जाडोको जोखिम र सल्लाहको जोखिम
- राममणि सिटौला
केही वर्षअगाडि कामको सिलसिलामा बाराको रामपुर, टोकनी पुगेको थिएँ । शीतलहर चलिरहेको थियो । बस्दै जाँदा चियापसलका धुवाँधार नेता रामसेवकसँग परिचय भयो । उनी वर्तमान प्रधानमन्त्रीझैं घागडान तर्कबाज थिए । पत्रिकामा समाचार आएको थियो– शीतलहर र चिसोले मृत्यु । चिया पिउँदापिउँदै आक्रोशित मुद्रामा आए । यी मिडियाहरु पनि दिउँसै रात पार्ने समाचार लेख्छन् । चिसोले पनि कहीं मान्छेको मृत्यु हुन्छ ? सबैभन्दा चिसो त काश्मिरमा हुन्छ, खै त्यहाँको नवाब कहिल्यै मर्छ ? यो मृत्यु त गरिबीले भएको हो । तातो र न्यानो नपाएर भएको हो ।
शीतलहरले मान्छेको मृत्यु भइरहेको समाचार पढ्दा रामसेवक दाइको खुब सम्झना आउँछ । केही मौसमविद बौद्धिक विलास गर्छन्– हरेक मौसमको आफ्नो विशेषता हुन्छ । मान्छेले हरेक मौसमको आनन्द लिनुपर्छ । ठुल्ठूला विश्वविद्यालयबाट वातावरण विज्ञानमा डिग्री हासिल गरेका प्रकृतिप्रेमीहरु चटक्कै बिर्सिन्छन्– वर्गीय समाजमा अमूर्त कुराको पनि वर्गीय चरित्र हुन्छ । उनीहरुलाई थाहा छैन, यो देशको बहुसंख्यक जनसंख्याले गर्मीमा लूको मार खेप्नुपर्छ । वर्षातमा नालीमा सडेको दुर्गन्धित पानी घरमा पुग्छ । जाडोमा मुटु कठ्यांग्रिने चिसोले अकाल मृत्यु हुन्छ । उनीहरुसँग जाडो छल्ने कुनै चारा हुँदैन । यो समाजमा परजीवी पुँजीपति वर्ग र तिनीहरुका पिछलग्गू मध्यवर्गका मानिसको एउटा जमात छ, जो हरेक मौसमको मज्जा लिने अम्मलले ग्रस्त छ । उनीहरुसँग मजदुरका हाडमासु गालेर बनाइएका रेसादार ऊनीका गरम कपडा, कम्बल र इलेक्ट्रोनिक उपकरणहरु छन् । अवश्य पनि उनीहरु हिउँ र शीतसँग लुकामारी खेल्ने व्यसन पाल्न सक्छन् तर अर्को त्यस्तो मिहिनेतकश वर्ग पनि छ, जो घटिया स्तरको जुत्ता, चप्पल र ज्याकेट पहिरिएर हाडतोड मिहिनेत गर्न बाध्य छन् । तिनीहरुको निम्ति मृत्युको शरण पर्नुबाहेक अर्को विकल्प नै छैन ।
केही समययता ठण्डीको कहर बढेसँगै सरकारी र पुँजीवादी मिडिया विलाप गर्दै चिसोबाट बच्ने गुरुमन्त्र सुनाइरहेछन्– बाक्ला कपडा लगाउनू । अनुहार मास्कले ढाक्नू । पर्याप्त झोलिलो पदार्थ पिउनु । भिटामिन सीयुक्त फलफूल खानू । विद्यालय र कार्यालयबाट छुट्टी लिएर घरमा आराम गर्नू । यसो भनिरहँदा यो बिर्सिन्छन्– गुरु बन्न जति सजिलो छ, चेला बन्न धेरै कठिन छ । दैनिक काम गरेर गर्जो टार्नुपर्नेहरुले कतिखेर छुट्टी लिउन् ? ठेलागाडा ठेल्ने, वर्तन सफा गर्ने, कुडाकर्कट उठाउनेहरु कतिबेरसम्म घरमा आराम गरेर बसुन् ? दुई छाक टार्न पनि धौ पर्नेहरुले कसरी भिटामिन सीयुक्त खानेकुरा खाउन् ?
