​कम्युनिष्टलाई कसरी काट्छ करौंतीले ?

समयको दुष्चक्रले मान्छेको जिन्दगीसँग कसरी खेलवाड गर्छ र जित्नेलाई योजनाबद्ध रुपमा हराएर जल्दोबल्दो नेतालाई चपरीमुनिको बास बनाउँछ भन्ने कुराको पछिल्लो उदाहरण हुन्, चितवनका देवी ज्ञवाली ।

०७४ वैशाख ३१ गतेको निर्वाचनको गणनामा मतपत्र च्यात्नेलाई दोषी ठहर गर्दै अदालतले जेठ ३१ गते फैसला सुनाएको छ । गन्दागन्दै जेठ २५ गते मतपत्र च्यात्ने द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने दुई वर्ष कैद र एक लाख जरिवानामा परेका छन् । परिणाम उल्टाउनेले त अन्ततः सजायँ पाउने भए तर के यसबाट देवीलाई क्षतिपूर्ति मिल्यो ? 

भरतपुर महानगरका पूर्वउपप्रमुख समेत हुन् ज्ञवाली । स्थानीय तहको चुनाव सकिएको दुई वर्षपछि अदालतले उनकै पक्षमा आदेश त जारी ग¥यो तर गुमनाम जिन्दगीबाट बाहिर आउन सकेनन् । एमाले–माओवादीको मिलन र एकता प्रक्रिया चलिरहँदा देवी ज्ञवाली भूमिकाविहीनजस्तै बने । एकतापछि नेकपाको केन्द्रीय सदस्य मात्र हुन् तर राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भनेझैं ज्ञवालीलाई हराएर मेयर बनेकी रेणु दाहाल र पार्टी अध्यक्ष प्रचण्डसँग उनको सम्बन्ध राम्रै छ ।

‘असहमत हुनेहरूलाई घृणा होइन, रूपान्तरण र सहकार्यको भावनाद्वारा साथ लिनुपर्छ’ भन्ने आफ्नो मान्यता रहेको बताउँछन् । ‘के मान्यता स्थापित भयो भने गलत हर्कतले सही परिणाम दिँदैन । तत्कालीन क्षुद्र स्वार्थका केही गतिविधिले क्षणिक लाभ मिले पनि त्यो दीर्घकालीन हुन सक्दैन । अहिलेको राजनीतिभित्रका विकृतिलाई हटाउन आफू जल्नुपर्छ र सही मान्यता स्थापित गर्न खटिइरहनुपर्छ’, उनले भने ।

चुनावमा प्रचण्डपुत्री रेनुले जिते पनि देवीले उनलाई नगरको विकास र समृद्धि तथा पार्टीको हितका योजना लागू गराउन सहयोग गरिरहेका छन् । ‘प्रचण्डलाई नजिताए पार्टी एकता हुने थिएन, मुलुकमा ६१, ६२ प्रतिशत कम्युनिष्ट समर्थक छन् तर कुनामा बस्ने, दुनामा खाने चिन्तनबाट मुक्त हुन नसकेका दुई धारका कम्युनिष्टलाई मिलाउन त्यसको एउटा मूल नेतालाई जिताउनु मेरो जिम्मेवारी थियो,’ उनी भन्छन्, ‘कसले के ग¥यो भन्ने बिर्सेर एकतामा एउटा इँँटा थपें भन्ने लाग्छ ।’

दुई वर्षअघि मंसिरको चुनावमा प्रचण्डलाई जिताउने जिम्मासहित ९ हजार ३ सय २७ मतान्तर दिलाउनमा पनि देवी ज्ञवाली तन, मनले खटिएकै हुन् । ज्ञवाली अहिले संगठन सुदृढीकरण र स्थानीय विकासको काममा चलायमान छन् । तर, निश्चित भूमिका नहुनु सक्रिय कार्यकर्ताका लागि मरेतुल्य जुनी हो ।

ज्ञवाली भरतपुर–४ लंकुमा बस्छन्, श्रीमती निवृत्त शिक्षक । दुई छोरा । एउटा अस्ट्रेलिया र अर्काे काठमाडौंमा ल फर्म चलाएर बसेका छन् । भन्छन्, ‘प्रचण्ड कमरेडसामु म तीतो पोख्दिनँँ, निजी विषय खोतल्दिनँँ तर गल्ती महसुस गर्नुभएको छ भन्ने उहाँको अनुहार र व्यवहारले पनि झल्काउँछ ।’

टिप्पणीहरू