यी मान्यचाहिँ समातिनु नपर्ने ?

आमनागरिक भएको भए यतिखेर पक्राउ परिसक्थे । तर, अराजकता र उद्यण्डता सिर्जना गर्न सक्ने भएपछि कसको के लाग्छ ? यस्तैमध्ये पर्छन् कांग्रेसी सांसद अभिषेकप्रताप शाह । उनलाई अनुसन्धानका लागि समात्न पुर्जी जारी भएको साताभन्दा बढी भइसक्दा पनि पक्राउ परेका छैनन् । प्रहरी पनि मुकदर्शक भएर बसेको छ । प्रहरी सकभर आफैं उपस्थित होउन् भन्ने चाहन्छ । तर, उनी तत्कालै हाजिर हुने मानसिकतामा छैनन् । अदालतले पक्राउ गर्न दिएको अनुमति कागज प्रहरीले फाइलमा थन्क्याएको छ ।

कपिलवस्तु ३ बाट निर्वाचित शाहविरुद्ध कृष्णनगर नगरपालिकाका श्याम मिश्राले ज्यान मार्ने उद्योगमा इप्रका कृष्णनगरमा जाहेरी दिएका थिए । घटनाको १२ दिनपछि बिहीबार अबेर मुद्दा दर्ता भएको हो । शुक्रबार पक्राउ पुर्जी जारी भयो । मिश्रालाई शाहसँगै उनका सवारीचालक सोनु कहार भन्ने शशि कश्यपले बोलाएर कोठामा थुनी भक्कु चुटाइ गरेका थिए । सख्त घाइते भएपछि चालकले बजारमा अलपत्र छाडेर भागे । अस्पतालमा घाउचोटको जाँँच गराएका उनको मुद्दा शुरुमा प्रहरीले दर्ता गर्न मानेन । पछि केन्द्रको दबाबमा दर्ता भयो । 

कृष्णनगरमा शाह खानदान एक छत्रराज गर्न चाहन्छ । विभिन्न पार्टीमा भए पनि प्रभुत्व कायम गर्न भित्रभित्र सबै मिल्छन् । मिश्राले गत स्थानीय निर्वाचनमा कृष्णनगर नगरपालिका प्रमुख पदमा राम्रो मत ल्याए । जनताले रुचाउन थालेपछि उनी शाह परिवारको आँखी बन्दै आए । उनी भोजपुरी कलाकार हुन् । ‘घटनामा आफ्नो संलग्नता छैन’ सांसद शाहले उतिखेरै विज्ञप्ति निकालेका थिए । शाह ३ पटक चुनाव जितेपछि घमण्डी बनेका छन् । २ पटक फोरमबाट, अहिले कांग्रेसबाट । परिवारको उन्माद छ । त्यही भएर पटक–पटक विवादमा तानिन्छन् ।

विरोधीलाई देख्नै सक्दैनन् । तर्साइहाल्छन् । उनको उरन्ठेउलो बानीबाट जिल्लाका कांग्रेस नेता पनि आजिद छन् । बद्री सिग्देलले टीका लगाएर बनाएका प्रेस युनियनका अध्यक्ष गोपाल भण्डारी उनको अघोषित प्रेस सल्लाहकार हुन् । भण्डारीले नै आफू नजिक सीमित पत्रकारलाई शाहविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता भएको र पक्राउ पुर्जी जारी भएको समाचार लेख्नबाट रोके । उल्टै सांसद शाहलाई सत्तारुढ दलले रिसइबीमा फसाउन थालेको समाचार लेख्न लगाए । कृष्णनगरमा शाहको अगाडि कोही बोल्न सक्दैनन् । एक आध मुस्लिमसँग भने उनी डराउँछन् । नभए सबैलाई गाली गरेरै जितेका छन् ।

कारबाही माग गर्दै राप्रपाले विरोध कार्यक्रम पनि गरेको थियो । जिल्ला प्रहरी प्रमुख दीपसमशेर जबरा बिदामा छन् । निमित्त डिएसपीमा सुनिल मल्ल छन् । दुवै जना ठकुरी हुन् । शाह पनि आफू ठकुरी परिवारकै हुँ भन्छन् । 

यसअघि पनि सांसद शाहमाथि सन् २०१२ डिसेम्बर १८ मा कृष्णनगर भन्सार कार्यालयका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा सावर्जनिक अपराधमा मुद्दा चलेको थियो । जनवरी ४ मा जगदीशपुरबाट पक्राउ परे । अर्को दिन प्रशासनले थुनामा राख्न ५ दिन म्याद थप ग¥यो । फोरम कार्यकर्ता र प्रहरीबीच प्रशासन कार्यालयमै घम्साघम्सी भयो । लाठीचार्ज भयो । प्रशासन कार्यालय तनावग्रस्त भयो । फोरम कार्यकर्ता घाइते भए । तत्काल प्रशासनले थुनामा राख्ने निर्णय बदर ग¥यो । ५ हजार धरौटी माग्यो । सादा तारेखमा छाड्यो । नेता–कार्यकर्तालाई सँगै लिएर घर फर्किए ।

टिप्पणीहरू