आफ्नै देश टेक्न विदेशीलाई कर तिर्दाको आत्मकथा
- नारायण नेपाल
झिल्टुङ गाउँका वृद्ध इन्द्रबहादुर घिमिरेले सोमेश्वर गढिको बाटोमा सुर्ती बोक्न जाँदा जोगीहरूले बनाएको बाँसको काँइयो बेचेर खाना खाएको प्रसंग सुनाएका थिए । त्यो सुनेपछि साहित्यकार एवं लेखक अनिल शर्मा विरही, पत्रकार सूर्य बरालसहित हामी नवलपरासी हुँदै बाल्मीकि आश्रमको यात्रामा हान्नियाँैं ।
गण्डक नदीको पुलमा भारतीय सीमा सुरक्षाकर्मी एसएसबीको कडा चेकजाँच पास गर्दै कर तिरेर उत्तर प्रदेश राज्यको पश्चिम चम्पारण पुग्यौं । एसएसबीको क्याम्प पुग्ने बाटो खोज्दै ताम्सा खोला किनारमा पुग्यौं । ताम्सा नेपाल–भारतको सिमाना हो । अगाडि नेपाली गेट थियो । जीर्ण र पहिचानविहीन सिमानामा आफ्नो देशको पहिचान देखाउन सक्दैन भने सिंहदरबारमा गाडेको राष्ट्रिय झण्डाले मात्रै कसरी बचाउँछ राष्ट्रिय स्वाभिमान ? बाल्मीकि ऋषिले यही स्थानमा बसेर रामायणको रचना गरेको, सीता यही स्थानबाट पाताल प्रवेश गरेको भनाइका आधारमा हिन्दु धर्मावलम्बीको महत्वपूर्ण स्थान यो क्षेत्रलाई मानिन्छ ।
राज्यको उपस्थितिको नाममा ६ जना पुलिसबाहेक कोही छैन । पहिले त सिमाना सुनाभद्रसम्म थियो । अहिले ताम्सा खोलासम्म आइपुगेको छ । ८१ वर्षीया सुकियादेवी माझीका अनुसार १२ बिघा क्षेत्रफलमा तारबार गरेर मन्दिरको नाममा संरक्षित सो क्षेत्रमा राजा महेन्द्रले सिमाना नमिचियोस् भनेर पाल्पातिरका केही व्यक्तिलाई लगी बस्ती बसालेका रहेछन् । अनि रामशरण गिरी नामक सन्यासीले जंगलमा छरिएको मूर्ति संकलन गरेर मन्दिर स्थापना गरेका रहेछन् । त्यसैको आधारमा आज जेनतेन बाल्मीकि आश्रमको नाम जोगिएको छ ।
धोबीको कुकुर घरको न घाटको भनेझैं न चितवनले हाम्रो भन्छ, न नवलपरासीले चिन्छ । हाल गर्दी गाविसमा जोडिएको छ यो ठाउँ । हामी नेपाली तर नेपालकै अर्को ठाउँमा जाँदा भारतलाई प्रतिव्यक्ति रु. २५ कर ति¥यौं । त्रिवेणीवासी यात्रीले प्रतिपटक रु. २५ प्रतिव्यक्ति र गाडीको रु.४०० कर तिरेर आफ्नै देश जानुपर्छ । यदि नारायणी नदीमा झोलुङ्गेपुल राख्न सकेको भए २ किमिमै त्रिवेणी घुम्न सकिने रहेछ । हेलिकप्टर चार्टर र प्राडोको सफर मात्र कटौती गरिदिएको भए त्यति पैसाले नारायणी नदीमा झोलुङ्गे पुल बन्न सक्ने रहेछ ।
मिर्मिरेमै शुरु भयो दर्दपूर्ण कथा
मातृभूमि लुटिँदै छ बल्झ्यो फेरि व्यथा ।
