अध्यक्ष ओलीको नाम बेच्दै…

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको नाम भजाउँदै निजी लाभ लिने र पार्टी काममा यताको सिन्को उता नसार्ने टोलीले एकपछि अर्को उपद्रो मच्चाउँदै छ । ओलीनिकट भएर अध्यक्षको जिम्मेवारी पाएका ऐन महरका कारण विगतमा कम्युनिस्ट पार्टीको कार्यकर्ता उत्पादनमा अब्बल कारखाना मानिने अनेरास्ववियु अलमलमा परेको छ । नेकपाका अन्य सङ्गठनहरु एकता टुंग्याउँदै धमाधम कार्यसूचीअनुसार काम अगाडि बढाइरहेको बेला मिनी जनमतसंग्रह मानिने स्ववियु निर्वाचनको नेतृत्व गर्नुपर्ने संगठनको केन्द्रीय कमिटी नै नटुंगिदा आलोचना र असन्तुष्टिको चाङ बढेको हो । 

फागुन दोश्रो साता हुने स्ववियु निर्वाचन सत्तारुढ नेकपाकै भावी सङ्गठन अनेरास्ववियुले सार्न माग गर्नुपर्ने दिन आउन लागेको खतरा विद्यार्थी नेताहरुले औंल्याइरहेका बेला अखिल संयोजक महर भने बिदेश भ्रमणमा छन् ।

अध्यक्षको विलास मोह 

महर प्रायः संठनका कामभन्दा दरबारमार्गका क्याफे र होटलमा व्यस्त देखिन्छन् । उपराष्ट्रपति पुत्र दिपेश पुनको लगानी र बिलासिताको चर्चालाइ समेत महरले छायाँमा पार्दै करोड बढी मूल्य पर्ने फोर्डको बिलासी गाडीमा सयर गर्छन् । कफीदेखि रात्रिकालीन समयसम्म दरबारमार्गमा रहने महरले ओलीका नाममा प्रहरीदेखि विभिन्न आयोजना, ठेकेदार कम्पनी र ब्यापारीहरुलाई समेत प्रभावमा पारिरहेका छन् । विवादित चुरे क्षेत्रका प्राकृतिक स्रोत साधनका व्यवसायीदेखि, भन्सार तथा भ्याट छली गर्ने व्यवसायीसम्मको सेटिंगमा संलग्न भएको आरोप अखिलभित्रैबाट लागेको छ । विमानस्थल निर्माण कम्पनीहरु, सेना, प्रहरीको नेतृत्वसंग राम्रै सेटिङ गर्ने महरमार्फत नै वैदेशिक रोजगार व्यवसायीहरुले समेत सिधै केपी ओलीसम्म पहुँच राख्दै आफ्नो काम फत्ते गर्ने गरेको नेताहरु गुनासो गर्छन् । 

अखिलमा ओली निकट विनोद ढकाल सह इञ्चार्ज भएका कारण आफ्नो अनुकूलमा चल्न नपाएपछि महरले एकता नटुंग्याएर माओले पनि चीनमा १० वर्ष बैठक राखेका थिएनन् भन्दै संगठन यसैगरी चल्छ, चित्त नबुझ्नेले छोडे हुन्छ भन्न थालेको महर निकटकाले भन्न थालेपछि पूर्व उपाध्यक्षहरु र सहसंयोजक रञ्जित तामाङसहितको मोर्चा बनेर नेकपा सचिवालयका नेताहरुसमक्ष गुनासो गरेका छन् । 

टिप्पणीहरू