प्रचलन छ । यो कुरा जाने, बुझेरै एकजना क्यानेडियन नागरिकले अटेर गर्दा फन्दामा परेका छन् । जेठको १७ गते, शुक्रबार राति ड्रागन एयर केए १०३ नम्बरको उडानबाट हङकङ उड्न लागेका एसी ९५८६६२ नम्बरको राहदानीवाहक क्यानेडियन नागरिक टिन्नी मी ग हुन्, यस्तो फन्दामा परेका । अन्तिम सुरक्षा चेकजाँचको क्रममा उनीबाट प्रहरीले २० हजार ६ सय ३० अमेरिकी डलर, १४ सय २० हङकङ डलर र एक हजार ५० चिनियाँ युआन फेला पा¥यो र प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर कारवाही थालिएको छ । 

त्यही दिन टर्किस एयरको टिके ७२६ मा इस्तानबुलबाट काठमाडौं ओर्लिएका थिए, दुर्गाप्रसाद भुषाल । उनलाई पोर्तुगलको अध्यागमनले अवैधानिक आप्रवासन ‘नो पु्रभ अर कण्डिसन्स टु स्टे’ को कारण देखाएर डिपोर्ट गरेको थियो । उनले फ्रान्सस्थित नेपाली दूतावासबाट जारी भएको हस्तलिखित ५३७५७१५ नम्बरको राहदानी बोकेका थिए । 

अर्कातिर विमानस्थलमा विदेशबाट को–को आए र क–कसले देश छाडे भन्ने कुराको मिहिन ढंगले निगरानीको क्रम बढेको पुष्टि हुन्छ, एउटा घटनाबाट । नेपालमा तीर्थाटन र विभिन्न सामाजिक अभियानका नाममा भित्रिने र सबै गतिविधि गोप्य रहने हल्ला चल्ने गरेको छ । तर, १७ गते शुक्रबार साँझ ९ः१५ मा दिल्लीबाट नेपाल वायुसेवाको आरए २०६ को उडानमा अवतरण भएका एकजना बाबाजीमाथि प्रहरीले निगरानी बढाएको छ । स्वामी गोरखनाथ (राहुलेश्वर महाराज) त्यसदिन काठमाडौं ओर्लिंदा उनलाई स्वागत गर्न शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत र प्रवक्ता विजय पाण्डे एयरपोर्ट पुगेका थिए । उनीहरु हरियो रंगको पर्यटकीय नम्बर प्लेट बा१य ८११ को जिपमा होटल अन्नपूर्ण पुगेको बताइन्छ । 

टिप्पणीहरू