धराप छ हजुर, अहिलेको सम्बन्धमा

कसैले विवाहलाई नै पेशा बनायो भने के होला ? बिहे गर्ने, पैसा माग्ने, नदिए मुद्दा हाल्ने । यस्तै धन्दामा संलग्न एक युवतीले अहिलेसम्म आधा दर्जन ग्राहक (दुलाहा) फेरिसकिन् । उमेरले तीन दशक टेक्न लाग्दा झण्डै आधा दर्जन बेहुला फेर्ने यी अहिले घर न घाटको हालतमा छिन् । स्कुल पढ्दैदेखि सिनेमाप्रति औधि रुचि । गाउँमा यही सिने नगरीकै नक्कल गर्दै फन्दामा परिन् । बच्चामा गरिएको कच्चा प्रेमका कारण मान्छेको जिन्दगी कसरी घर न घाटको बन्न पुग्छ त्यसको उदाहरण हुन् उनी । 

 स्कुले तह अध्ययन गर्दै गर्दा गाउँमा चलचित्र बन्ने भयो । र, नाम जुराइयो आमा । आमाका लागि पात्र खोजियो । खाइलाग्दो जिउडाल र कपाल पालेका राजेश हमालको फ्यान थिए सञ्जय विक । यो कथामा अभिनय गर्ने मुख्य पात्र उनैलाई रोजियो । उनी थिए राजेश हमालको रोलमा । र, करिष्मा बनेर अभिनय गर्ने पात्रका रूपमा छानियो विनिता आचार्यलाई । 

एक साता लगाएर खिचिएको आमा चलचित्र कतै प्रदर्शन भएन । न पोष्टर  बन्यो न त छापियो पम्प्लेट । तर, यही चलचित्रमा अभिनय गरेका कारण केटीको चरित्रमाथि कालो धब्बा लाग्यो । जीवनमा मडारियो कालो बादल । तल्लो जातको केटासँग घुलमिल गरेको भन्दै नानाथरी लाञ्छना लगाइयो । कुरा काटियो । दुवै एउटै विद्यालय एउटै कक्षामा अध्ययनरत । सहपाठी, विद्यालय परिसरदेखि गाउँघर र पानी पँधेरामा हल्ला चल्न थाल्यो । चलचित्रमा श्रीमान्÷श्रीमतीकै भूमिकामा अभिनय गरेपछि के चाहियो ? एक कान, दुई कान, मैदान ! 

प्रेम र युद्धमा हर कुरा जायज हुन्छ भनिन्छ र प्यारले जात, उमेर, धर्म केही हेर्दैन । विनिताको हालत ठीक त्यस्तै थियो, सञ्जयको प्यारको अगाडि दिवाना भइसकेकी थिइन् । जहाँ पुगे पनि सँगै, जता गए पनि सँगै । गाउँभरि हल्ला र टिप्पणीले छोरीले त बदनामी कमाएकै थिइन् बुबाआमा र आफन्तलाई नाक जोगाउनै सकस । त्यही कारण नमागे पनि सल्लाह दिनेको भीड बढ्दै गयो । समाज यस्तै न हो । सहयोगी हात भेट्नै मुस्किल । नमागे पनि निःशुल्क सल्लाह दिने हजार भेटिन्छन् । अधिकांशको राय थियो, छोरीले बुबाआमाको इज्जत माटोमा मिलाउने भई । तत्कालै कसैको टाँसो लगाइदिए जाति । रातारात तयार पारियो स्वजातीय केटा खोजेर । पहिलो पत्नीले छोडेकी । केटीको पिता छोरीलाई टाँसो लगाउने तयारी गर्दै थिए । विवाहको टुंगो लागेको भोलिपल्टै केटी सुइँकुच्चा ठोकिन् । एकातिर विवाहको मिति तोकिसकेको अवस्था, अर्काेतिर बेहुली बेपत्ता । बाबुआमाका लागि योभन्दा अर्काे तनाव कति हुनु ? तावाबाट उम्केको माछा भुंग्रोमा परेको हाल भयोे । 

