इच्छाशक्ति भए यो त मामुली कुरा
सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्यस्थितिलाई लिएर मानिसहरु अनेकखालका टिकाटिप्पणी गरिरहेका छन् । व्यक्तिको संवेदनशील स्वास्थ्यस्थिति र निजी जीवनमाथि खेलबाड गर्नु, उडन्ते टिप्पणी गर्नु सर्वथा अनैतिक र परपीडक मानसिकता हो भन्नेहरुको कमी एकातिर छैन भने अर्कातिर उहाँ लत्तो छाडेर, हिम्मत हारेर, ओछ्यानको बास भएर हैन यो उमेर र यस्तो अवस्थामा पनि दायाँबायाँ केही नभनी १९ घण्टा खटेर झन झन बोल्ड हिसावले राष्ट्रलाई नेतृत्व गर्दै हुनुहुन्छ ।
व्यक्तिको रुपमा कोही मन पर्न सक्छन्, मन नपर्न पनि सक्छन् । वर्षौंदेखिको उही व्यथा बल्झिनु र अचेत हुनु फरक कुरा हो । अन्नपानीको शरीर हो, तलमाथि भइरहन्छ । हाम्रा निकटस्थ छिमेकी मुलुकको नेतृत्व गर्नुभएका जवाहरलाल नेहरु र माओत्से तुङले पनि शरीरले साथ दिँदासम्म सक्रिय हिसाबले देशको सेवा गर्नुभएकै हो । मन्त्रीको स्तरमा छिमेकी भारतमा सुष्मा स्वराज र अरुण जेट्लीको उदाहरण दिएर हुने अवस्था होइन यो । अर्थ र विदेशजस्ता मन्त्रालयमा रहेर आजको भाजपालाई सत्तामा दोहोरिने अवस्थामा पु¥याउने प्रमुख पात्रहरु यही किड्नीको समस्याका कारण चुनाव लड्नै तयार भएनन् । पार्टी र सरकारको जिम्मेवारी पनि लिएनन् । दुर्भाग्य, रोगसँग भाग्दैमा उनीहरुले आफ्नो जीवन पनि सुरक्षित राख्न सकेनन् । त्यस्तो स्थिति सबैतिर सम्भव हुँदैन । किनभने, माने पनि, नमाने पनि, जसलाई जे–जस्तो लागे पनि नेपालको संविधान अत्यन्तै कठिन अवस्थामा जारी भएको हो । छिमेकी देश प्रचण्ड रुपमा रिसाएको र मधेसी दलको अवरोधका बीच नेपाली कांग्रेसलगायतका दलहरुलाई सहमत गराएर संविधान जारी गराउनु चानचुने सफलता थिएन ।
कल्पना पनि गर्न नसकिने, नदीको दुई किनाराका रुपमा रहेका एमाले र माओवादीलाई एउटा सूत्रमा बाँध्नु फलामको च्युरा चपाउनुजस्तै मानिन्थ्यो । नाकाबन्दीसँग जुध्नु, चीनसँग अनेकखालका सन्धि, सम्झौता गर्नु, भूपरिवेष्ठित राष्ट्रलाई विश्वमा शीर ठाडो पार्ने स्तरमा पु¥याउनु ख्यालख्यालको कुरा हैन । वैकल्पिक सम्बन्ध, अर्थात् जल, थल आकाश सबैतिर घनिभूत सम्बन्ध जोड्नु पनि खेलाँची हैन । यी सारा काम सम्पन्न गर्ने अदम्य आत्मविश्वासी नायकको नाम केपी ओली हो । र, उहाँले यी काम गरिरहँदा आज रोग हैन, इच्छा र तत्परता मुख्य हुन्छ भन्ने प्रमाणित गरिसक्नुभएको छ । रोगसँग हारेर होइन उसलाई जितेर मात्रै इतिहास रचिन्छ । यस्तो रोग निरपेक्ष पनि हुँदैन, नारायणसिंह पुन, दिवाकर गोल्छाले जीवनसँग हार्नुका पछाडि व्यापारिक लाभहानीका चिन्ताहरु समेत कारक थिए होलान् तर पूर्वराजदूत प्रल्हाद प्रसाईं ज्वलन्त उदाहरण हुनुहुन्छ जसले यही प्रकृतिको बिमारीलाई वर्षौंदेखि परास्त गर्दै आउनुभएको छ ।
अहिले जसरी विभिन्न किसिमका अपराधमा संलग्न भई वर्षौंदेखि उन्मुक्ति पाएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइएको छ, यो कुरा सम्माननीय प्रधानमन्त्रीज्यूकै कारण सम्भव भएको हो । अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको प्रस्तुति प्रभावकारी हुन थाल्नु अर्को गौरवको विषय हो ।
बहालवाला प्रधानमन्त्रीको स्वास्थ्यस्थिति देशको राजनीतिसँग पनि जोडिएको हुन्छ । फलाना नभए, फलाना त छ नि भन्ने परिस्थिति पनि अहिले होइन । सत्तारुढ पार्टीको अध्यक्षको विकल्पमा अर्को अध्यक्ष हुनुहुन्छ भन्ने ठाउँ छ । प्रधानमन्त्रीको रुपमा चलाउन सक्ने व्यक्तित्वहरु पनि छन् । तर, सर्वमान्य रुपमा सर्लक्क भइहाल्न सक्ने अवस्था होइन । टेष्ट हुन बाँकी नेता वामदेव गौतम पनि हुनुहुन्छ । तर, उहाँलाई सरकारको नेतृत्व गर्ने संवैधानिक मार्गप्रशस्त छैन । कि, संविधान संशोधन गरेर जुनसुकै सदनको मान्छे प्रधानमन्त्री हुनसक्ने व्यवस्था गर्नुपर्ने हुन्छ । तर, त्यसो गर्न पनि अहिले दुईतिहाई पुग्दैन । त्यही एउटा बुँदाका निम्तिमात्र अरुले मान्लान् भन्ने पनि छैन । मधेसका आफ्ना माग र एजेण्डा छन् । त्यो संबोधन हुन नसक्दा राजपा सरकारबाट अलगिएको परिस्थिति अर्कातिर छ ।
अनेक प्रसंगबीच केही बोल्डखाले निर्णय हुन लागेका छन् । अजरबैजान जानुअघि नै झण्डै सयको संख्यामा विभिन्न संवैधानिक नियुक्ति शुरु हुन लागेकै थिए । प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिका कारण बैठक बस्न सकेन । जस्तो कि, गृहसचिव प्रेमकुमार राईलाई अख्तियारको आयुक्त बनाउने, अर्थसचिव राजन खनाल बित्त आयोगमा, सञ्चार सचिव महेन्द्रमान गुरुङ समावेशी आयोगमा नियुक्ति भइसक्ने स्थिति थियो ।
टिप्पणीहरू