​बालिका ‘बलात्कार’ मा डामिए बिदेशी

विदेशी पाहुनाप्रति नेपालीको श्रद्धा, सम्मानभावलाई दुरुपयोग गर्दै यहाँ कहिले चिनियाँले बैंक ह्याकिङ त कहिले युरोपेली–अमेरिकी पर्यटकले बाल यौनदुराचारजस्तो निकृष्ट काम गरिरहेका छन् । 

यसैक्रममा अस्ति ३९ वर्षीय अविवाहित अमेरिकी नागरिक ९ देखि ११ वर्षसम्मका तीन बालिका र केही बालकलाई यौन दुराचार र जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका निम्ति थुनामा पठाइएका छन् । १२ वर्षदेखि ५६७४७२५३५ नम्बरको राहदानीमा निरन्तर नेपाल आउने–जाने गरेका ४० वर्षीय ज्यासन लोेयड मुडीको किस्सा हो यो । नेपाल आएको बेला सिनामंगल वरिपरीका होटलमा बस्ने गर्थे । त्यहीँका कवाडी संकलन गर्ने मधेसी समुदायका बालबच्चालाई होटलका कोठामा बोलाउने, चकलेट खुवाउने । त्यसक्रममा तीन बालिकामध्ये दुईटीलाई कोसिस गरेर, एउटीलाई बलात्कार नै गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंसिर २२ गते सिनामंगलस्थित मेमोरियल गेष्ट हाउसको कोठा नं. १०४ बाट उनलाई पक्राउ र बालबालिकाको उद्धार गरेको थियो । प्रहरीले उनीबारे २७ दिन अनुसन्धान गरेपछि गत साता जिल्ला अदालतमा पेश ग¥यो । आइतबार र सोमबारको दुईदिने थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

स्वदेशीको हकमा तीन वर्षभन्दा बढी कैद हुने कसुर भए जेल चलान हुने कानुनी व्यवस्था छ । विदेशीको हकमा भने एक वर्षभन्दा बढीलाई जेल चलान गरिन्छ । यदि ज्यासनले उच्च अदालत पाटनमा पुनरावेदन गरेर पनि दोषी ठहर भए भने आजन्म काराबासको सजायँ भोग्नुपर्छ । उनले अदालतमा आफूले ती बालबालिकालाई मोटरसाइकलमा लगेर घुमाउने, चकलेट, लुगा दिने गरेको, अर्थात् माया गरेको बताएका छन् । त्यसलाई यौनशोषण भन्न नमिल्ने उनको जिकिर थियो । ज्यासनले अदालतको बन्द इजलाशमा दोभाषेको सहारामा सुँक्सुकाउँदै भनेका थिए, ‘मैले माया गर्ने कुरा तिनका बाबुआमालाई पनि थाहा थियो । यदि गलत मनशाय राखेको भए किन आफ्ना केटाकेटीलाई मकहाँ आउन दिन्थे ?’

उनीविरुद्ध बालबालिकाका अभिभावकबाट जबरजस्ती करणी उद्योग र बाल यौनदुराचारमा जाहेरी दर्ता भएको थियो । उनलाई पुर्पक्षका निम्ति जेल चलान गर्ने आदेश सिराहाबाट भर्खरै काठमाडौं आएका न्यायाधीश प्रकाश ढुंगानाले सुनाएका हुन् । उनको तर्फबाट एकजना महिला र एक युवक वकिलले बहस गरेका थिए । मुडीका अनुसार सिआइबीले थर्काएर बयान लिएको थियो । ‘यु…..अमेरिकन…’ भन्दै सिआइबीका एकजना अधिकारीले ‘तँलाई जसरी पनि थुन्छु’ भनी बयान लिएको उनले अदालतमा बताए । इजलाशबाट सोधियो, ‘सिंगो अमेरिकी जातिविरुद्ध उत्तेजित हुने गरी सिआइबीका प्रहरीको तपाईंसँग कुनै व्यक्तिगत दुश्मनी थियो ?’ उनले जवाफ दिए, ‘त्यस्तो त होइन श्रीमान् !’

पीडित बालबालिकाले दिएको बयानमा ज्यासनले पटक–पटक आफू बस्ने होटलमा लगेको, उनी नांगिएर आफूहरूलाई पनि नांगिन बाध्य बनाएको बताएका छन् । अहिलेको फौजदारी कानुनअनुसार, बलात्कार ठहर हुन स्त्री जातिको यौनांगमा पूर्ण रुपमा प्रवेश आवश्यक मानिँदैन, घर्षणकै आधारमा पनि बलात्कार ठहर हुने व्यवस्था छ । चिकित्सकले स्वास्थ्य परीक्षण रिपोर्टमा बलात्कार हुने अवस्थाबारे केही रिपोर्ट नदिए पनि पीडित बालबालिका र होटल कर्मचारीको बयानका आधारमा ज्यासनलाई तत्कालका लागि दोषी करार गरिएको हो । ज्यासनले भनेका छन्, ‘सम्बन्ध थियो । माया गरेको हो । शोषण गरेको होइन ।’ 

टिप्पणीहरू