​प्रण गरे यहीँ फल्छ पुग्दो पैसा

भन्छन् नि अभागीको खप्पर जहाँ पुग्यो त्यहीँँ ठक्कर । खाटा बसिसकेको घाउ कोट्याएर त काम छैन । तैपनि, मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नै इतिहास । एकजुट भएर दश वर्षे सशस्त्र विद्रोह गरेको माओवादी आज छिन्नभिन्न भएर पाँच टुक्रामा विभक्त छ ।

त्यही माओवादी आन्दोलनको राप र तापमा परेर आमनेपालीले भोगेको तर खाटा बसिसकेको घाउको कथा हो यो । लमजुङको उत्तरी क्षेत्र साविक भुलभूले गाविसको छिङखोला भन्ने विकट गाउँ । ३४ वर्षअघि जन्मिएका हुन् उनी (विनोद गुरुङ) । १६ वर्ष पुग्दा नपुग्दै माओवादीको आरोपमा ०५८ सालमा तत्कालीन शाही सरकारको निशानीमा परे । माओवादी युद्धको मध्यकाल, संकटकाल घोषणा अनि शाही सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको युनिफाइड कमाण्डको ज्यादती । उता, गाउँमा माओवादीले युवालाई आफ्नो पार्टीको विभिन्न संगठनमा जबर्जस्ती हुलेका मात्र थिएनन् सताएर बसिखान दिएनन् । तिनताक उनी एसएलसीको तयारीमा थिए । राजनीतिप्रति खासै झुकाव पनि थिएन । तर, हावा नै त्यस्तै चलेको समय थियो त्यो । त्यही हावाका कारण राजनीतिप्रति केही वास्ता र झुकाव नभए पनि माओवादी दबाबलाई उनले थेग्न सकेनन् ।

उनीहरूले गाउँमै आयोजना गरेको कार्यक्रममा सहभागी बने । कुरा फागुनतिरको हो । माओवादीले आफ्नो कार्यक्रम सकेर छिन्नभिन्न भएको केही घण्टापछि सेना र प्रहरीको टोली पुग्यो ।  गाउँलेलाई हायलकायल बनायो । बृद्धभत्ता लिएकादेखि नाबालकसमेत त बाँकी रहेनन् भने १६ वर्षे विनोदहरू किन बाँकी रहन्थे ? दुई हप्ता कष्टकर हिरासतमा बसेपछि जेल चलान गरियो । तिनताका माओवादीको आरोपमा शिक्षक, विद्यार्थीले खचाखच भरिएको थियो जिल्ला कारागार । कारागारबाटै एसएसलसी दिए पनि गणितमा ब्याक लाग्यो । कारागारमा सूर्योदय भार्तेका अंग्रेजी शिक्षक वासुदेव अधिकारी पनि थिए । हिरासतमा छँदा सुरक्षाकर्मीले थिलथिलो हुने गरी कुटपिट गरेका कारण ६ दशक उमेर कटाएका अधिकारी गुरु बिरामी परे । उपचारका लागि माओवादी बन्दीले कारागार प्रशासनलाई अनुरोध गरे पनि तत्कालीन सिडिओ शिवप्रसाद नेपाल र सेनाका मेजर हिमांशु थापा बाख्राको हुलमा बाघ पसेसरी पसे र बन्दीहरूलाई निर्मम कुटपिट गरे । जुन दिन मुसलधारे पानी परेको थियो । काराबासपछि जेलमुक्त भएका उनले कास्की अमरसिंह माविबाट परीक्षा दिए । पुनः एसएलसी परीक्षामा सहभागी बने । र, उत्तीर्ण भए ।

मुलुकमा द्वन्द्व चर्किएकै थियो ।  यसक्रममा उनलाई माओवादीले आफ्नो सेनामा भर्ती हुन दबाब दिए । उनी सरकारको निगरानीमा तारिख धाउँँदै पनि थिए । नेपालमा बस्ने र पढ्ने वातावरण थिएन । गाउँबस्ती रित्तो बन्दै थियो । कति साथी माओवादीको आरोपमा मारिएका  थिए । रातदिनको पिरलो सहेर बस्नुभन्दा बिदेसिनु जाति ठानेर ०६१ तिर मलेसिया हान्निए । यता, पनि कथा दुःखैको भयो । बर्मा गए पनि कर्मसँगै भनिएको त्यसै कहाँ हो र ? त्यहाँ पनि पाइला–पाइलामा चोट र ठक्करहरूले पिरोल्न छाडेन ।  मलेसियामा रामै्र कमाइ हुने र सजिलो काम पाइने भनेर मोटो रकम तिरेर हिँँडेका उनले हिँडेकै दिनदेखि अनेकौं हण्डर खानुप¥यो । थाइल्याण्डसम्म उडेपछि मलेसियाको लागि प्लेन चढ्न पाएनन् । प्लेनको पर्खाइमा एकदिन रात खर्लप्पै ब्याँकक एयरपोर्टमा बिताएका विनोदलाई प्लेन भनेर एजेन्टले टे«नको डब्बामा पु¥यायो । ४८ घण्टा टे«नमा लगातार खानु न खुट्नु दौडिएपछि जिपको डिक्कीमा बाख्राको बीचमा बसेर मलेसियाको बोर्डर पु¥याइयो । त्यहाँ उनीहरूलाई लिन दुईजना एजेन्ट मोटरसाइकलमा खडा थिए । थकाइ छ । भोक छ । प्यास छ । तर, खानु केही छैन । बोर्डरबाट मोटरसाइकल चढेर उनीहरू मलेसियाको पेनाङ भन्ने ठाउँमा पु¥याइए । बंगुर पालनमा ४ सय रिंगेटमा काम पाए । बंगुरको खोरमा कष्ट सहेर काम गरे पनि तलब पाएनन् ।

