कहिले सेलाउने, कहिले खेलाउने
देशको राजनीतिक क्षितिजमा अनौठा, नौलाझैँ लाग्ने केही घटनाक्रम मडारिएका छन् । जस्तो कि, नेकपाको अन्तरद्वन्द्व सल्टिसकेको होइन । कांग्रेस अन्तरद्वन्द्वमै रुमल्लिएको छ । उपचुनावको उम्मेदवार चयन हिजो सकियो । मधेसमा छठ भर्खर मनाइयो । छिमेकी भारतको कुरा गर्दा नेपालको राजनीतिमा उसको प्रभाव पर्नु अचम्म होइन । राष्ट्रपति सि चिनफिङको भ्रमणपछि नेपालमा चिनियाँ प्रभाव बढ्यो भनेर स्वदेश, विदेशका मिडियामा टिकाटिप्पणी भइरहेकै छन् ।
भारतका मिडिया र थिङ्क ट्यांकहरुले चिनियाँ प्रभावबारे बोलिरहँदा यससँगै नेपाललाई अप्ठेरोमा पारेर अब पार लाग्दैन, सदाशयता र सौहाद्र्रता आवश्यक छ भनी भटाभट लेख्न थालेका छन् । पहिला पो आफ्नो सत्तास्वार्थका कारण दलहरु भारतको सन्दर्भमा यताउता गर्थे, तलमाथि हुन्थे । फलतः राष्ट्रिय राजनीतिमा विविध उतारचढाव आइरहन्थे । पछिल्लो परिस्थिति त्यस्तो रहेन । ०७२ को नाकाबन्दीपछि जनताको तहसम्म भारतबारेको बुझाई भड्किएको अवस्था छ । त्यसकारण अब धाक, धम्कीले हुँदैन, ‘गुडविल प्रमोशन’ को स्थितिमा जानुपर्छ भन्ने परेको छ ।
अर्कातिर, केपी ओलीले पार्टी र सरकार दुबैलाई आफ्नो पकडमा राख्नुभएकै अवस्था हो । भोलि सर्वमान्य रुपमा मन परे पनि, नपरे पनि, चित्त दुखाए पनि, सशक्त प्रतिकार, विरोध, वा संगठित रुपमा हलचल गर्ने स्थिति तत्काल होइन । किनभने, पार्टीका दुई अध्यक्षबीच लिखित सम्झौता छँदैछ । दुईजना मिलेर अरुलाई साक्षी किनाराको फड्के बनाइएकै छ ।
नेकपाको सन्दर्भमा चर्चा गर्दा एउटा घटना स्मरणीय छ, प्रम ओली उपचारका लागि सिंगापुर जानुअघिको । प्रचण्डले आफू निकटका केही नेतालाई खुमलटार बोलाएर ‘अलिक तात्नुप¥यो’ भन्नुभएको थियो । उहाँले भन्नुभयो, ‘ओलीजी अलि बढी नै अराजनीतिक रहेछन् । मिलेर जाने अवस्था छैन । तपाईंहरु तात्नुप¥यो, मसक्क आँट्नुप¥यो ।’
तर, लगत्तै कुरा फेर्नुभयो, ‘अहिले तात्तिनु परेन । पूरै रियलाइजेशनको स्थिति बनिसकेको रहेछ । केही समय पर्खौं †’’
यो खिचडी पाक्दै गरेको थाहा पाएर वा नपाएर हो, केपीले कूटनीति खेल्नुभयो, ‘तपाईं पार्टी बैठकको अध्यक्षता गर्नुस्, पार्टी चलाउनुस्’ भनेर । जब सिंगापुरबाट उपचार सकेर आउनुभयो, संसदीय दलको बैठकबाटै विदेश जानुअघिको भ्रमबाट प्रचण्डलाई मुक्त गराउनुभयो । प्रमले ‘मेरो सहमतिबिना केही पनि हुँदैन’ भन्नुभएपछि प्रचण्ड झस्किनुभयो । पहिला भनेको ‘रिजलाइजेशन’ राम्रैसँग बटारिएपछि फेरि प्रचण्डले उही टोलीलाई बोलाएर भन्नुभयो, ‘यिनी अराजक नै रहेछन् । अब फेरि तात्नुप¥यो †’ यसो भनेपछि ‘तपाईंले भनेको बेला तात्नुपर्ने, तपाईंले भनेको बेला सेलाउनुपर्ने अवस्था छैन । यसरी पार लाग्दैन । हामी त्यसरी जाँदैनौँ †’ यसरी आफ्ना नेता उल्टै तात्तिन थाले ।
उता, उपचुनावको उम्मेदवार तोक्न आइतबार डाकिएको सचिवालय बैठकमा दिवंगत नेताकै पत्नीलाई मात्र किन टिकट भनेर कुरा उठ्यो । पोखरा र दाङका हकमा त्यस्तो कुरा भएको हो । यद्यपि, सोमबारको बैठकले रवीन्द्र अधिकारी र उत्तरकुमार वलीका पत्नीलाई नै टिकट दिएको छ । दाङमा शोभाराम बस्नेतको कुरा थियो । तर, शोभारामलाई पछि अरु कुनै जिम्मेवारी दिने भन्दै टिकट विमलालाई दिइएको बताइन्छ ।
टिप्पणीहरू