छौँडा नलगाइयोस् …प्रभु

  • नरेन्द्रजंग पिटर

समाजवादउन्मुख कम्युनिष्ट पार्टी र सरकारको विमतिमा लेख्न, बोल्न मात्रै हैन सोच्नै जाँगर नचलोस्, त्यस्तो अवस्थै नआओस् भन्ने लाग्छ । बुर्जुवा र प्रतिगमनकारीहरु मेरा भूमिकाले नहौसियुन्, खित्खिताउँदै तिघ्रा नठोकुन् र संसारकै कम्युनिष्टले यस सरकारी पार्टी र सरकारबाट समाजवादी प्रेरणा पाउन्, तिनलाई आत्मबल मिलोस् भन्ने चाहन्छु । तर, मेरा यस्ता पवित्र चाहनाले मात्रै हुँदो रहेनछ । सत्ता र सरकार फरक विषय हुन् । सिंहदरबार पुग्नेबित्तिकै सबैले सबैभन्दा पहिला आफ्नो पृष्ठभूमिलाई सत्ता–रससँगै पोली खाँदा रहेछन् । 

 अहिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको छौँडा शब्दले तरंग ल्याएको छ । सामान्य मान्छेले बोल्नु र शक्तिकेन्द्रले भन्नु फरक कुरा हो । समर्थन गरौँ –यो रुढिवादी आपराधिक प्रतिक शब्द हो, जसको विज्ञानसँग कुनै साइनो छैन । समाजमा यसले अन्धविश्वास फैलाउँछ । बोक्सी, झाँक्री, नरबलि, दैवीसाधनाजस्ता अन्धविश्वासीलाई बल पुग्छ । हालैको घटना नियालौँ ः दैवी शक्ति बढाउने नाममा नरबलि दिने धनुषा, मिथिला नगरपालिका–६ ढल्केबरका शत्रुघ्न महतोले छिमेकी शम्भु साहको अढाई वर्षीय छोरा समिरकुमारको हत्या ग¥यो भने, भद्रकालीमा ‘धरतीमाताको’ लीला त छरपष्ट नै भयो । नगरौँ– कम्युनिष्टविरोधी, सरकारविरोधी आग्रहीको आरोप लाग्न सक्छ । 

छौँडा अन्धविश्वासको प्रतीक मात्र नभई सोच पनि हो ।  कुनै पनि बेला, कुनै ठाउँमा अपराध बनेर देखिन सक्छ ।  क्रान्ति, परिवर्तन र कम्युनिष्ट शब्द अर्थ गुमाएर कर्ममा नदेखिएपछि ती या त पाल्सी खेल बन्छन् या आक्रोशमा उत्रिन बाध्य हुन्छन् । शब्द चयन भनेको चिन्तन र साँस्कृतिक सोचको तस्बिर हो । यसले बालुवाटार र सरकारी नेकपाको सोचलाई एक्सरे मात्रै गरेन, एमआरआईसमेत सकायो । आजभोलि छौँडा, बोक्सी, भूत, प्रेत शब्द, गुगल ब्याय, भगवान् आदित्यजस्ता शब्द बालुवाटारमै बढी गुञ्जिरहेछ । प्रधानमन्त्रीसमेतले ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो’, भन्नुभएको थियो ।

प्रधानमन्त्रीले संसदीय दलको बैठकमा भन्नुभयो– सदस्य र सांसदहरूले पार्टीको बचाउ गर्नुपर्छ । कुरा सही हो । तर, जब पार्टी पार्टीको हैसियतमा रहँदैन, राजनीतिक प्रतिवेदनजस्तो विषयलाई सचिवालयले समेत संस्थागत रुपमा पुँजीकरण गर्न पाउँदैन, कनिष्ठ मात्र होइन वरिष्ठको हैसियत पनि थप्पडमारको हुन्छ, त्यस्तो बेला कार्यकर्ता र सार्वभौम सांसदका चेतनाको चौतारी कहाँ बन्ने ? छौँडा अन्धविश्वासको तर्क कोरलेर बचाउ गर्ने ? अनुशासन लगाउने नै आफ्नै मर्यादामा बस्दैनन् भने सांसद या त हुकुमपालक हुन्छन् या भत्ता बढाउने बहसमा अल्झिन्छन् । सरकार सांसदहरूको आलोचनात्मक र सार्वभौम भूमिका खुम्च्याउन सांसद कोष बढाएर मिलीजुली बसौँ, बाँडीचुँँडी खाऊँ भन्न थालेको छ । तब पनि किन ऊ भयातुर भएर छौँडा चलाउँछ ? 

