भयानक सपनीभित्रको तीतो सत्य

  • नरेन्द्रजंग पिटर 

भयानक सपनाबाट भर्खर झल्याँस्स भएर डायरीका पाना पल्टाउँदै यी पंक्ति लेख्दै छु । राजनीति र शक्तिको त्यो अनौठो सपना थियो – ‘राजा बनेर मैले देशवासीलाई अन्तिमपत्र लेखेको थिएँ ।’ उफ ….कस्तो सपना । कहिलेकाहीँ सपनाले कोपर्छ, चिथोर्छ, बौलाइदिन्छ, रक्तमुच्छेल पनि पारिदिन्छ । कहिलेकाहीँ भने जिन्दगी नै त्यस्तै सपनामय भइदेओस् भन्ने इच्छा र कामना हुन्छ । अन्तरमनका चाहना र कल्पना सपनामा देखिन्छन् भन्ने मनोवैज्ञानिक कथन छ । के म अचेतमनमा राजा बन्ने त्यस्तै इच्छा राख्थेँ त ! यसको विश्लेषण गरिदिने सिग्मन फ्राइड अब छैनन् । तपाईंलाई पनि यस्ता सपनाले अत्याएको वा लोभ्याएको त छैन !

सपनामा म मौकामा चौका हानेर आफन्तीलाई छक्याउँदै एकाएक लावन्य देशको राजा बनिछु । र, श्रीपेच ढल्काउँदै ऐनासामु पुगेछु । सिजर र नेपोलियनलाई केही नसम्झने संसारकै शक्तिशाली अनि  विदुर, चाणक्य र सुञ्जुभन्दा महान् चतुर सम्झन थालेँँ । धरती मेरो शक्तिबेगर घुम्दै घुम्दैन, घुम्नै परे पनि उसलाई अत्यन्तै कठिन पर्दो हो भन्ने लाग्यो । मेरा आदेशबेगर हावा टक्क रोकिएको र पात पनि नहल्लिएको मात्रै हैन झ्याँउकिरी कराउन छाडेको र भुस्याहा कुकुर पनि भुक्न छाडेको देखेँ । अनि भनेँः जति अशक्त भए पनि अन्तसम्म हे.. प्यारे श्रीपेच, तँलाई धारण गरिरहन्छु । गोली बेगरको बन्दुक र शक्ति बेगरको श्रीपेचको के अर्थ र ? 

त्योबेलासम्म मेरो आफन्त र पराइ अर्थ फेरिइसकेका थिए । हुक्के, छाते, द्वारपाले, तामेल्दार, अमल्दार, हवल्दार, चाकर मात्रै हैन राजकवि, दरवारिलालका नयाँ फौज एकाएक रेडिमेड तयार भइसकेका । मेरा प्रशस्तीमा रचिएका कविता र गीत, नयाँ भाष्य कति लोभलाग्दा ! वा ब्यानर न्युज । के शक्तिको भक्ति यस्तै भएर श्रीपेचको महिमा बढेको हो ! 

शत्रु आफन्तका भेषमा हुन्छन् र कोखमा दाह्रा धस्छन् । त्यसैले सबैलाई विश्वास गरे पनि साँच्चै भनौँ भने सबैसँग शंका र डर लागिरहन्थ्यो । विश्वासिलो भित्रियासँँग कसको, कहाँ, के कमजोरी छिपेको छ भनेर सबैको चर गराउँथें । मौका नगुमाई अक्करमा ठक्कर दिएर भुतुक्कै पारिदिन्थे । विरोधीको जरो उखेल्न पहिला हाँगाबिँगा छिमोल्दै जान्थें । यसैगरी, मैले घमण्डी सिंहलाई स्याल बनाएको थिएँ । 

सबैको एक न एक दिन अन्तिम क्षण आउँछ, भन्ने हेक्का थियो । गोप्य खोपीमा भित्रियालाई बोलाएर आफ्नो अन्तिम इच्छा लेखाएँ– आजका इष्ट, भोलिका दुष्ट हुन् सक्छन् । इख त मैले विरोधी, दुश्मन र जोडिदारसँग सदा साँध्दै आएको हुँ । मौका चुकाएकै छैन । अरूले पनि त्यस्तो नगर्लान् भन्ने छैन । बाँचिन्जेल सबैसँग लड्छु । शत्रु, विरोधी र प्रतिस्पर्धीसँग त आफैँ लडौँला, मित्रको भेषमा आएका वैरीसँग जोगिने कसरी ! इतिहास निर्मम हुन्छ । चिन्तित छु । मरेपछि पनि दुश्मन त चुप रहन्नन् । हे, मेरा आफन्ती, अन्तिम पत्र पढ्ने प्यारा प्रजा …. मैले जेजति तिमीहरूका हितमा गर्न सकेँ.. गरेँ । सडकबाट उठाएर टोपीवाला बनाइदिएँ । त्यसको गुन तिरिदेऊ । एउटै बिन्ती ः अन्तिम क्षणसम्म, अन्तिम संस्कारसम्म मेरो श्रीपेच भने नफुकालिदेऊ । मैले लगाएको गुण यसैगरी तिर्न सक्छौ । मरेपछि पनि मेरो श्रीपेच अरूलाई लाउन नदिई संग्रहालयमा सुरक्षित राखिदेऊ’ 