सञ्जय पहिलादेखि मामाको शरणमा थिए । क्षेत्रपाटीमा अवस्थित उनकै सुन पसलमा काम गर्दै । तन टाढा भए र के भयो मोबाइलले मन जोडेको थियो । उनैलाई सोध्दै खोज्दै विनिता पुगिन् । दुबैले पीडाको पहाड पोखे । सञ्जयका मामा आफैं अन्तरजातीय प्रेम विवाह गरेका । मामा उदार देखिए । बस्न छहारी दिए आफ्नै कोठा । उता गाउँमा बुबाआमा छोरी हराएको सुर्तामा । केटी एउटा गाउँको, केटी पल्लो गाउँको । केटाको बुबाआमालाई सबै थाहा थियो । छोराले बाहुनीको छोरी जो उडाएको थियो । त्यो त्यसबेलाका लागि क्रान्तिकारी कदम थियो । त्यही कारण हो केटाको बाबुआमा र आफन्तले कलिलै उमेरमा विवाह गरेकामा गाली गरेनन् । बरु उल्टै बाहुनकी छोरी भगाएकोमा बहादुरीका लागि धन्यवाद दिए । क्याबात गरिस् भन्दै बधाई दिए । 

जब कामबाट फुर्सद मिल्थ्यो विनिता र सञ्जयको जोडी कहिले बालाजु बाइसधारा, कहिले स्वयम्भू त कहिले जावलाखेल घुम्न पुग्थ्यो । काठमाडौंको घुम्नलायक पार्क घुमिसकेको थियो यो जोडीले । विनिता सानैदेखि फोटोजेनिक । खिचिएका फोटा धुलाउन बालाजुस्थित नागार्जुन कलर ल्याबमा पुगे । त्यही ल्याबमा काम गर्थे केशव न्यौपाने । जब उनले आफन्ती विनिताको फोटो देखे तीनछक्क पर्दै घरमा खबर गरे । अब आफन्तलाई छोरी उनै सञ्जयसँग रहेको पत्ता लगाउन गाह्रो परेन । आफन्ती सीधै सञ्जयका मामाको सुन पसल खोज्दै क्षेत्रपाटी पुगे । उनलाई त्यहीँ भेटेपछि केटीका बाबुले कठालो समाउँदै झापड हाने । घिच्याउँदै त्यहाँबाट सिधै नयाँबजारस्थित केटाकै कोठामा पु¥याए । त्यहीँ थिइन्, शृंगारपेटार गरेर बसेकी विनिता । रिसको झाेंकमा छोरीलाई पनि पिट्न बाँकी राखेनन् । र, सोही दिन केटीलाई लिएर उनीहरू फर्किए त्रिशूली । जहाँ केटीकी दिदी प्रमिलाको गेस्ट हाउस थियो । एक साताको बीचमै विवाह गर्नेका लागि अर्काे वर तयार भयो । केटो त्यहीं ब्यारेकमा कार्यरत । पहिलो श्रीमतीले छाडेर गएपछि दोस्रीको खोजीमा रहेको । केटालाई केही थाहा थिएन । केटीको रूप हेर्दा धपक्क बलेको । औंशीको रातमा पनि मुहारको त्यो चमकले छेक्लाजस्तो । केटा त्यसै रूपमा जल्यो र सहजै स्विका¥यो । ०७५ साल मंसिरमा यी दुई बाँधिए विवाह बन्धनमा । बेहुलाले घरमा भिœयायो । अघिल्लो रात एउटै बिच्छ्यौनामा सुतेकी श्रीमती भोलिपल्ट बिहान बेडबाट गायब । विवाहको भोलिपल्ट बिहानै ससुरालाई ज्वाइँले फोन गरे । ससुरा सोच्दै थिए, सञ्चो बिसञ्चोको हाल सोध्न वा पञ्चरातमा आउने वा सोह्रै रातमा ससुराली आउने विषयमा कुरा हुन्छ होला । तर, काम्दै ज्वाइँले फोनमा सोधे, ‘बुबा, छोरी त्यता आएकी छ ?’ 

