मागेको १३ खर्ब डलर, एक चौथाईभन्दा कममा सहमति
अजरबैजानको बाकुमा सम्पन्न कोप–२९ शिखर सम्मेलनमा जलवायु परिवर्तनबाट गम्भीर असर भोगिरहेका गरिब तथा विकासोन्मुख मुलुकहरुलाई आगामी १० वर्षमा तीन खर्ब डलर उपलब्ध गराउने सहमति भएको छ ।
चर्को विवादबीच सम्मेलनको तोकिएको समय पश्चात् उक्त सहमति भएको बताइएको छ । प्राप्त समाचार अनुसार आगामी सन् २०३५ सम्म तीन सय बिलियन डलर क्षतिपूर्ति प्रदान गरिने भएको छ ।
झण्डै दुई सय मुलुकको सहभागिता रहेको उक्त सम्मेलनमा बढी कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनुपर्ने अडानमा गरिब तथा विकासोन्मुख मुलुकका प्रतिनिधि र जलवायु परिवर्तन सम्बन्धी कार्यमा संलग्न अभियन्ताहरु थिए । तर, सम्मेलनको क्रममा धनी मुलुक र उनीहरुबीच सहमति नभएपछि चर्को विवाद र विरोध प्रदर्शन भयो ।
धनी र विकसित मुलुकले कार्बन उत्सर्जन गर्ने त्यसको गम्भीर असर गरिब र विकासोन्मुख मुलुकले व्यहोर्नुपरेको हालको अवस्थालाई स्वीकार गर्न नसकिने अभियन्ताहरुको भनाई थियो । उनीहरुले जलवायु परिवर्तनबाट परेको असर कम गर्ने कार्यमा सहयोग गर्न १३ खर्ब डलरको माग गरेका थिए ।
टिप्पणीहरू