राष्ट्रपति आउन अन्तिममा रोकावट
देशमा एउटा तनाव छ, सभामुख चयनको । तर, दुई अध्यक्षबीचको यही तानातानले प्रभावित भएको छ, राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने प्रसंग । स्थायी नीति नहुँदा कहिले राष्ट्रपति जाने, कहिले अन्तिम घडीमा कोही पनि नगइदिने लापरवाही भएको छ यसपालि ।
२७ गते बिहान नौ बजे नै राष्ट्रपति शालिकमा फूल माला चढाउन आउने भनेर सेना सलामी दिने तयारीका साथ साँस्कृतिक संस्थानसहित तीनवटा प्रज्ञा प्रतिष्ठानको संयुक्त कार्यक्रमअन्तर्गत सिंहदरबारको पश्चिम गेट पुगिसकेको थियो । सामान्यतया राष्ट्रप्रमुखको पूर्वनिर्धारित कार्यक्रम कुनै गम्भीर प्रकारको राष्ट्रिय वा व्यक्तिगत घटना नभएमा रोकिँदैन । तर, यसचोटिको राष्ट्रिय एकता दिवसमा प्रमुख अतिथिको अत्तोपत्तो नहुँदा बिजोग भयो । पोहोर पह्रारझैं अघिल्लो दिनै राष्ट्रपति जाने कुराको टुंगो लागिसकेको थियो । तर, बिहान ११ बजेको कार्यक्रममा ९ बजे राष्ट्रपति उपस्थित हुन नसक्ने खबर पुग्दा आयोजकहरुको बिजोग भयो । राष्ट्रपति नआएपछि उपराष्ट्रपतिलाई ताकेता भयो । उहाँ पनि जानुभएन । प्रधानमन्त्री त झन् बालुवाटार छोडेर अस्पतालबाहेक कतै जानै नमिल्ने स्थितिमा हुनुहुन्छ । केही सीप नलागेपछि उपप्रधान तथा रक्षामन्त्रीको समय बुझियो, उहाँ पनि अन्यत्रै व्यस्त † अन्तिममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबाट काम चलाइयो । अनि, योगेशलाई नै सलामीबाहेक सबै सत्कार गर्दै कार्यक्रम शुरु गर्नुपर्ने स्थिति देखियो । जबकि, राष्ट्रिय एकता दिवस कुनै साँस्कृतिक पर्व थिएन, न त पर्यटनसँग यसको धेरै नाता छ, उड्डयन त कतैबाट गाँसिदै गाँसिदैन । तर, पनि पुग्नुप¥यो उनै मन्त्रीले †
यही दिनलाई स्मरण गर्न सेनाका ७० जवान गोरखा दरबारदेखि बत्ती बालेर, बाजागाजासहित हिँडेरै काठमाडौं आइपुगे । उनीहरु एकीकरण पदमार्गअन्तर्गत गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंको बसन्तपुर दरबार पुगेका थिए, २५ गते । जबकि, उनीहरुलाई २६ गते आइपुग्नु भनिएको थियो । तर, एकदिनअगावै आइपुगे । त्यसरी एकीकरण पदमार्ग प्रयोग गर्ने सेनाले पुरानो गुर्जुको पल्टनकै भेष, अर्थात्, पृथ्वीनारायण शाहकै पालाको पोशाक लगाएका थिए ।
नेपाली सेनाले फागुनसम्ममा काभ्रेलगायत एकीकरणको सम्पूर्ण पदमार्ग पहिचानसहित सगरमाथा आरोहण गर्ने, आफ्नो डफ्फालाई जंगलमा हिँडाउने, म्याराथुन आयोजना गर्नेजस्ता कार्यक्रम गर्दै छ । राष्ट्रिय एकता दिवसकै अवसर पारेर बुटवलमा युनिटी रन भयो, पृथ्वीनारायणदेखि उजिर सिंहसम्मको इतिहास स्मरण गरियो ।
त्यस्तै, प्रधानसेनापति राजेन्द्र क्षत्रीका पालामा भक्तपुरस्थित सैनिक स्कुलमा बसेर लखनौ लुट मच्चाएका महासेनानी भूपालमान अधिकारी र प्रमुख सेनानी देव क्षेत्रीसहितलाई अहिले सैनिक प्रहरीको हिरासतमा राखेर छानबिन भइरहेको छ । पछिल्लो समय छाउनीस्थित सैनिक अस्पतालका कमाण्डेन्ट र १६ नम्बर बाहिनी ‘जगदल’ का प्रमुख प्रयोगजंग राणा पनि यस्तै काण्डमा जंगी अड्डामा तानिएका छन् । सैन्य सामग्री उत्पादन केन्द्रका महानिर्देशक पूर्वप्रधानसेनापति धर्मपालबरसिंह थापाका छोरा अजितबरसिंह पनि शंकाको घेरामा छन् ।
उता, पाइलटद्वय सुवर्ण विष्ट र राम बोहोराले प्रधानसेनापतिलाई सैनिक जहाजबाट ढाकामा छोडेर फर्किएका छन् । यसअघि भारतबाहेकको विदेश उडानमा प्रधानसेनापति आमनागरिक जसरी नै कमर्सियल फ्लाइटमा जाने प्रचलन यो भ्रमणबाट तोडिएको छ ।
टिप्पणीहरू