​माननीयको गाउँपालिकामा अख्तियार

जनआस्था साप्ताहिकले साउन ८ गते गत आर्थिक वर्षको अन्त्यमा गुल्मीको इस्मा गाउँपालिकाले ६० लाख लागतमा २५ दिनमा सम्पन्न भएको सभाहलबारे समाचार प्रकाशन गरेपछि गाउँपालिका नै तरंगित बन्यो । समाचारकै कारण बुटवलबाट अख्तियारको टोली साउन २१ मा स्थलगत अनुगमन भन्दै आयो र सभाहल निर्माणसँग सम्बन्धित कागजात नियन्त्रणमा लियो । गत आर्थिक वर्षदेखि गुल्मीका प्रायः स्थानीय तहले सँगै अभियान थाले र भर्खरै श्रममन्त्री विष्टले मालिका गाउँपालिकाका दुईवटा वडालाई खरको छानामुक्त घोषणा गरेका छन् ।

यता, इष्मा गाउँपालिकामा भने खरको छाना भएकालाई मात्र जस्तापाता वितरण गर्ने नाममा पहिले नै जस्ता भएका वा पक्की घरवालालाई जस्ता वितरण गरिएको छ । खेलमैदान निर्माणका लागि इष्माको वडा दुई पालुवामा (खोलाकिनार) परेको ३६ लाख रूपैयाँँ ७० थान जाली भरेर र केही समय डोजर लगाएर स्वाहा पारियो । गत वर्ष प्रदेशबाट जनताको तटबन्ध कार्यक्रमअन्तर्गत छल्दी पनाहादेखि सिनुवाल घर्तीफाँटसम्मका लागि परेको ५५ लाख रुपैयाँ करिब डेढ सय थान जाली भरेर मात्र फरफाक गरिएको छ । यसका लागि वडा नम्बर २ का अध्यक्ष टीकाबहादुर रेश्मीले सर्वपक्षीय भेला राखी समिति बनाए । तर, गाउँपालिका अध्यक्षले यसलाई भंग गरिदिए । पैसा सकियो तर तटबन्ध पूरा भएन । 

जनताको तटबन्ध कार्यक्रमअन्तर्गत प्रदेशसभाबाट गुल्मी–२ मा करोडौंका योजना परेका छन् । यसको अनुगमन गरी चुस्त काम गराउने जिम्मा पाएका जिल्ला सिँँचाइ कार्यालयका सब¬इञ्जिनियर सुशील भुसाल, उपभोक्ता समिति र पार्टी कार्यकर्ताले मनग्य द्रव्य प्राप्त गरेका छन् । भुसाल अहिले दाङको भालुबाङ सरुवा भइसकेका छन् । 

शासकीय क्षमतामा राम्रा मानिएका र आशा गरिएका नेता मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा पनि विवादमा तानिएका छन् । उनले गत वर्षको अन्त्यतिर सार्वजनिक खरिद ऐनविपरित बोलपत्र आह्वान नै नगरी ५१ लाखको गाडी खरिद गरेका छन् । आफ्नै स्वामित्व रहेको सूर्योदय कन्स्ट्रक्सन नामक निर्माण कम्पनीलाई बिनाप्रतिस्पर्धा काम दिलाउने गरेका छन् । मुसिकोट नगरपालिकामै श्रीमतीको नेतृत्वमा सञ्चालित वास नामक खानेपानीसम्बन्धी आयोजनाको अवधि सकिएपछि त्यसका सम्पूर्ण कर्मचारीलाई नगरपालिकामा खानेपानी इकाइ खडा गरी समावेश गरेका छन् । एक नम्बर क्षेत्रको सत्यवती गाउँपालिकाले पनि गत वर्षको खर्च–आम्दानी सार्वजनिक गरेको छैन । उपभोक्ता समितिमार्फत सम्पन्न गर्नुपर्ने ४०/४० लाखका अश्लेवा खानेपानी आयोजना र खल्लुका रूख खेलमैदान निर्माण ठेक्कामा लगाइएको छ । सत्यवतीमा गत आव चालु र पँुजीगत गरी २४ करोड ३७ लाख बजेट विनियोजित थियो । 
 

टिप्पणीहरू