के हो, के हैन, हिंसा ?
- वैकुण्ठ ढकाल
घटना एक
१४ सिटे बसमा यात्रु भरिभराउ हुने नै भयो । कालिमाटी पुगेपछि शिरदेखि पाउसम्म कालै वस्त्रले भरिएकी श्वेत वर्णकी नारी चढिन् । सिटमै टाँसिएर उभिइन् । कार्यालय समय सडक जाम नै थियो । बसमा झकाउन पुगेछु । गालामा नरम वस्तु रगडियो । एक पटक हैन बारम्बार दोहोरियो । थापाथली कलेज पुगेपछि सिटबाहेक तीन जना मात्रै यात्रु भयौं । कुनै पनि पुरुष यात्रुको गालामा वा अन्यत्र कहीँँ पनि नरम वस्तु रगडिनुपर्ने थिएन । तर, रगडियो ।
कार्यालय पुगेर बसमा भएको घटना सरर टाइप गरी पुरुष साथीलाई म्यासेन्जरमा पठाएँ, ती साथीले तत्काल लेखे, फोन नम्बर माग्नु पर्दैन त ?
यही कुरा अर्को एक महिला साथीलाई पठाएँ, उनले यस्तो हुनै नसक्ने बताइन् । जानीजानी कुनै पनि स्त्रीले यसो गर्नै नसक्ने दाबी गरिन् ।
यो स्थितिलाई हिंसा मान्ने कि नमान्ने ? यहाँ पात्रको भूमिका फेरिदिने हो भने के होला ? अझ सोझै भनौं, पुरुषको गाला स्त्रीको शरीरको कुनै भागमा पर्दो हो भने के हुन्थ्यो होला ?
घटना दुई
सोल्टिमोडबाट एक महिला बसमा चढिन्, ढोका नजिकैको ठाडो डण्डीमा अडेस लागिन् । पंक्तिकारसँगै सिटमा बसेको केटो हत्तपत्त उठेर, उनी उभिएकै ठाउँमा गई ढेस्सियो । सोचेँँ ओर्लिने बेला आएर ढोका नजिकै उभिएको होला । हैन रहेछ । केटो झन् बेस्सरी चेप्कियो । महिलाको देखिने गरी कुनै प्रतिक्रिया आएन । अनुहारको भावभंगी कस्तो थियो, देखिएन । कलंकी पुगेपछि दुबै ओर्लिए । पंक्तिकार पनि ओर्लियो, ती पात्रहरूलाई पछ्यायो । चोकमा पुगेपछि केटो ढुंगेअड्डापट्टि लाग्यो, महिला खसीबजारतिर लागिन् ।
यहाँ पनि प्रश्न– केटो त्यसरी किन चिप्कियो, महिलाले किन देखिने गरी प्रतिकार गरिनन् ?
घटना तीन
नेपाल यातायातको यात्रा कस्तो हुन्छ, चढ्नेहरूलाई भनिरहनु पर्दैन । कार्यालय समय कोटेश्वरबाट पुतलीसडकमा वकिललाई भेट्न हिँडेकी एक महिला, सँगैको सिटमा आएर ६९ वर्षका वृद्ध आएर बसे । उनको हात यसरी चल्यो, कुरै नगरौं । बसमा चढेका यात्रुलाई समेत ती बूढाबाको हर्कत थाहा भइसक्यो । आफूलाई पनि अप्ठ्यारो । संयोग ती बूढा मान्छे र म झर्ने एकै ठाउँ रहेछ । नजिकैको चिया पसलमा बोलाएर लगें, चिया अर्डर गरेपछि, अघि बसको यात्राको क्रममा के गरेको बा त्यस्तो भनेर सोधें ? ती बा सामान्य अवस्थामा आएर भने– कहिलेकाहीँ के हुन्छ, हुन्छ ? बेहोसीमै त्यस्तो गर्दोरहेछु । धन्न तिमी बुझकी रहेछौ, सायद रोग हो कि ? मैले नै बुझ्न सकेको छैन ।
एक हप्तापछि ती बा सल्लाघारीमा भेट भए, घर त्यहीँँ रहेछ । बाटोमै भेटेर, घर जान निकै आग्रह गरे । अघिल्लो पटक बसको घटना सम्झें, अप्ठ्यारो मानीमानी घरभित्र गएँ । आलिशान घर, डेकोरेशन पनि त्यस्तै । बैठक कोठामै लगेर राखे । आमनेसामने भएर लामै कुराकानी भयो । ती बाकी श्रीमतीको निधन भएको १० वर्ष भएछ । सरकारी नोकरी गरेका, विदेशस्थित नेपाली दूतावासमा लामो समय काम गरेका । कानुनी पृष्ठभूमिका मान्छे, केही पुस्तकहरूका लेखक । यौवनदेखि श्रीमतीको मृत्यु हुनु अघिसम्म पनि निकै सक्रिय जीवन रहेछ । समग्र बसाइको निचोड ती बाले आफू गलत नियतको हैन भन्ने पुष्टि गर्नमै खर्चिए ।
तर, बसमा किन ती महिलाको तिघ्रा हुँदै गोप्य ठाउँतिर हात बढाए ? यो कस्तो प्रकारको समस्या हो ?
