​पाइलापाइलामा प्रलय

उत्तरका नेताबारे दक्षिणको चासो बढ्दा चेपुवामा परेको छ, सत्तारुढ नेकपा । स्कुल विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओलाई उद्घाटन गराउने पूर्वनिर्धारित कार्यक्रम रहेको सूचना पाएपछि दक्षिणी दूतावासले आफूनिकट पत्रकार र बुद्धिजीवीसामु घुमाएर चासो राख्यो, ‘के यो मिल्ने कुरा हो ?’ उसको सोधाइ थियो, ‘एउटा पार्टीको प्रशिक्षण उद्घाटन अर्को देशको नेताले गर्न सुहाउँछ ?’ कुरा नेकपा नेतृत्वसम्म पुग्यो । त्यसपछि प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भयो । वास्तविकता के हो भने, चीनको सत्तारुढ दलका केन्द्रीय सदस्य स्तरीय विदेश विभाग प्रमुख र नेपालका प्रमबीच प्रोटोकोल पनि मिल्दैन । चिनियाँ राष्ट्रपति सि चिनफिङ आउनु र दशकौंदेखिको वैचारिक नाताका कारण त्यहाँको पार्टीसँग झन् बढी नजिकिनु स्वाभाविकै हो । त्यसमा अर्को देशले चासो राख्नुपर्ने कुरा त केही थिएन ।

अर्कातिर, नेकपाको दुःख उही छ– मान्छे धेरै, पार्टी ठूलो, काम भद्रगोल † दुई जम्बो पार्टी मिलेका छन् । एउटाको सदस्यता कम, कमिटी जम्बो । अर्कोको सदस्य संख्या जम्बो, कमिटी सानो । यी दुईलाई मिलाउँदा अहिले पनि व्यवस्थापन गर्न समस्या परेर हुँदाहुँदा विधान मिच्नुपर्ने अवस्था आइलागेको बताइन्छ । अरु पार्टीबाट आउनेलाई कसरी ठाउँ दिने ? पार्टी कमिटी र जनसंगठनका लागि तोकिएको सिलिङ बढाएर भए पनि व्यवस्थापन गर्ने कि ! युवा, विद्यार्थीमा २५१ जनाको सिलिङ थियो । ३२५ बनाउने गरी छलफल अघि बढ्दैछ । १६१ जनाको सिलिङ तोकिएको बुद्धिजीवी संगठनमा मान्छे अटाउनका लागि संख्या थप्नैपर्ने छ । अहिलेसम्मको एकतामा पूर्वएमाले ६० र पूर्वमाओवादी केन्द्र ४० प्रतिशतको अनुपातमा बाँडचुड हुँदै आएकोमा अब संयोजक पाउनेले थोरै लिएर भए पनि एकता अघि बढाउन थालिँदैछ । जस्तो कि, मगर संगठनमा भर्खरैको एकीकरणअनुसार नेतृत्व पूर्वएमालेका भोजविक्रम बूढा (प्यूठान) ले पाए पनि केन्द्रीय कमिटीमा पूर्वमाओवादीका बढी छन् । २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीमा पूर्वएमाले सय र पूर्वमाओवादी १ सय ५१ जना रहँदा सहसंयोजक पूर्वमाओवादी केन्द्रबाट गणेश सलामी मगर (दैलेख) लाई दिइएको छ । 

त्यसमाथि विधान र सर्कुलरमा भिन्नताको अर्को समस्या । उपत्यका विशेष कमिटीलाई आठौँ प्रदेशको मान्यता दिने त भनियो । तर, विधानमा सोको कल्पना गरिएकै छैन । जनसंगठन सम्बद्ध पार्टी कमिटीहरुलाई अलग्गै उपत्यका समन्वय कमिटीले हेर्ने र त्यसलाई अलग प्रदेशस्तरको बनाउने कुरा सर्कुलरले भने पनि विधिले नमानेको स्थिति छ । विधान हेरेर भन्ने हो भने अष्टलक्ष्मी शाक्य इञ्चार्ज र नारायण दाहाल अध्यक्ष रहेको ३ नं. प्रदेशको भूगोलभित्र उपत्यका देखिन्छ । तर, सर्कुलरले भन्छ, यो अलग्गै क्षेत्र हो । अन्यौल पनि उस्तै । जस्तो कि, भदौ ९ गते विभागीय प्रमुख, उपप्रमुख र जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज तोकिए । विषयगत विभागमा एउटा प्रमुख तर मोर्चा संगठनमा अर्कै इञ्चार्ज । युवा तथा खेलकुद विभागको प्रमुखमा ठाकुर गैरे तर युवा संघको इञ्चार्जमा महेश बस्नेत । साँस्कृतिक विभागको प्रमुख मणि थापा तर त्यसको मोर्चा संगठनका रुपमा रहेको जनसाँस्कृतिक महासंघको इञ्चार्ज केदार न्यौपाने, सहइञ्चार्ज खगेन्द्र राई र गोपाल ठाकुर । उता, मणि थापाचाहिँ शिक्षकहरुको संगठनमा इञ्चार्ज हुन पुगे । प्रचार विभागको प्रमुखमा प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । तर, प्रेस संगठनको इञ्चार्जमा राजेन्द्र गौतम, सहइञ्चार्जमा महेश्वर दाहाल र ओम शर्मा । विभागले मोर्चा संगठन हेर्ने विगतको प्रचलनका बीच अब कसलाई कसले चलाउने, कसले भनेको मान्ने ? 
यस्ता कुरा टुंग्याउने निकाय केन्द्रीय कमिटी हो । तर, त्यसको बैठक बस्न सकेको छैन । कि स्थायी कमिटीले निर्णय गरेर केन्द्रबाट अनुमोदन हुनुप¥यो तर स्थायी कमिटी बस्ने कुरामै महाभारत छ ।

टिप्पणीहरू