यहाँ एउटा त्यस्तो बुद्धिजीवी सञ्जाल छ, जसले मधेसका दुःखको पहाड उठाउने ठेक्का लिएको छ । मधेसमा दुःखको पछाडि उहिल्यै समाप्त भइसकेको खस साम्राज्य दोषी रहेको उनीहरुको ठहर छ । मरणासन्न पुँजीवादी आहालमा चुर्लुम्म डुबेका मधेसवादी बुद्धिजीवीहरु बुझ्दैनन् अथवा बुझेर पनि बुझ पचाउँछन्, मधेसको दुःखको पछाडि फाटेको दौरा र खोले सिस्नोको भरमा कष्टका पहाडहरु चढिरहेको खस साम्राज्यभन्दा मुनाफाखोरी पुँजीवाद कैयौं गुणा दोषी छ । उनीहरुका दोषी चश्माले देख्दैन– सडेको पुँजीवादी व्यवस्थाले मधेसको समग्र वातावरणलाई कसरी प्रदूषित बनाइदिएको छ ? यतिखेर मधेसका मानिसहरु प्रचारमा आएझैं चिसोले मात्र प्रताडित छैनन् । त्यो चिसोलाई कष्टकर बनाउने एउटा अदृश्य नली छ, जसलाई नकाटेसम्म यो झम्मार खेपिरहनुपर्छ ।
जाडोयाममा तराईमा बाक्लो कुहिरो लाग्छ । हप्तौंसम्म घाम लाग्दैन । शीतलहर चल्छ । हरेक साल बढ्दै गएको कुहिरोमा प्रदूषित धुवाँ मिसिएर लगातार सघन भइरहन्छ । यो अधिक भइसकेपछि स्मगको रुप धारण गर्छ । जसमा पिएम नामको खतरनाक करण हुन्छ । जुन १६० माइक्रोग्राम प्रतिक्युबिक मिटर पार गर्दै एउटा हृष्टपुष्ट मानिसलाई पनि थला पारिदिन्छ । यसले सबैभन्दा दमको बिरामीलाई आक्रान्त पार्छ । यसैको कारण छातीमा संक्रमण र आँखामा जलन शुरु हुन्छ ।
श्रमजीवीहरुको जीवनशैली कठिनाइ नै कठिनाइका बीच गुज्रिरहेको हुन्छ । जाडो महिना उनीहरुको निम्ति एउटा ठूलो चुनौती भएर देखा पर्छ । जुन महिनामा मानिसले चियाको गिलाससमेत समाउन सकिरहेका हुँदैनन्, त्यस्तो बेला उनीहरुले कारखानामा बाह्र घण्टा ड्युटी गर्नुपर्ने हुन्छ । सडक, पुल, घरहरु निर्माणमा जुट्नुपर्ने हुन्छ । तराईमा जो जो रिक्सा, टाँगाहरु चलाउँछन्, तिनीहरुसँग त बस्ने कोठा पनि हुँदैन । कुहिरो र शीतलहर परिरहेको रातमा पनि उनीहरु आफ्ना सवारीसाधनमा नै सुत्न बाध्य हुन्छन् । ठेक्कामा राखिएका सुरक्षा गार्ड र सफाइ कर्मचारीसँग चिसो झेल्नुबाहेक अर्को कुनै चारा हुँदैन । मजदुरहरु यी तमाम समस्याहरुबीच स्मगजस्तो नयाँ समस्यासँग जुध्न विवश हुन्छन् । स्मग विश्वव्यापी समस्या भए तापनि विकसित देशहरु यसप्रति सजग छन् । उनीहरु अल्पविकसित र अविकसित देशको हड्डी निचोरेर आफ्नो देशलाई राहत दिन्छन् ।
कार्बन मनोअक्साइड, नाइट्रस अक्साइड, क्लोरोफार्मजस्ता ग्रिन हाउस पैदा गर्ने घटिया स्तरका पेट्रोल, डिजेलजस्ता ऊर्जाहरु यता पठाउँछन् । आफूचाहिँ उच्चस्तरको डिजेल, पेट्रोल, ग्यास, सौर्य ऊर्जा, वायु ऊर्जा र आणविक ऊर्जाको प्रयोग गर्छन् । नेपालको तराई क्षेत्रका बारा, पर्सा, रौतहट, सिरहा, सुनसरी औद्योगिक क्षेत्रका निम्ति प्रसिद्ध छन् ।
