परिस्थितिलाई मान्छेले कहाँसम्म पु¥याउँछ ?

संघीय राजधानीका सडकको कथा हो यो ।

फोटो हेर्नुस्, रुकुमकी नानुमाया घर्ति (नाम परिवर्तन), उमेर २१ वर्ष । बालाजु, नयाँ बसपार्कदेखि गोंगबुसम्मका सडकमा हिँड्नुस्, उनलाई नभेटिएको दिन हुँदैन । फोटोमा बोकेको झोला देखिन्छ, जसभित्र सवा दुई लाख रुपैयाँ नगद छ । सडकदेखि सडकसम्म चहार्ने यी मामुली युवतीसँग कसरी यति धेरै पैसा आयो ?

असोजको पहिलो साता मित्रनगरस्थित नेपाल टेलिकमको छेउमा उनी उभिएकी थिइन्, प्रहरीले लखेट्यो । लखेटिएको भोलिपल्ट नानुमाया आफँै बसपार्क प्रहरी कार्यालय पुगिन् । हिजो लेखेट्ने प्रहरीहरु त्यतिबेला अफिसमा थिएनन् । त्यसैले सोझै इन्स्पेक्टरकहाँ पुगिन् र बिना हिचकिचाहट सोधिन्, ‘सर, महिनावारी कति लिनुहुन्छ ?’ इन्स्पेक्टर एकछिन झस्किए । हेर्दा राम्रै, उमेरदार युवती । प्रश्न छ, महिनावारीको, त्यो पनि बिनाकुनै संकोच । उनले सोधे, ‘यो महिनावारी लिने, दिने ठाउँ हैन । अबदेखि यस्तो कुरा सोध्न यहाँ नआउनुस्, नत्र म थुनिदिन्छु ।’ नानुमायाले फेरि उस्तै शैलीमा भनिन्, ‘त्यसो भए मलाई डिस्टर्ब नगर्नु न त !’ बल्ल इन्स्पेक्टरले सोधे, ‘तिमी के काम गछर््यौ बहिनी ?’ उनले जवाफ दिइन्, ‘काम त्यही त हो नि…! यहाँ सबैले मलाई चिन्नुहुन्छ, हजुरले मात्रै नचिनेको हो !’ इन्स्पेक्टरले अन्य प्रहरीलाई बोलाएर सोधे, ‘यो को केटी हो ?’ एकजनाले भने, ‘सर, हिजो हामीले यसलाई समात्न खोजेको, भागी । गेष्ट हाउसले कम्प्लेन गरेको यसैको विषयमा हो ।’ त्यसपछि इन्स्पेक्टरले झोलाको खानतलासी लिए । खोल्नासाथ गुजुल्टो पारेर राखिएका हजार र पाँच सयका नोट देखिए । नानुमायाकै अगाडि प्रहरीले गन्यो, दुई लाख २२ हजार रुपैयाँ ! पैसा गनिसकेपछि इन्स्पेक्टरले भने, ‘म तिमीलाई थुन्छु । तर, मैले सोधेको सबै कुरा नढाँटी भन्यौ भने नथुन्न पनि सक्छु ।’ उनले भनिन्, ‘सर, मलाई थुनेर के पाउनुहुन्छ र ? मेरो रोजिरोटी खोसिनेमात्रै हो । बरु, यो व्यागमा भएको सबै पैसा सरलाई दिन्छु । मलाई नथुन्नुस् ।’

‘यत्तिका पैसा बोकेर किन हिँडेको त ? बैंकमा राख्नुपर्दैन ?’ प्रहरीले सोधेपछि बेलिबिस्तार लगाउन थालिन् । 

एक वर्ष भयो, नयाँबसपार्कलाई केन्द्रविन्दु बनाएर देहव्यापार गरेको । गाउँकै एउटा केटाले भगाएर काठमाडौं ल्यायो । केही समय सँगै बस्यो । तर, पेटमा चार महिनाको बच्चा भएपछि केटो बेपत्ता ! पाँच महिनापछि छोरी जन्मिइन् । नेपालटारमा दिदीहरुको डेरा छ । त्यहीँ बस्थिन् । बच्चा जन्मिएपछि बाँच्ने उपाय खोज्दै दोहोरी धाइन् । त्यहीँ सिकिन्, जागिर खाएर महिनावारी पाँच हजार तलब बुझ्नुभन्दा दिनैपिच्छे पाँच–दश हजार कमाई हुने तरिका । तर, दिदीहरु साह्रै लोभी । बहिनीको पैसा देख्नै नहुने, लुकाइहाल्ने । उनीसँग नागरिकता छैन ।