कार्यकारीको सल्लाहकार पद सामान्य विषय हँँुदै होइन । युद्ध कला (आर्ट अफ वार) नामक पुस्तक इसापूर्व पाँँचौं सदीका सैन्यविद् सन्जुको ९क्ग्ल् त्श्ग्० विश्वप्रसिद्ध कृति हो । सफल राष्ट्राध्यक्षको पहिलो प्राथमिकतामा योग्य सेनापति र दूरदृष्टि भएका सल्लाहकार पर्छन् । मन्त्री र सेनापतिले आदेश पाएपछि या आदेशभित्र रहेर कर्तव्य निर्वाह गर्नुपर्छ या त भूमिकाबाट अलग्गिनुपर्छ । तर, सल्लाहकारले भने कार्यकारीलाई अप्रिय नै लागे पनि निर्भिक भएर सल्लाह दिनुपर्ने हुन्छ । महाभारत ग्रन्थका लेखकले गम्भीर पात्रको चरित्र चित्रण गर्दै समयसँग संवाद गरेका छन् । राजन्धो धृतराष्ट्रका सल्लाहकार विदुरले युद्ध त रोक्न सकेनन् तर सही सल्लाह दिन पनि चुकेनन् । सिकन्दरका गुरु अरस्तुले उनलाई अलेक्जेन्डर द ग्रेट बनाए, चाणक्यले चन्द्र गुप्तलाई महान् राजा बनाए  । विष्णु गुप्तबाट चाणक्य बन्नु सामान्य थिएन । त्यसको उच्च वर्णन चिनियाँ यात्री फायानको यात्रावृत्तान्तमा पाइन्छ । तर युरोपेली चाणक्य मेकियाबेलीलाई आधुनिक राजनीतिको महागुरु भने पनि, निजी शक्तिस्वार्थले गर्दा उनको बुद्धि धुर्त राजनीतिका लागि महानग्रन्थ नै बने पनि आफ्नै लागि भने दुश्मन भएर कारावास बन्यो । निक्सनका सल्लाहकार हेनरी किसिन्जरले अमेरिका÷चीनबीच सम्बन्ध गाँसेर शीतयुद्धको नक्सा नै फेरिदिए । नरेन्द्र मोदीको थिंक ट्याक इण्डिया फाउण्डेसन र अजित दोभालको भूमिका परिणाममा देख्न सकिन्छ । 

नेपालमा भने अपवाद छ ।  बोसले के मन पराउँछन् त्यही मात्रै सल्लाहकारले सल्लाह दिन्छन् । त्यस्ता सल्लाहकार या त पीएको हैसियतमा हुन्छन् या चाकरको रूपमा । काजी भीम मल्लको हत्या र भीमसेन थापालाई आत्महत्याको अवस्थामा पु¥याउन सल्लाह दिने या मौजाको लोभले सुगौली सन्धि गर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्यायको भूमिका हेरे हुन्छ । प्रा.कृष्ण खनाल र प्रा. चैतन्य मिश्र किन गलत ठाउँमा पुगिएछ भनेर अलग भएका होलान् ?   

हे प्रभु, खराब सोच भएका व्यक्तिको घेरा र संगतबाट मेरो कार्यकारिणीलाई बचाऊ !  सोचमा, भूमिकामा, अभ्यासमा गड्बडी भए पूरै देशले, युगले, सपनाले मूल्य तिर्नुपर्ने हुन्छ । अरिंगाल, बारुला, बच्छ्यँु, छेपाराहरूले समेत मूल्य तिर्नैपर्छ, छौँडाछौँडी छोडेर कहाँ तह लाग्ला र ! व्यक्ति  संस्थामा फेरिएपछि निजी आग्रहले भन्दा संस्थाका क्रियाकलापको नै समर्थन, आलोचना वा विरोध हुने गर्छन् । तर, सर्वज्ञ सोच्ने शक्तिले यसलाई रचनात्मक रूपमा नलिँदा आग्रह पैदा गर्छ । 

छौँडा संस्कृतिको स्रोत भनेको आफैँप्रति विश्वस्त नहुनु, आफ्ना कलाविहीन भूमिकाको दोष अरूलाई थोपर्नु, मूल कुरालाई विषयान्तर गर्न निमित्त तर्क कोरल्नु वा अदृश्य शक्तिप्रति विश्वस्त हुनु हो । यसको शुरुवात विचार फेर्न सक्ने तर संस्कृति र विश्वास फेर्न नसक्नेहरूले धेरै पहिला गरे पनि अशक्त बालक आदित्य दाहाललाई गुगल ब्याय बनाउँदै गुरु अभिषेकबाट भगवान् अभिषेक बनाउन राज्य ढुकुटी खर्च गरेर दुनियाँलाई तमासा देखाउने त्रिमूर्ति (प्रधानमन्त्री, प्रचण्ड र देउवालाई) जान्छ । यस्ता विषयको सल्लाह दिने वा मौन बसेर प्रतिकार नगर्ने हाम्रो ‘चेतनशील’ समाज पनि दोषी बन्छ । 

उफ् ….रोइरहेको विज्ञान, चम्किरहेका छौँडाछौँडी …

टिप्पणीहरू