मन्त्रीका मान्छेले मागेर…
लोभले लाभ होला, नहोला तर अस्तिदेखि निवृत्त भएका सहसचिव योगेन्द्र गौचनको विलापचाहिँ शुरु भएको छ । उनी महानिर्देशक रहेको आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको गाडी मन्त्रीको स्वकीयले चढ्दा करङ भाँचिएको छ । उक्त गाडी पार्टपुर्जासम्म काम नलाग्ने अवस्थामा बबरमहलस्थित विभागकै प्रांगणमा देख्न सकिन्छ ।
कडा मिजासका योगेन्द्रले मन्त्री मातृका यादवको सचिवालयबाट फोन आएलगत्तै लल्याक लुलुक गलेर स्वकीय सचिव यज्ञ खरेललाई बा.२झ १४५३ नम्बरको गाडी दिई पठाए जुन उपसचिव प्रदीप सुवेदीले चढ्दै आएका थिए । पूर्वस्वकीय सन्तोषले बदनाम गरेपछि अहिले मातृकाको छोरा रविकिरण र यज्ञ खरेल सचिवालयमा छन् । उनै खरेलले दसैंताका सिन्धुपाल्चोकस्थित घर जान विभागको गाडी मगाएका हुन् । सुनकोशी गाउँपालिकास्थित घर जान सपरिवार हिँडेका उनी सवार गाडी भित्तामा बजारियो । त्यहाँबाट घर पुग्न १२ किमी मात्र बाँकी थियो । बिग्रिएको गाडी थन्क्याएर खरेल झोला झाम्टा बोकी घर पुगे ।
दसैं मानेर फर्किए र गाडी बिग्रिएर बाटैमा थन्क्याएको जानकारी दिए । योगेन्द्रले एक जना ड्राइभर पठाएपछि कागतिहारको अघिल्लो दिन सो गाडी विभागमा आइपुगेको छ । यसरी मन्त्रीको पिएले चढेर भित्तामा ठोक्काई बिगारेको गाडी राम्रोसँग बनाउँदा ४ देखि ५ लाखसम्म लाग्ने, साधारण चल्ने मात्र बनाउन कम्तीमा एक लाख लाग्ने अवस्था छ । योगेन्द्रचाहिँ घर जानु केही दिनअघि आफू निकटस्थहरूसँग विवादमा आउने भएँ भनी चिन्ता व्यक्त गर्दै छन् ।
योगेन्द्रले गाडी उपहार दिएर पठाउनुको कारण हो सिइओ बन्ने लोभ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी खुल्दै छ । खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनी गाभेर देशैभर भाटभटेनीजस्तै पसल खोल्ने सरकारको तयारी छ । सोही कम्पनीको सिइओ बन्ने दाउमा छन् उनी ।
टिप्पणीहरू