दाइ र भाइ भोटचाहिँ कसलाई ?
मध्यमाघ, अर्थात् चिसो मौसममा हुने राष्ट्रियसभा निर्वाचनमा अचम्मको राजनीतिक उष्णता देख्न पाइनेछ । कतै नाता, कतै राजनीति, कतै जात मिलाउन तालमेल गरिएको छ । कतैचाहिँ दूतावासको दबाबले पनि काम गरेको बताइन्छ ।
प्रसंग हो, प्रदेश २ को । नेपाली कांग्रेसले क्लष्टर मिलाएरै उम्मेदवारी दिएको छ । नेकपाको अवस्था अपेक्षाकृत अनुशासित पाइए पनि समाजवादी पार्टीले दलितअन्तर्गत सर्लाहीका स्थापित राजनीतिज्ञ रामप्रित पासवानलाई उठाएको छ । तर, राजपा र समाजवादी फोरमले एउटै आमाका दुई सन्तानलाई टिकट दिएका छन् । राजपाबाट मृगेन्द्रकुमारसिंह यादव र समाजवादीबाट उनैका भाइ अनिरुद्रप्रसाद सिंह यादव । घरायसी झगडाले गर्दा टिकट फुत्किएको हो । ०७४ को संघीय र प्रदेशसभा निर्वाचनमा अनिरुद्रले सप्तरीबाट आशा गरेका थिए । तर, रेणु यादव हावी भइन् ।
‘यादवहरूको’ भनी चिनिएको उपेन्द्रको पार्टीले सप्तरीको उक्त क्षेत्रबाट संघीय संसदका लागि रेणु र प्रदेशसभाका लागि उनैका छोरालाई उम्मेदवार बनायो । त्यसपछि अनिरुद्र विद्रोह गरेर बसे । अहिले राजपाले मृगेन्द्रकुमार सिंहलाई छानेको छ । उनी अन्तिम पञ्चायत सरकार (मरिचमान) को मन्त्रिपरिषद्मा शपथ गर्न नपाएका व्यक्ति हुन् । नाम घोषणा हुँदा भारतमा थिए, शपथ खान स्वदेश फर्किंदासम्म व्यवस्था नै ढलिसकेको थियो । त्यसैको तुषले ०६३ मा मधेसी जनअधिकार फोरमतिर लागे । फोरम फुटेपछि गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरममा पसे । त्यही पार्टीबाट कृषिमन्त्री पनि भए । ०७४ मा राजपाबाटै उठेर हारे । त्यहीँ नै राजपाले शेखर सिंहलाई समेत टिकट दिएको छ । यिनी अर्का पप्पु हुन् । सप्तरीमा पञ्चायतकालका एक नम्बर मण्डले भनेर चिनिन्छन् ।
अञ्चलाधीशको गाडी नगुडुञ्जेलसम्म सँगै हिँड्ने, विरोधीका घर देखाउने र समाउन लगाउने यिनको धन्दा थियो । बहुदल आएपछि राप्रपामा लागे, टिक्न सकेनन् । पहिला–पहिला भारतीय दूतावासले विद्यालयहरूलाई अनुदानस्वरुप सीधै पैसा दिने चलन थियो । तर, डा.रामशरण महत अर्थमन्त्री भएपछि सीधै पैसा दिन मानेनन् । उपभोक्ता समिति बनाउनुपर्ने र त्यसले पेश गरेको प्रस्ताव दूतावासले स्वीकृत गरेपछि जिविसमार्फत पैसा जाने व्यवस्था गरियो । त्यसरी बाटो, स्कुल, स्वास्थ्यकेन्द्र बनाउन दूतावासको तर्फबाट ठेकेदारमा यिनै शेखर तोकिए । उनले सुनसरी, सप्तरी, धनुषा र सिराहाका दशदेखि पन्ध्र करोडसम्मका सबै परियोजना अलपत्र पारेका छन् । यसरी पैसाको बलमा क्रस भोटिङ भयो र शेखरले बाजी मार्न सके भने संसदमा अर्का पप्पुको प्रवेश हुँदैछ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा यिनका छोरा अध्यक्ष छन् । त्यहाँ लामो समयदेखि तालाबन्दी छ । अख्तियारले भ्रष्टाचार आरोपमा फाइल खिचेर लगेको छ । शेखर पहिला शरद्सिंह भण्डारीको पार्टीमा उपाध्यक्ष थिए । पछि राजपामा पनि उपाध्यक्ष नै रहे ।
टिप्पणीहरू