सस्तो श्रममा नेपालीलाई नै किन सेकिन्छ ?
राममणि सिटौला
अठारौं शताब्दीमा विश्वभरि दासप्रथा थियो । अमेरिका तथा युरोपमा दासहरूको निर्वाध खरिद बिक्री हुन्थ्यो । हब्सी तथा निग्रोको हातगोडामा हत्कडी र नेल ठोकेर व्यापारीद्वारा जमिन्दार तथा पुँजीपतिको हातमा बेचिन्थ्यो । यो वीभत्स व्यापारविरुद्ध केही उदार आत्मा उठे । थोमस पेन, शार्प ग्रा विल, क्लार्कनजस्ता महापुरुषहरूले आन्दोलन चलाए । १८३४ मा गुलामहरू मुक्त भए । यसैको संशोधित रुपमा भारत तथा नेपालतिर कुल्ली प्रथा शुरु भयो । तत्कालीन उपनिवेश सरकारको अनुरोधमा भारत तथा नेपालका धेरै कुल्ली मिर्च टापु, जमैका आदि स्थानतिर पु¥याइए । राणा तथा पञ्चायतीकालमा धेरै गरिबका छोरालाई प्रलोभनमा पारेर गल्लावालहरूले मुग्लान कटाए ।
विश्वबाट आज दासप्रथा, कुल्ली प्रथा अन्त्य भएको छ र पनि त्यसका जन्मदाताले रंगीचंगी वस्त्र पहिराएर कलात्मक रुपले फेरि खडा गरेका छन् । गल्लावालको भूमिका ठेकेदारहरूले निभाइरहेका छन् । आज ठेकेदारी प्रथा व्यवसायको रुपमा नभएर कलाको रुपमा उदाएको छ । ज–जसले यो कला हासिल गरेका छन्, तिनीहरूले चाँदी नै काटेका छन् । समाजको कुनै पनि क्षेत्र त्यस्तो छैन होला, जहाँ ठेकेदारको पाइला नपरेको होस् । आज हरेक काम ठेकेदारको राजमार्गबाट गुज्रिन्छ । सिमेन्टमा बालुवा मिसिएझैं हरेक क्षेत्रमा यिनीहरूको मिसावट छ । साहित्यजस्तो पवित्र क्षेत्रमा पनि ठेकेदारीको लठैती चल्छ । सबैभन्दा ठेकेदारीको बाहुपासले गाँजेको क्षेत्र हो– वैदेशिक रोजगारी ।
आजको नेपाललाई नयाँ नेपाल भनेर दाबी गरिएको छ । यहाँ ठुल्ठूला बहस चलिरहेछ । युरोपको लोककल्याणकारी राज्यदेखि रुस र चीनको समाजवादी जनवादी मोडेलसम्मको चर्चा भइरहेछ । मानौं कि नेपालले अग्रगमनको मामिलामा विश्वलाई उछिनिसक्यो । नयाँ नेपालका नागरिकहरूको वैदेशिक रोजगारीको नाममा आफैंले पैसा तिरेर हब्सी र निग्रोझैं खुलेआम बिक्री भइरहेछ । आज खाडी तथा अन्य मुलुकमा गएका प्रवासी मजदुरहरू पूर्वी पहाड विशेषतः अरुण नदीले सिञ्चन गरेका संखुवासभा, भोजपुर, धनकुटालगायतका जिल्लाहरूमा एउटै भाका गुञ्जिन्छ, आयो लाहुरे बुट जुत्ता कसेर, गयो लाहुरे खरानी घसेर । त्यहाँका एकजना लिम्बु तीतो पोख्छन्– म्यानपावर एजेन्टहरूका मिठाससामु कालाकुट विष पनि फेल हुँदा रहेछन् । म्यानपावर एजेन्टहरूले मीठा मालपुवा देखाइदिए– खाने–बस्ने राम्रो सुविधा छ । कम्पनीको नियमअनुसार ओभरटाइम पाइन्छ । औषधि उपचारखर्च कम्पनीले नै व्यहोर्छ । स्वास्थ्य बिमाको पनि सुविधा छ । के के न सोचेर विदेश गयो तर त्यहाँ त घाँटीमा तरबार झुण्ड्याएर काममा लगाइँदो रहेछ । यातनापूर्ण कडा कामका कारण मेरो त मानसिक सन्तुलन नै गुम्यो । एजेन्टका मीठा मालपुवा साइनाइडका गोलीभन्दा पनि चर्का भए । यो तमाम प्रवासी मजदुरहरूको पीडा हो । उनीहरूलाई त्यस्तो श्रम शिविरमा बस्न बाध्य पारिन्छ, जहाँ एउटा सुँगुर पनि बस्न हिच्किचाउँछ । उडेको चरोसमेत खस्ने अरबको चर्को गर्मीमा मजदुरहरूले कसरी काम गर्लान् ?