पत्रकारहरू पनि धेरै आए तर आजसम्म केही परिवर्तन भएको छैन । १५÷१६ घर परिवार, जडिबुटी, न्यूरो, च्याउ, दाउरा भारतीय बजारमा लगेर बेची गुजारा चलाउँदै छन् । बिजुली र राशन सबै भारतबाट ल्याउनुपर्छ । भारतीय डाँका लागेर आमा, दिदी–बहिनीहरूको अस्तित्व धेरै पटक लुट्ने प्रयत्न भयो । सबै जग्गा राष्ट्रिय निकुञ्जको नाममा छ । सिमाना मिच्न धेरै पटक एसएसबीले प्रयास गरे तर ती सुकुम्बासीले निरन्तर लडिरहे । आजभोलि पुलिस आएपछि अलि सजिलो भएको छ । भारतभरिका लुटेरा, डाँका, चोरहरू लुक्न आउने ठाउँ हो यो । ‘यहीं ५३ वर्ष बित्यो, धर्म त धेरै ग¥यौं जस्तो लाग्छ, कर्म पाइएन,’ यमबहादुले भने । नर्कटले बारेको र बाहिर माटोले लिपेको भुइँछाप्रो गुजुगुजु मन्दिरछेउको बस्तीभित्र ११ घरका ८४ जना छन्, जसका बाबुबाजेले यो देशको सिमाना जोगाउन महेन्द्रको आदेशलाई मानेर जंगलमा बस्न तयार भए । त्रिवेणी र बाल्मीकि आश्रम बचाउन लड्ने यिनका सन्तानले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सूचना सञ्चारविना जंगली सभ्यतामा बाँच्नुपर्ने हो २१ औं शताब्दीमा पनि ?
‘उनीहरूको लडाईं र झगडाले गर्दा आज नेपाली सिमाना ताम्साको किनारमा अडेको छ । एसएसबी क्याम्पमा सबै नेपाली मूलका भारतीयहरू छन् । बेला मौका पाउने बित्तिकै उद्दण्डता मच्चाउन आइपुग्छन् । ३६ कि.मि. वरपर जंगेपिलर देखिँदैन । माडीको सिमानातिर होला’, यमबहादुरले थपे । संस्कृति, पर्यटनको एउटा सम्भावनायुक्त स्थानलाई जोगाउन बेलैमा देशभक्त नेपालीले सोच्नुपर्ने देखिन्छ ।
त्रिवेणीको यात्रापछि सुस्तातिर लाग्याँैं । ०२३ सालबाट भारतीय आक्रमणको पीडामा पिल्सिएको रहेछ यो ठाउँ । २०३४ सालको नारायणी नदीको बाढीले ३ सय घरमधये ३३ घर बगायो, २६५ घर बाँकी छ । ६त् वटा वडा बगरमा परिवर्तन भएपछि अतिक्रमणको पीडा र भारतीय आतंकको निरन्तरता सामना गरिरहेको अब्दुलकलाम खाँले सुनाए । नारायणीको किनारमा डुङ्गा चढ्न लाग्दा भेटिएका उनले भने, ‘सुस्ताको माटोमा टेक्न आइपुग्नुभयो, यही खुशी छ । आज बासको बन्दोवस्त हामी मिलाउँछौं ।’
बुटवल आएका बखत राजा ज्ञानेन्द्रलाई बिन्तीपत्र हालेपछि एउटा सशस्त्र प्रहरी चौकी राखिएछ । अनि मात्र एसएसबी आतंक अलि नियन्त्रण भएको रहेछ । ‘वर्षासँगै नारायणीमा बाढी आउँछ, भारतको सिमानातिर पुगियो भने तेरै देशमा जा, तेरो सरकारलाई भन् भन्दै एसएसबीले हप्काउँछ । वर्षायामसँगै पीडाको त्रास बोकेर बाँचिरहेछौं’, अब्दुलले भने ।
टिप्पणीहरू