पत्नी बटुल्ने कमरेडको प्रमोशन

कारबाहीको डण्डा बर्साउनुपर्नेलाई पुरस्कृत गर्नकै लागि थियो १० वर्ष सशस्त्र जनयुद्ध लडिएको ? यही हो सशस्त्र संघर्षको महान् उपलब्धि ? यौनजन्य तथा घरेलु हिंसामा आरोपित एक विद्यार्थी नेतालाई गत साता नेतृत्वको दबाबमा पुरस्कृत गरिएको छ । अब प्रश्न उठ्छ, के एमाले र माओवादी मिलेपछि बनेको नयाँ पार्टीले बहुविवाह गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको हो ? 

पुस १८ गते अनेरास्ववियुले एकीकरण टुंग्याउँदै ३ सय ३५ सदस्यीय केन्द्रीय समितिको नाम सार्वजनिक ग¥यो । एमालेनिकट पूर्व अनेरास्ववियुबाट १ सय ८० र पूर्व माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)बाट १ सय ५५ जना त्यहाँ अटाए । यस्तै २१÷२१ सदस्यीय निर्वाचन, अनुशासन र लेखा आयोगका सदस्यहरूको सूची टाँसियो । सूचीमा अनेरास्ववियुले कुनै थपघट गरेन तर क्रान्तिकारीबाट टाइप मिस्टेक भएको भन्दै तीनवटा नाम रातारात केन्द्रीय कमिटीमा घुसाइएको छ । यसरी छुटपुट भन्दै पछि घुसाइएका पात्र हुन् प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका माहिला छोरा तुकमान । जोमाथि पत्रकार पत्नीमाथि हिंसात्मक व्यवहार र दुई सन्तानप्रतिको घोर बेवास्ता गरेको उजुरी छ ।

सोही उजुरीका कारण उनी कार्यरत अनेरास्ववियुको नेतृत्वबाट शुरुमा नाम काटिएको थियो । एकीकरणपूर्व पूर्वअखिल क्रान्तिकारीमा उपमहासचिव थिए । सर्लाहीतिरकी तामाङ्नी च्यापेर बच्चासमेत जमाई जेठी पत्नीमाथि हिंसा गरेको आरोपमा एकीकृत संगठनको नेतृत्वबाट वञ्चित गरिएका उनले यही आइतबार दिउँसो राष्ट्रिय सभागृहमा पुगेर शपथ लिएका छन् केन्द्रीय सदस्यको रूपमा र अहिले धमाधम फेसबुकमार्फत् बधाई खाँदैछन् । यसरी यिनलाई केन्द्रीय सदस्य बनाइँदा सह–संयोजक रञ्जित तामाङकै निकटस्थ तीन जना विद्यार्थी नेतालाई विभिन्न आयोगतिर ठेलेर बहुविवाह गर्नेको सम्मानका खातिर बलिको बोको बनाइएको छ । यिनलाई केन्द्रीय कमिटीमा ल्याउने नाममा रवि बस्नेत, विनोद बराल र बिमल तामाङलाई शहीद बनाइएको हो ।

विनोद कार्यालय सचिवको हैसियतमा कार्यरत थिए । विमल धादिङका जल्दाबल्दा विद्यार्थी नेता हुन् । त्यहाँ तुकमान एक जनालाई मात्र छिराउँदा अरुको कान ठाडो हुने भयका कारण नारायण खनाल र सूर्य घर्तीहरूकोसमेत नाम थपथाप पारिएको बताइन्छ । हिजो बहुविवाह गर्नेहरूलाई भाटा हान्दै हिँँड्ने पूर्वमाओवादीको बाटो परिवर्तन भएको हो ? या ठूलाको छहारीमा बसेकाहरूले जति बाटो बिराए पनि तिनलाई केही कारबाही नहुने हो ? यो विषयमा जनआस्थाले रञ्जित तामाङसँग सोध्दा ‘तुकमान अनेरास्ववियुको नयाँ कमिटीमा नभएको’ जिकिर गरे । पार्टीको विद्यार्थी फाँट (अनेरास्ववियु) का इञ्चार्ज हितमान शाक्यले त यसबारे मुखै खोलेनन् । उनले महराले शपथ खाएको इन्कार गरिरहँदा उनैबाट शपथ खाएका तुकमानहरू भने धमाधम बधाई खाइरहेका छन् । 

टिप्पणीहरू