आखिर खाडी मुलुकमा किन नेपाली कामदार मागिन्छ ? त्यो बुझ्नको निम्ति सबैभन्दा पहिला तेलको भण्डारबाट प्राप्त पेट्रोडलरमा टिकेको विशेष किसिमको पुँजीवादलाई बुझ्न जरुरी छ । अरब देशमा तेलको खोज बीसौं शताब्दीबाट भयो । साठीको दशकमा विदेशी कम्पनीको दबदबा थियो । शाह र शेखहरूले सत्तरीको दशकतिर तेल उत्पादनलाई राष्ट्रियकरण गर्न थाले । तेल बिक्रीबाट प्राप्त राजश्व निर्माण एवं सेवा क्षेत्रमा लगाए । जसले गर्दा स्थानीय पुँजीपतिहरूले फल्ने फुल्ने अवसर पाए । हतियार र प्रशाधनको आयात पनि बढ्न थाल्यो । व्यापारीहरूले बैंकमा पुँजी लगानी शुरु गरे । त्यहाँको खाडी बैंकले प्रत्यक्ष राजतन्त्रको निगरानीमा राजश्व व्यवस्थापनको जिम्मा सावरेन वेल्थ फण्ड नामका निजी क्षेत्रको कम्पनीलाई दियो । अमेरिकी शेयर बजारमा लगानी पनि शुरु ग¥यो । खाडी देश संसारको मुख्य वित्तीय केन्द्रको रुपमा देखाप¥यो । यो विशेष प्रकारको पुँजीवादले मजदुरको मागलाई ह्वात्तै बढाइदियो । जसलाई परिपूर्ति गर्न ऊ प्रवासी मजदुरमाथि निर्भर रहने निश्कर्षमा पुग्यो । जसको एउटै कारण छ– अल्पविकसित देशका प्रवासी मजदुरहरूलाई अधिक शोषण गर्न सकिन्छ । हड्डी निचोरेर काममा लगाउन सकिन्छ । बोसो पेलेर तेल बनाउन सकिन्छ । अरब देशको मजदुरी कैदीले गर्नेसरहको मजदुरी हो । प्रवासी मजदुरलाई नियन्त्रण गर्न त्यहाँ काफला प्रणाली लागू गरिन्छ ।
यो त्यस्तो नियन्त्रित प्रणाली हो, जसले हिटलरको नुुरेमबर्गलाई समेत माथ खुवाउँछ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले त यसलाई दास प्रथाको अर्को रुपमा परिभाषित गरेको छ । यहाँका म्यानपावर एजेन्सीका एजेन्ट, ठेकेदार, दलालहरूले मीठो चारा फ्याँकिदिन्छन्– लाखौं कमाइ हुन्छ । आरामदायी जिन्दगी प्राप्त हुन्छ । तर, ऊ त्यतिखेर कैदखानामा परेको महसुस गर्छ, जब पासपोर्ट जफत गरिन्छ । प्रायोजकको अनुमतिबिना न त कुनै कम्पनीमा काम गर्न सक्छ न फर्किन नै सक्छ । बिरामी भए बेतलवी बिदामा सुत्न सक्छ, मृत्यु भए बाकसमा फर्किन सक्छ । बाबु, आमा, आफन्त जोसुकैको मृत्यु होस्, लाखौं बिन्ती गरुन् । बरु ढुंगा पग्लिएर मैन होला, उनीहरू पग्लिँदैनन् । मिसन पूरा नगरी फर्किने चान्स नै छैन । जबर्जस्ती फर्किन खोजे चौटा खान गएकी बूढी झोलमा डुबेर मरीको अवस्था हुन्छ ।
खाडी मुलुक कतार जहाँ २०२२ को विश्वकप आयोजना हुँदै छ । जुन देशलाई विश्वकपको जिम्मा दिएकोमा फिफाका अधयक्ष साप ब्लेटरसमेत विवादमा मुछिए । त्यहाँ तातो धुपमा काम गरेका कारण कैयौं नेपालीले ज्यान गुमाइसकेका छन् । मानवअधिकारको अवस्था रुग्ण भएको देशलाई किन विश्वकप आयोजना गर्न दिइयो ? जहाँ अझै पनि प्रवासी मजदुरहरूलाई आप्रवासन नियन्त्रण प्रणाली काफलाअनुसार काममा लगाइन्छ ।
केही समययता छाएको विश्वव्यापी मन्दी र तेलको मूल्यमा गिरावटका कारण खाडीको पेट्रो डलरमा आधारित पुँजीवादी व्यवस्था धर्मराउने संकेत देखापर्न थालेको छ । सिरिया र यमनजस्ता देशमा जारी द्वन्द्वका कारण सिंगो अरब अस्थिरताबीच गुज्रिरहेछ । त्यहाँका जनतामा पनि शाह र शेखहरूका विरुद्ध असन्तोषका ज्वालाहरू भुसको आगोजसरी सल्किँदैछ । यो परिदृश्यमा लाखौं नेपालीका रोजगारीमाथि संकट बढ्ने खतरा छ । खाडी मुलुकमा रोजगारी कुल्ली प्रथाको अर्को संस्करण हुँदाहुँदै पनि नेपालीको बाध्यता छ । नेपाल सरकार भ्रष्टाचार, कुशासनमा साँढेभन्दा उन्मत्त छ तर युवाहरूलाई रोजगारी दिलाउने सवालमा खसी पारेको बोकोसरह छ । यही पेरिफेरीमा अब एकपटक फेरि भूमण्डलीकृत पुँजीवादको मुकुण्डो उघ्रिँदै छ ।
टिप्पणीहरू