घटना चार
सूर्य ग्रहण लागेको दिन । सडक खाली खाली नै थियो । बस पनि खाली नै । पंक्तिकार तेस्रो यात्री । ए साइडको सेकेण्ड लाष्ट सिटमा कलेजको पोशाकमा एक जोडी विद्यार्थी थिए । बी साइडको सेकेण्ड लाष्टमा पंक्तिकार । केटोले पकेटबाट स्नेकर निकाल्यो र मुखमा हाल्यो, अनि मुख केटीतिर लम्कायो । केटीले पनि मुख नजिकै ल्याएर आधा स्नेकर भोको स्नेकले भ्यागुतो तानेझैं सासले नै तानिन् । स्नेकरको चक्कर सकियो । केटीलाई फोन बारम्बार आइरहेको थियो । एक दुई वाक्यमै संवाद सक्काएकी थिइन् ।
केटो केटीसँग गाला जोडेर संवाद सुनिरहेको थियो । अलि पछि फोन आउन छाड्यो । केटो केटीको तिघ्रामा हात राखिरहेको थियो । कुहिनो पुग्न नहुने ठाउँमा पुगेको थियो । सायद केटीलाई पनि यो कुरा पहिलेदेखि नै थाहा थियो । अनि झट्कारेर केटोको हात हुत्याइदिइन् । अनि दुबै हात क्रस गरेर काखीमुनि राखिन् । केटोको अनुहार रातोपिरो देखियो । केटी बसको झ्यालपट्टि फर्किइन् ।
यहाँ पनि प्रश्न त उठ्छ, के यी गतिविधि जायज थिए ? उनीहरू मिल्ने साथी हुन् वा साथीभन्दा माथि नै सार्वजनिक यातयातमा यस्ता गतिविधि स्वाभाविक होला ?
घटना पाँच
यो यहाँ उल्लेख भएमध्ये सबैभन्दा ताजा घटना । पुसको दोस्रो शुुक्रबारको बेलुकी आठ बजे सोल्टी होटल अगाडिको सडकमा थियो । मभन्दा त्यस्तै पाँच मिटरअगाडि मात्रै त्यस्तै ५० हाराहारीको पुरुष थियो । विपरीत दिशाबाट एक महिला आउँदै थिइन् । दुई जना ठ्याक्क क्रस हुने बेला पुरुषले महिलाको हिपमा आवाज आउने गरी नै प्याट्ट हिर्काएर हिँड्यो । ती महिलाले पनि मुख छाड्दै त्यो पुरुषलाई लखेटिन्, ती पुरुष गल्लीभित्र पसेर, केहीबेरमै हराए । महिलाको मुहारमा क्रोध प्रष्टै देखिन्थ्यो । त्यो पुरुषको हर्कतले पंक्तिकारको शिर पनि निहुरियो ।
यी घटनाको व्याख्या विश्लेषण फरक–फरक होलान् । यसो हुनुको कारण मानिसका आ–आफ्नै समस्या होलान् । पीडक, पीडित होलान् । पीडाको मात्रा फरक होला । यसले पार्ने प्रभाव पनि फरक होला । अल्पकालीन वा दीर्घकालीन । काठमाडौंको सडक सुरक्षित छैन, सार्वजनिक यातायात पनि सुरक्षित छैन भन्ने अर्थ पनि होला । त्यति मात्रै हैन एउटै कलेजमा पढ्ने, सधैं एउटै बसमा र सँगैको सिटमा बसेर यात्रा गर्ने साथीबाट पनि असुरक्षित हुने स्थिति बनेको छ ।