गाउँघरका मान्छे लौ वित्यांस पर्ने भो भन्दै नववधूको खोजी गर्न थाले । फोनमा ज्वाइँको आवाज सुन्नेबित्तिकै बाउले त भेउ पाइहाले । एउटा फुल फुट्यो, खेर गयो भन्दै छोरीप्रति माया मारिदिए । एकोहोरो बाबुआमाले छोरीप्रतिको माया देखाएर के गर्नु ? छोरी अरू कसैको माया र प्रेममा डुबेपछि ? त्यसैले त भनिन्छ नारीको चरित्रलाई सेतो कपडा । एक पटक चरित्रमा दाग लाग्दा जिन्दगीमा कतिसम्म सास्ती र हण्डर खानुपर्छ । छोरीले इज्जतमाथि लगाइदिएको धब्बा त्यसमाथि आफ्नै भनिएकाहरूको छेडवचन सबै सहनुसिवाय केही गर्नै सक्दैनथे आफन्त । यता, बाउआमामाथि घात गरेर शहर भित्रिएकी विनिताको झन् बेहाल भयो । तावाबाट त उम्किइन् तर खसिन् भुंग्रोमा । त्यो केटीप्रतिको माया र प्रेम थिएन । यदि थियो भने सहारा खोजेर आएकी केटीलाई स्विकाथ्र्याे । केटाले अरूले सिन्दूर हालेकाले आफूले स्विकार्न नसक्ने बताइदियो । तिमीलाई स्विकार्न सक्दिनँ, अर्कै बाटो रोज भनेर पन्छिएपछि विकल्प केही थिएन । पेट पाल्नका लागि मैतीदेवीस्थित  एउटा गार्मेन्टमा काम गर्न थालिन् । 

गार्मेन्टमा कार्यरत थिए बैतडीतिर घर भएका केशव पुडासैनी । उनको रूपमा केशव पग्लँदै गए । मनको नेटवर्क मिलेपछि उनीहरू अन्ततः विवाह गर्नेसम्मको अवस्थामा पुगे । केशवलाई उनको विगत केही थाहा थिएन । जान्ने कोसिस पनि गरेनन् । सिउँदोमा सिन्दूर र गलामा तिलहरी नदेखेपछि विनितालाई अविवाहित ठाने । विवाह गर्न चाहेको मनसाय प्रकट गरे । तर, उनले थाहै पाएनन् देखिएका सबै सत्य हुन्छन् र नदेखिएका कुरा झुट । जता फर्कियो जिन्दगीले उतै चोट, उतै ठक्कर दिएको । विनिता मन मिल्ने जीवनसाथीको खोजीमा थिइन् । यो जोडीले विवाह गरेको नौ महिना बितेको छैन । केटीले केशवलाई थाहा पत्तो नदिई पासपोर्ट बनाइन् ।

विदेशमा भएका आफ्ना भिनाजुलाई भनेर भिसा पठाउन लगाइन् । केशव दिनभर काम गर्थे, थाकेर फर्कन्थे । यो बीचमा उनले विनितालाई काम गर्न दिएका पनि थिएनन् । तर, भित्रभित्रै तयारी गरेर विवाह गरेको नौ महिनामा केशवको आधा लाख चप्काएर उनी खाडी मुलुक पुगिन् । एउटै कोठामा, एउटै बिछ्यौनामा सुतेको लोग्नेले केही चाल पाएनन् । पछि उनी विनिताको खोजी गर्दै कलंकी पुगे । त्यहाँ सावित्री आचार्यको कोठा थियो । केशवले चिनेजानेको विनिताको गाउँले र आफन्त भन्नु उनै सावित्री थिइन् । उनैको कोठामा बहिनी हराइन्, आएकी छे कि भन्दै पुगेका उनी त्यतिखेर छाँगाबाट खसे जब आफ्नै लगानीमा आफ्नै श्रीमती आफंैलाई थाहा पत्तो नदिई बिदेसिएको खबर तेस्रो मान्छेको मुखबाट सुने । अहिले सुनिँदै छ विनिताले चितवन घर भएका र रोजगारीको सिलसिलामा त्यतै पुगेका पुरुषसँग विवाह गरिसकेकी छन् । त्यसैले भनिएको होला, पुरुषले चाहे कहिले–कहिले । महिलाले चाहे एकै क्षण । 

– विजया पौडेल, त्रिशूली बट्टार 

टिप्पणीहरू