यो मेरो सपनामय जिन्दगीका पीडादायी कथा थिए । राजा बन्ने र राज गर्ने योजना छिपेको थियो । हो, हिजै मैले राजकीय इखको भारतीय एउटा घटना पढेको थिएँ । त्यसैको असर सपनीमा परेको हुन सक्छ । शक्ति कसैको हुँदैन । छ्या, माया र आफन्तको अर्थ रहन्न । धर्म र कर्म पनि सत्ताको हितअनुसार हुन्छ । यो सपना आउनुको कारक अयोध्याको धार्मिक विवादमा भारतीय अदालतको फैसला र भारतकी फायर ब्रान्ड पत्रकार तवलिन सिंहको प्रसंग पनि हुन सक्छ । 

यसले मेरो दिल र दिमागलाई असर पारेर रन्थनाएको थियो । अयोध्या फैसला पुनर्विचारको याचिका भारतीय समाजमा गम्भीर बहस हुँदै जाँदा तर्क र प्रमाण एकातिर फैसलाको निचोड भिन्न कसरी आयो ? तवलिन हिन्दुअतिवाद र उग्र मोदी समर्थक एवं भाष्यकार हुन् । जब उनका छोरा आतिस ताशिरले मोदीबारे टाइम्स म्यागाजिनमा डिभाइडर इन चिफ लेखे तव उनीमाथि राजकीय इख साधन हुन्छ भन्ने आशंका थियो । सोही भयो । तवलिनले अहिले भन्न थालेकी छने । मलाई विश्वास नै छैन कि यस्तो प्रधानमन्त्री जसलाई मैले पूरै ५ वर्ष समर्थन गरेँ उसकै सरकारले मेरो छोरालाई देश निर्वासन गरिदियो ।’ धर्म र राष्ट्रवाद आवेगी विषय हुन् । धेरै देशका शासक यसैलाई भ¥याङ बनाएर सत्ताको सिढी चढ्छन् । अल्पमतप्रतिको घृणा यसका आधारभूत पक्ष हुन् । इतिहास शक्तिसँग जोडिएको हुन्छ । इतिहासको व्यवस्थापन अझ ठूलो खेल हुने गर्छ । 

कालाकोटे जर्नेलहरू सत्ताका शान्तिकालीन पहरेदार र यथास्थितिका रक्षक मात्र हुन्छन् । सामान्य विषयमा निष्पक्ष फैसला गर्न सके पनि जव शक्तिकेन्द्र नै कुनै विषयमा उल्झेको हुन्छ त्यस्ताबेला निष्पक्ष न्यायको अपेक्षा गरिनु राज्यसत्ताभित्र न्यायपालिका र कार्यकारीबीचको अदृश्य सम्बन्ध नबुझ्नु हो । सत्ताको अदृश्य हात र पहुँच हुन्छ । अंशमा टेकेर भावनामा भीडलाई बगाई समग्रमाथि आक्रमण गरिन्छ ।

तवलिनले जतिसुकै धार्मिक राष्ट्रवादको पक्षधर भएर जनमत बनाउने प्रधानमन्त्री मोदीको ‘दायित्व’ निभाए पनि ताशिरले टाइम्सको अग्रलेखमा भारतीय राजनीतिको तीतोसत्य लेखेका थिए । राजकीय ईष गोमनसर्पको विष भन्दा कडा हुन्छ । कुनै पनि बेला कुनै निहुँमा बज्रन सक्छ । ईखालु सत्ताधारीको बांगो नजरिया नेपाली पत्रकारले पनि नभोगेका हैनन् । 

जबसम्म सत्ता हातमा रहन्छ तबसम्म मात्रै आफन्तले घेर्ने हुन्, इतिहास बनाउन शक्तिलाई फुस्कन दिनु हुँदैन भन्ने सोच कसै कसैको होला । पुराना घटना तपशीलमा पुगेर बहसहीन बन्दै जाँदा सरकारलाई फाइदै पुगेको थियो । राजपुरको आफताब आलम केश पटाक्षेप त भयो तर त्यही जिल्लाको गौर सामुहिक हत्याकाण्ड न सरकारको चासो भयो, न सरोकारवालाले वास्ता गरे, न मिडियाकै चासोमा प¥यो । यो सत्तासमीकरणको खेल हो । सिण्डिकेट राजनीति र जोडिदारलाई तर्साउने, काबुमा राख्ने चाबुक हो । 

लिपुलेक घटना चिहानबाट इतिहास खोतलिँदै जाँदा ५७ वर्षदेखिको इतिहासको बल्ल समीक्षा हुँदै छ । मानसिक–दासता अस्विकार्ने नयाँ पुस्ताले कार्य, कारण र परिणामको विश्लेषण गर्दै नेताप्रति नयाँ धारणा बनाउँदै छन् । यसले शारदा ब्यारेज, सन् ०६२ को चीन–भारत युद्ध, लिपुलेकको सामरिक महŒव, महाकाली सन्धि र अवस्था, टनकपुर सन्धिको नयाँकोणबाट विवेचना गर्दै पात्र र प्रवृत्तिमाथि थप अध्ययनमार्फत् नेताहरूलाई कठघरामा पु¥याएको छ । 

अन्त्यमाः खबरदार । लिम्पियाधुरा र लिपुलेकको पहिलो जनगणना गर्ने भैरव रिसाल जीवितसाक्षी छन् । चीन–भारतबीच १९६२ को लडाइँँमा यसको सामरिक महŒव बुझेर भारतले हडपिने कोसिस गरेको हो । पहिला उसले अल्पकालीन उपयोगको सहयोग माग्यो, पछि हटेन भनेर कूटनीतिज्ञ भेषबहादुर थापाले भनिसके । यसमा जनताको सजगता र प्रतिरोधी चेत, भाव, सरकारको उच्च कूटनीतिक पहल समस्याको समाधान हुन सक्छ यो । चीन, भारत र नेपालको साझा सरोकार हुनुपर्छ ।
 

टिप्पणीहरू