जसले आजन्मलाई कुर्सी जोगाए
गम्भीर उदाहरण छ, विरोधीले सानो कमजोरीमा खेल्न मात्रै पाए भए कसरी सोत्तर पार्छन् भन्नका लागि । यो सरकारले ती कुरा बुझिदिए देश र जनताको कल्याणै हुन्थ्यो ।
रुसी न्यायालयका प्रमुख हुन्, भ्याचेस्लाभ मिखाइलोभिच लेभेदेव । तत्कालिन सोभियत संघमा जतिबेला कम्युनिष्ट शासन थियो, सन् १९८९ मा उनी त्यहाँको प्रधानन्यायाधीश भए । पछि भ्लादिमिर पुटिनले संविधान संशोधन गरेर उनलाई आजीवन प्रधानन्यायाधीश हुने बाटो खोलिदिए । ३० वर्षदेखि लगातार न्यायालयको कमाण्डर रहँदै आएका ७६ वर्षीय उनै लेभेदेव नौ वर्षपछि गत साता नेपाल आएका थिए । यसरी न्यायालयलाई आफ्नो ‘बनाउने’ शासकले के मात्रै गर्न बाँकी राख्लान् ? रुसमा हेरौँ, के अब त्यहाँका सत्तरी वर्षसम्म शासन गरेका कम्युनिष्टले फेरि सत्तामा फर्कन पाउँछन् ? किन पाउँदैनन् भने, देशको न्याय र कानुन शासकबाट नियन्त्रित भइसक्यो । यस्तो भएपछि सरकारलाई के समस्या ? जे निर्णय गरे पनि भयो ।
पुटिनले कहिले प्रधानमन्त्री, कहिले राष्ट्रपति हुँदै आजीवन खाने अवस्था यसै आएको हैन । संयुक्त राष्ट्रसंघमा भिटो पावर भएको रुसमा आफू र पुटिनको हितअनुकुल हुने गरी अहिलेको संविधान निर्माता प्रधानन्यायाधीश नै सरकारी भएपछि कम्युनिष्टहरु कसरी सत्तामा फर्किउन् ? यो घटनाबाट नेपाल र नेकपाको सरकारले सिक्दा हुन्छ । अलिकति पनि भूलचुक भयो भने सानोतिनो गल्तीले अरु हावी हुनसक्छ । बोरिस यल्तसिन र मिखाइल गोर्भाचोभले कम्युनिष्टको आवरणमा कसरी कम्युनिष्ट पार्टी, सत्ता हुँदै आफू र देशलाई पनि सिध्याए ? राजा ज्ञानेन्द्र बढी जान्ने हुँदा कसरी आफैँ ध्वस्त भए ? हाम्रा कमजोरीमा खेलेर ज्ञानेन्द्र, जंगबहादुर जन्मिने वा सेना र विदेशीलाई भड्काउने खतरा पनि विद्यमान छ । नेपालका कम्युनिष्टले यी घटना, पात्र र प्रबृत्तिबाट समयमै शिक्षा नलिने हो भने अरुले शीर उठाउने खतरा यथावत छ । सबैलाई मिलाएर मन फराकिलो बनाउनुपर्ने, स्वस्थ सुझाव र आलोचना ग्रहण गर्दै हृदयको विशालता प्रकट गर्नुपर्ने समय हो यो । नत्र, खतरा र दैवी विपत्ती बाजा बजाएर आउँदैन । त्यतातिर समयमै नेतृत्व सतर्क हुनुपर्ने आमअपेक्षा छ ।
टिप्पणीहरू