माथिकै घटना हेरिरहँदा पनि दुव्र्यवहार कति भयानक छ भन्ने देखिन्छ । हिंसाका अनेक रूप देखिएका छन् । नेपालमा पछिल्लो पाँच वर्ष कस्ता–कस्ता हिंसा भए र त्यसको तथ्यांक के छ । एक पटक केलाऔं ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने बलात्कारका घटनामा दोब्बर वृद्धि भएको छ । ०७१/७२ मा ९८१ वटा बलात्कारका घट्ना हुँदा ०७२/७३ मा यस्ता घटना १ हजार ८९ पुगे । यसैगरी ०७३/७४ मा ११ सय ३१ बलात्कारका घटना सतहमा आउँदा ०७४/७५ मा यो संख्या १४ सय ८० पुगेको थियो । र, ०७५/७६ मा त झण्डै दोब्बर बढेर २२ सय ३१ बलात्कारका घट्ना भएका छन् ।
यसबाहेक गएको पाँच वर्षमा जबर्जस्ती करणीको तथ्यांक पनि डरलाग्दो छ । ०७१/७२ मा ५ सय ६२ वटा जबर्जस्ती करणीको प्रयास भएका थिए । ०७२/७३ मा त्यो संख्या अलिक घटेर ४५२ झरेको थियो । तर, ०७३/७४ मा बढेर फेरि ५३६ पुग्यो । ०७४/७५ मा झनै बढेर सात सय २७ पुग्यो । र, ०७५/७६ मा ७९२ वटा बलात्कारका प्रयास भएको तथ्यांक प्रहरीले निकाल्यो ।
महिला बेचबिखनका तथ्यांक पनि गएको पाँच वर्षको चिन्ताजनक अवस्था छ । ०७१/७२ मा १८१ महिला बेचबिखनमा परे । ०७२/७३ मा त्यो संख्या बढेर २१२ पुग्यो र ०७३/७४ मा त्यो संख्या अझै बढेर २२७ भयो । यसैगरी ०७४/७५ मा ३०८ जना महिला बेचबिखनमामा पर्दा यो संख्या ०७५/७६ मा २४७ थियो ।
घरेलु हिंसाबाट पनि महिला पीडित छन् । तथ्यांकअनुसार ०७१÷७२ मा ४३ जना बोक्सीको आरोपमा कुटिए । ०७२/७३ मा त्यो २८ मा झर्याे । ०७३/७४ मा २४ वटा यस्ता घट्ना घटे । तर, ०७४/७५ मा दोब्बर बढ्यो, बोक्सीको आरोपमा कुटिने र हिंसामा पर्नेको संख्या ४८ पुग्यो । ०७५/७६ मा बोक्सीसम्बन्धी ४५ घटना सतहमा आए ।
यसैगरी, ०७१/७२ मा ८ हजार २ सय ६८ वटा घरेलु हिंसा भए । अर्को वर्ष ०७२/७३ मा त्यो संख्या ९ हजार २ सय ९८ पुग्यो । अनि ०७३/७४ मा ११ हजार ६२९ वटा घरेलु हिंसा देखिए । ०७४/७५ मा १२ हजार २ सय २५ रहेको तथ्यांक ०७५/७६ मा १४ हजार ७ सय ७७ पुग्यो ।
समस्या बालविवाहको पनि छ । तथ्यांक अनुसार ०७१/७२ मा २३ वटा बालविवाह भए । ०७२/७३ मा यो संख्या २० मा पुग्यो । यसबाहेक ०७३÷७४ मा २६ वटा बालविवाह गराइए । ०७४/७५ तीन गुणाले बढ्यो र ६२ पुग्यो । अनि ०७५/७६ मा ८६ वटा बालविवाह भए ।
हिंसाका रूप अनेक छन् । कतिपय अवस्थामा आफूमाथि भइरहेका हिंसालाई हिंसा नदेख्नेहरू पनि छन् । आफूले गरेका कतिपय व्यवहार हिंसा हुन् भन्ने पनि थाहा नभएको हुन्छ । अस्वाभाविक नजिकिनु पनि हिंसा नै हो । अपराध गर्ने मात्र हैन, अपराध सहने पनि दोषी हुन् भनी बुझ्ने हो भने सबै प्रकारका हिंसा कम हुन अवश्य पनि सहयोग पुग्नेछ । हिंसाबिरुद्ध बोल्नका लागि हिंसाविरुद्ध अभियानको साइत नै कुर्नु पर्दैन ।
टिप्पणीहरू