आखिर नेपालको तावाबाट उम्किएको माछा, मलेसियाको भुंग्रोमा जाकियो । तलब माग्दा साहुले तेरो एजेन्टले पहिले नै लगेको भन्दै पुलिस लगाइदिने धम्की दिए । बिरानो ठाउँ, भाषाको अज्ञानता । धुरुधुरु रुनुबाहेक केही उपाय थिएन । आफ्नो गाउँ सम्झेको छ । फेरि माओवादी र सेनाहरूको चपेटाबाट दिनहँु निर्दोष मारिएका, कुटिएका, लुटिएका खवरले विक्षिप्त छ मन । आखिर जीवनमा सबथोक खानु तर हरेश नखानु भन्ने भनाइलाई मन्त्र बनाए । आत्मविश्वासले भरिपूर्ण बनाए आफैंलाई । विस्तारै भाषाको ज्ञान भएपछि आत्मविश्वासले भन्यो ‘उठ, जाग र व्युँझ नत्र यी दृष्टले सदैव कुल्चरहनेछन्, पैतालामुनि ।’ त्यही मन र आत्मविश्वासले पराइ भूमिबाट र दृष्टका कब्जाबाट उम्किने निर्णय गरे । भागेरै एक रेष्टुराँँमा मासिक ६ सय रिंगेटमा काम पाए । त्यहाँ माछा र गंगाटा काट्थे । काँधमा इमानदारी, मनमा जिम्मेवारी यही मूलमन्त्रले निरन्तर कर्ममै क्रियाशील भए । लगातारको पानीको बहावले चट्टान त पग्लन्छ भने मान्छेको मन नपग्लने कुरै थिएन । साहुको मन पग्लियो । उनको बढुवा भयो । माछा र गंगटो काट्ने कर्मबाट कुक भए । चाइनिज साहुले उनको इमानदारी, लगनशील देखेर उनलाई आफ्नै स्पोर्टस हाउसमा लगे । विनोदले त्यहाँ राम्रै दाम पाउनुका साथै काम पनि सिके ।

दश वर्षे लामो सशस्त्र युद्धको ताप त समाप्त भएको थियो । त्यसमा पूर्णविराम लागे पनि राप बाँकी नै थियो आफ्नै देश फर्किएर श्रम, रगत–पसिना बगाउने निर्णयमा पुगे र फर्किए जन्मभूमि । त्यही चाइनिज साहुकहाँ सिकेको ज्ञान व्यवहारमा उतार्दै छन् । विदेशका चोटले खारिएर स्पातिलो बनेका विनोदले झण्डै दशक मलेसियामा बिताएपछि बेंसीशहरमा युमिका स्पोर्ट हाउस सञ्चालनमा ल्याएका छन् । ०७२ सालदेखि यो नै जिल्लाको एक मात्र स्पोर्टस हाउस हो । जसले धेरै खेलप्रेमीमा रुचि र चासो जगाएको छ । उनी त्यहाँबाट आर्जन मात्र गर्दैनन्  । कमाएको अंशको १० प्रतिशत सामाजिक कर्ममा खर्चन्छन् । अहिले विभिन्न सामाजिक कार्यमा संलग्न छन् ।  दुई सन्तानको बाबुसमेत बनेका विनोद जिल्लामा हुने कुनै पनि सामाजिक कार्यमा पछि हट्दैनन् । आफ्नो कमाइको १० प्रतिशत असहाय बालबच्चाका लागि खर्च गर्ने योजना बनाएका तामाङ मस्र्याङ्दी युवा क्लब, लमजुङ ब्याडमिन्टनलगायत आधा दर्जन संघसंस्थामा आबद्ध छन् । 

अञ्जनकुमार हिमाली

टिप्पणीहरू