त्यसैले बैंक खाता खोल्ने कुरा भएन । झोला बोकेर निस्किएपछि बेलुकी फर्किंदा १०–१२ हजार रुपैयाँ बचेको हुन्छ । त्यो पैसा झोलामै राख्छिन् । खाएर, भाडा तिरेर महिनाको दुई–तीन लाख बच्छ । त्यो पैसा लिएर रुकुम जान्छिन्, आमालाई राख्न दिन्छिन् र काठमाडौं फर्किन्छिन् । ग्राहक हेरेर पैसा लिन्छिन् । एकपटक यौन सम्पर्क गर्दा हजार रुपैयाँदेखि १० हजारसम्म दिने ग्राहक फेला पार्छिन् । धेरै पैसा दिने ग्राहकसँग अलग्गै होटल भाडा लिन्नन् । तर, दुई–तीन हजारसम्म दिने ग्राहकसँग पाँच सय अलग्गै लिन्छिन् । ग्राहकले पैसा दिन्छन्, पोको पारेर झोलामा हाल्छिन् । दिदीहरुले पैसा गनेको देखे भने पनि चोर्छन् । त्यसैले कोठामा गएपछि झोलामा ताला लगाउँछिन् । अहिलेसम्म आमालाई राख्न दिएको पैसा साढे १० लाख पुगिसक्यो । 

उनको कथा सुनिसकेपछि प्रहरीले आफ्नो एरियामा फेरि देखेमा समातेर थुन्ने भन्दै त्यहाँबाट लखेट्यो । तर, फेरि भोलिपल्ट नयाँ बसपार्कको आकाशेपुलमाथि ग्राहक पर्खेर बसेको भेटिइन् । प्रहरीले समात्यो । महाराजगञ्ज बृत्तले अभद्र व्यवहारमा सात दिन हिरासतमा राख्यो, आठौं दिन तीन हजार धरौटीमा सिडिओ अफिसबाट रिहा भइन् ।

त्यस्तै, दशैँको मुखमा कपिलवस्तुको तौलिहवाबाट १४ वर्षकी दुई पहाडेमूलका बालिका हराए । कक्षा ८ मा पढ्दै गरेका उनीहरु त्यहाँबाट एम्बुलेन्स चढेर हिँडेको सूचना एम्बुलेन्स नम्बरसहित बसपार्क प्रहरीले पायो । खोजी हुँदा बसपार्कको गुरुङ गेष्ट हाउसअगाडि एम्बुलेन्स भेटियो । बालिकाहरु चाहिँ बेपत्ता † प्रहरीले एम्बुलेन्सवालालाई केरकार गर्दा उनले गेष्ट हाउसलाई देखाए । बाहिरी जिल्लाबाट आउने त्यस्ता बालिकालाई मनमैजुमा डेरा गरी बस्ने सुनीता (नाम परिवर्तन) तामाङ नामक ३०–३१ वर्षकी महिलाकोमा लिएर जाने गरेको सूचना गेष्ट हाउसबाट प्राप्त भयो । त्यसपछि प्रहरीले खोज्यो, सुनीतालाई ।

उनी मनमैजुमा प्रिफ्याब सिष्टमबाट बनाइएको चार–पाँचवटा टहरा भाडामा लिएर बस्छिन्, प्रत्येक कोठामा १३–१४ देखि २२–२५ वर्ष उमेरका युवती हुन्छन् । तौलिहवाबाट हराएका भनिएका युवती पनि त्यहीँ भेटिए । बसपार्कको गुरुङ गेष्ट हाउसमा दुई दिन, दुई रात बसेपछि खाने, बस्ने र सुत्नेसहित महिनाको ३५ हजार तलब दिने गरी सुनीताले १४ वर्षका ती दुई बालिका आफूकहाँ लगिन् । सुनीताका पार्टनर छन्, रविन तामाङ । ट्याक्सी ड्राइभर । सुनीताले कुनै युवतीलाई कहाँ, कुन होटलमा लैजाने भन्ने सूचना रविनलाई दिने, रविनले जहाँ पु¥याए पनि टिपको १५ सय लिने ! बसपार्कतिरै ग्राहक पाइए शिवमन्दिरस्थित होटल गणपतिमा राख्छन् । टाढामा धुलिखेल, नगरकोट, ककनी, जहरसिंहपौवा, फर्पिङसम्म युवतीहरु पठाउने गरिन्छ ।
 
यति सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो । सुनीता, रविन र गणपति होटलका सञ्चालक अहिले चेलिबेटी बेचबिखन मुद्दा झेल्दै छन् ।

टिप्पणीहरू