जहाँ ग्रिन हाउस पैदा गर्ने यस्तै तल्लो स्तरको ऊर्जाको प्रयोग गरिन्छ । डाबर, कृष्ण घिउ, जगदम्बा स्टिल, दुगडका उद्योगहरु भएको बारा, पर्सामा बिनाफिल्टरवाला चिम्नीबाट विषालु धुवाँ निस्किरहन्छ । त्यसका मालिकहरुका आवासीय क्षेत्रबाट जुन फोहोर निस्किन्छ, त्यो मजदुर बस्तीमा लगेर व्यवस्थापन गरिन्छ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्टअनुसार विश्वका प्रदूषित शहरहरुमधये तराईका यी भूभागहरु पनि पर्छन् । विश्वमा दुई अरबभन्दा बढी बालबालिका प्रदूषित हावामा सास फेर्छन् । यसमा ६२ करोड बालबालिका दक्षिण एशियाका छन् । त्यसमध्ये नेपाल पनि एउटा छ । प्रदूषणले हरेक तप्कालाई आक्रान्त पार्ने भए पनि यसको मार मजदुरले बढी झेल्नुपर्छ ।
यो मौसममा अधिकांश धनाढ्यहरु वातानुकूल (एयर कन्डिसन) को प्रयोग गरेर कोठा न्यानो पार्छन् । तर कमैलाई थाहा छ, एयर कन्डिसनमा क्लोरोफार्म नामको ग्यास प्रयोग गरिन्छ । यसलाई छिचोलेर सुदूर अन्तरीक्षका ताप र विकीरण धर्तीसम्म त आइपुग्छ तर यसलाई भेदेर धर्तीको तापक्रम भने सुदूर अन्तरीक्षसम्म पुग्न सक्दैन । फलतः धर्तीमा जाडोमा अधिक जाडो र गर्मीमा अधिक गर्मी हुन्छ । जस्तो कि ग्रिन हाउसभित्र बाहिरका तापक्रम प्रवेश गर्न सक्दैन ।
क्लोरोफार्म त्यस्तो ग्यास हो, जुन वायुमण्डलमा पत्रैपत्र भएर जम्मा भइरहन्छ, वर्षौंसम्म नष्ट हुँदैन । केही वर्षदेखि बढ्दै गएको यो अत्यासलाग्दो चिसोले यसै तथ्यलाई इंगित गर्छ । पुँजीपतिको मुनाफाका रकमले चलेका केही गैरसरकारी संस्था शीतलहर पीडितप्रति गोहीको आँसु झारिरहेछन् । मजदुरका हड्डीलाई क्याल्सियमको धुलो बनाएर बजारमा बेच्न पल्किएका परजीवी पुँजीपतिहरु कम्बल बाँड्नेजस्ता नौटंकी प्रदर्शन गरिरहेछन् । ‘सौ चूहा खाके बिल्ली हज करने चली’ लाई चरितार्थ गरिरहेछन् । जनवादी भनिने सरकारको चाला पनि मुखमा रामराम, बगलीमा छुरा चरित्रको छ । उसले आफ्नो वर्गीय पक्षधरता देखाइरहेको छ ।
शीतलहरपीडितप्रति सहानुभूति दर्साउने सरकारले यसो भन्ने हिम्मत गर्न सक्दैन– मजदुर बस्तीलाई तिम्रो औद्योगिक क्षेत्रका कुँडाकर्कट फ्याँक्ने बिनाफिल्टरका चिम्नी प्रयोग नगर, जनस्वास्थ्यलाई प्रतिकूल असर पार्ने घटिया स्तरको ऊर्जा प्रयोग नगर । आखिर किन भन्थ्यो ? कम्युनिष्ट सरकारलाई पनि अर्को चुनाव जित्नु छ । त्यसका लागि पैसा चाहिन्छ, जसको जोहो यिनीहरुले नै गरिदिन्छन् । मिडियाहरुमा पर्यावरण जोगाउने बहस चलिरहेका छन्, त्यो बहस त्यतिखेर नांगेझार हुन्छ, जब बहसको बीचमा लक्जरी कारको विज्ञापन आउँछ । फूलका गुच्छाको सट्टा मिनरल वाटरका बोतलले सजाइएको भव्य सेमिनार हलमा पृथ्वीको तापक्रम जोगाऊँ भन्ने बहस गर्दागर्दै जाडो भएपछि एयरकन्डिसन चालु गरिन्छ । जबसम्म स्वार्थ र मुनाफाखोरीमा आधारित पुँजीवादी व्यवस्थाको अन्त्य हुँदैन, तबसम्म शीतलहर र ग्लोबल वार्मिङमाथिको बहस निरर्थक हुन्छ ।
टिप्पणीहरू