​समस्याचाहिँ घुमिफिरी हामीसँगै

विकास, निर्माणका काममा सहयोग गर्ने विदेशी प्रतिबद्धता त भटाभट आएका छन् । तर, समस्या हामीसँगै छ । हतारमा काम गरिन्छ तर परिणाम खासै देखिन्न !

काठमाडौं वरपरका १७ वटा सडक बनाइहाल्नुपर्ने छ । उनै शारदा अधिकारीले धेरै ठेक्का हात पारेका छन् । त्यसमाथि मेलम्ची खानेपानीको अवरुद्ध काम सम्पन्न गर्ने नयाँ ठेक्काका लागि उनै प्रस्तावित भएका छन् । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत असोज १ बाट काम शुरु गर्नुपर्नेमा प्रभावकारी सुरसार छैन । २ गते पानी प¥यो, ३ गते संविधान दिवस, ४ गते शनिबार भइहाल्यो । शारदाले असोजको १५ गतेभित्र काम शुरु नगरे कालो सूचीमा पर्लान् त ? भ्रमण वर्ष २०२० आउन तीन महिना बाँकी छ । राजधानी नजिकैको आकर्षक पर्यटकीय गन्तव्य नगरकोट पुग्ने बाटो पानी परे हिलो, नपरे खाल्डो र धुलोका कारण बेहाल छ । प्रधानमन्त्रीकै विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई र कांग्रेसका गगन थापाले चुनाव लडेको धोबिखोला करिडोर (कपन खण्ड) अस्तव्यस्त छ । साँखु, सातदोबाटो, साङ्लेखोला, ककनीजस्ता बाटोको सुरसार छैन । यी सबै सडकसँग आन्तरिक र वाह्य पर्यटनको बाक्लो सम्बन्ध छ । जनसरोकारका दृष्टिले त झनै संवेदनशील सडक हुन्, यी ।

सँगसँगै दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी–सीतापाइला हुँदै चावहिल, धोविखोलासम्म (गोपिकृष्ण हल, ओम अस्पताल अगाडि पुल) को कामको शुरुवात असोज १ बाट भयो । त्यसअन्तर्गत शुरुमा महाराजगञ्ज–धोविखोला खण्डमा अवरोध हटाउने, रुख काट्ने काम अस्ति ६ गते सोमबारबाट थालिएको छ । चावहिल धोविखोलादेखि महाराजगञ्ज, नारायणगोपालचोकसम्म कुनै ठूलो अवरोध नभएका कारण अवरोध पन्छाउने (साइट क्लियर) को काम मुश्किल छैन । कलंकीबाट नेकपाको पार्टी कार्यालय रहेको धुम्बाराही हुँदै गोपीकृष्णसम्म एक्काइस सयवटा रुख काट्ने काम दशैंअघि नै सक्ने भनिएको छ ।
अर्कातिर, रानी–जमरा सिञ्चाई आयोजना कर्णाली पुलदेखि कैलालीको लम्कीसम्मै पुग्छ । टीकापुरसमेत छुँदै भेरी–बबई डाइभर्सनको काममा सुरुङ त खनियो । तर, त्यसमा पानी पसाउन बाँकी छ । त्यसको हेड बक्र्स (बाँध) बन्न चार वर्ष लाग्छ । त्यतिञ्जेल त्यो सुरुङलाई के गर्ने ? शौचालय, डेटिङ स्पटमात्र बनाउने कि उपयोग पनि गर्ने ? पानी पसेन भने त्यो बेकार हुन्छ । कि, लिफ्ट वा बोरिङबाट तानेर पानी पसाउनुपर्छ र नहर चलाउनुपर्छ । नत्र, कंक्रिटको संरचनालाई चार वर्षसम्म घाममा सुकाउने हो भने त्यो पट्ट–पट्ट फुटेर कामै लाग्दैन । अनि, त्यत्रो दुःखले बनाएको चिज फेरि जस्ताको तस्तै ! प्रधानमन्त्री, विदेशी राजदूतसम्म गएर उद्घाटन भयो । तर, सदुपयोग गर्ने कुरामा फेरि समस्या । 

सुनकोशीको पानीलाई सिन्धुलीको खुर्कोटबाट छिराउँदै प्रदेश २ सम्म पु¥याउने परियोजना वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को अभावमा बेहाल छ । मरिन खोला हुँदै रौतहटको बागमतिसम्म पु¥याउँदा २ नं. प्रदेशको १ लाख २२ हजार हेक्टर लाभान्वित हुन्छ । सीधै बागमति लैजान नसकिने भएपछि त्यो पानीलाई बाराको निजगढ, रौतहटको चपुरतिरबाट निकाल्ने योजना छ । यो काम एक जापानी कम्पनीले अगाडि बढाउन खोजेको छ । ऊसँग एउटा अपरेटरबाहेक मान्छे नै नचाहिने गरी सुरुङ खन्ने अटोमेटिक मेसिन छ । लोकल एजेण्ट हुन्, पुलिसको डिएसपीबाट जागिर छोडेका गोविन्द थपलिया । उनी छिटो इआइए रिपोर्ट आओस् भन्ने जापानीहरुको इच्छाअनुसार बालुवाटार र सिंहदरबार धाइरहेका छन् ।  तर, नेपालतिरकै ढिलाईका कारण काम अघि बढेको छैन । यदि त्यो काम समयमा सम्पन्न गर्ने हो भने मधेसको मन जित्न सकिन्छ । यदि यो आर्थिक वर्षमा सुरुङ खन्ने र ड्याम बनाउने काम गरियो भने उपलब्धिमूलक हुन्छ । 

सिक्टाको अवस्था पनि त्यही हो । बैशाख १० गतेको क्याबिनेट बैठकले क्षतिग्रस्त खण्डको मर्मत तथा सुधार गर्ने निर्णय लियो । ९ महिनादेखि अलपत्र नहरको मर्मत तथा सुधारको काम शुरु गर्न क्याबिनेटले मात्रै तदारुकता देखाएर के गर्नु, ठेकेदारले कामै नगरेपछि । 

सँगसँगै मंसिर १ गतेदेखि नुवाकोटको सिसडोलमा रहँदै आएको काठमाडौंको फोहोर फाल्ने डम्पिङसाइट बञ्चरे डाँडोमा सारिँदैछ । सिसडोल फोहोरले भरियो । पहिला भनिएजस्तो त्यो फोहोरबाट मल उत्पादन गर्ने काम प्रभावकारी भएन । बरु, फोहोरको पहिरो लडेर बाटो रोकियो । बञ्चरे डाँडोमा फाल्न थालियो भने कम्तिमा ५० वर्षलाई पुग्छ । 

टिप्पणीहरू