लैजाला नि लामखुट्टेले

विश्वव्यापी रूपमा बढ्दो तापक्रमका कारण संसारभर देखिएको एकथरी लामखुट्टेले फैलाउने डेंगु रोगबाट मानिस आक्रान्त छन् । यो रोगबाट संक्रमितले ज्यानै गुमाउनुपर्ने नभए पनि नियन्त्रण गर्ने खोप र औषधि हालसम्म नबनेका कारण शहरी क्षेत्रका मानिस बढी भयग्रस्त छन् । नेपालमा ७ हजार ३ सय ७० जना डेंगु संक्रमित छन् । यही रोगबाट अन्य राष्ट्रमा संक्रमितको संख्या जान्ने हो भने कहालिलाग्दो छ । ब्राजिलमा डेंगुबाट संक्रमित २० लाखभन्दा बढी छन् भने थाइल्याण्डका सबै जिल्ला यसबाट प्रभावित रहेको र संक्रमितको संख्या ५५ हजार नाघेको छ । राजधानी बैंककमा मात्र संक्रमितको संख्या ७ हजारभन्दा बढी छ । 

सार्क राष्ट्र मालदिभ्सको जनसंख्या जम्मा ८ लाख तर त्यहाँ डेंगुबाट पीडित जनता ४ हजारभन्दा बढी छन् । भुटानमा एक महिनाअघि सम्म ८ हजारभन्दा बढी मानिस यसको संक्रमणमा थिए । भियतनाममा डेढ लाख जनता डेंगुको उपचार गराउँदै छन् । अमेरिकाको टेक्सास र फ्लोरिडा राज्यमा सन् २०१३ मा र हवाइमा २०१५ मा डेंगु फैलिएको थियो । अहिले पनि अमेरिकामा ४ हजारभन्दा बढी मानिस डेंगु संक्रमित छन् ।

छिमेकी मुलुक भारतले डेंगु रोग र यसबाट संक्रमितको संख्याबारे सार्वजनिक सूचना जारी गरेको पाइँदैन । उताको आधिकारिक वेबसाइटमा हेर्ने हो भने डेंगुबारे सन् २०१७ यताका सूचना नै नवीकरण गरिएको छैन । अर्को छिमेकी राष्ट्र चीनले पनि डेंगुबाट भएको संक्रमण र उपचारको अवस्था सार्वजनिक गरेको छैन । श्रीलंकामा डेंगुबाट संक्रमितहरू ४० हजार बढी र सिंगापुरमा १० हजार नाघेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणका अनुसार विश्वभर वार्षिक ३९ करोड मानिस यस रोगको संक्रमणमा पर्छन् ।

केही वर्षअघिसम्म लामखुट्टेबाटै फैलने जापानिज इन्सेफलाइटिसको संक्रमण अत्यासलाग्दो थियो । यसविरुद्ध खोप र औषधिको व्यापक प्रयोगपश्चात् अहिले नियन्त्रणको अवस्थामा छ । डेंगु पनि लामखुट्टेकै टोकाइबाट द्रुतगतिमा फैलने र लापरबाही गरे ज्यानसमेत जाने रोग हो । यो रोग फैलाउने लामखुट्टे प्रायः शहरी क्षेत्रमा हुर्कन्छ र फैलन्छ । अरू लामखुट्टेभन्दा फरक यसले फोहोर र फोहोर पानीमा नभई सफा पानीमा आफ्नो वंश वृद्धि गर्छ । विश्वभरका प्रायः शहर पानी अभावबाट गुज्रिरहेका छन् । शहरी मानिस पानी पाउनासाथ बचतका रूपमा थुपारिहाल्छन् । यही पानीलाई आफ्नो वासस्थान मात्र नबनाई सन्तान वृद्धिको समेत थलो बनाएर डेंगुवाला लामखुट्टेले मानिसमाथि नै सांघातिक हमला शुरु गर्छ ।

डेंगुवाला लामखुट्टेको जीवनचक्र एक महिनासम्मको हुन्छ र दुई दिन बिराएर फुल पार्दै सन्तान वृद्धि गर्छ । एउटा लामखुट्टेले मौका पाउँदा एकै पटक १५ जनासम्मलाई टोक्न सक्छ । एउटा लामखुट्टेले पूरै जीवन बाँच्दा १० पटकसम्म फुल पार्छ र संख्या फैलाउँछ । यसले खुला रूपले प्रयोगको लागि राखिएका पानीमा, पानीका जार खोल्दा निस्कने फालिएका प्लास्टिकका बिर्कामा जमेको पानीमा, गमलामा जमेको पानीमा, कतै फालिएका प्लास्टिकमा, फुटेका भाँडामा जमेका पानीमा समेत फुल पारी चुनौती दिन सक्छ । तीन तलासम्म पुग्न सक्ने यसले प्रायः दिउँसो टोक्छ ।

टिप्पणीहरू