​खान बोलाएर उल्टो खप्की

पुस २२ र २३ गते पार्टी कार्यालयमा ‘असन्तुष्ट भेला’ गरेका कांग्रेसका केही जिल्ला सभापतिलाई २४ गते दिउँसोको खाना खान निम्तो आयो बूढानीलकण्ठबाट । सभापति शेरबहादुर देउवा निवासबाट आएको सो निम्ताबारे केही जिल्ला सभापतिले संशय राखे । कतिले जाने भने, कतिले नजाने । यो कुरा असन्तुष्ट गुटका प्रमुख रामचन्द्र पौडेलसमक्ष पुग्यो । उनले पनि महामन्त्री डा. सशांक कोइरालालाई सोधे । तर, जाने कि नजानेमै रुमल्लियो एकछिन । सभापतिको निम्तो सहमहामन्त्री डा.प्रकाशशरण महतले बाँडेका हुन् । भेलामा निम्तो आएपछि भात खान जाने कि नजाने भन्नेमा केही समय आपसी परामर्श भयो । अनि विकल्प निकाले अर्का डाक्टर मीनेन्द्र रिजालले । उनले भने, सभापतिले बोलाएपछि नजाने कुरा हुँदैन जाने, आफ्ना कुरा पनि राख्ने । तर, कसरी जाने ? विकल्प निकाले– एउटा ज्ञापनपत्र बनाउने, यो भेलाले यस्तो निश्कर्ष निकाल्यो भन्ने । पछि त्यही भयो । हाल रामचन्द्र पौडेलले नेतृत्व गरिरहेका कोइरालापक्षीय जिल्ला सभापतिहरू ज्ञापनपत्र बोकेर बिहीबार त्यहाँ पुगे । 

कतिले आफ्ना कुरा राख्ने भनेकोमा त्यसो नगरी ज्ञापनपत्र पढेर सुनाउने र यो सबैको साझा निर्णय हो भन्ने सहमति भयो, त्यसै गरियो । एक जनाले ज्ञापनपत्र पढेर सुनाए । सभापति देउवाले ध्यान दिएर सुनेजस्तो नलागेको भन्दै थप बोल्न खोजे नुवाकोटका जगदीश्वरनरसिंह केसी । ज्ञापनपत्रमै भएपछि किन बोल्नुप¥यो ? देउवा कड्किए । त्यसपछि त्यो क्रम पनि रोकियो । अनि कतिपयले बोल्ने क्रम शुरु भयो । रिजालले बोल्दा भने देउवा उठेर भित्र गएका थिए । यो देख्ने सबैलाई अप्ठ्यारो लागेको थियो । किनभने त्यो भेलामा सभापति देउवाविरुद्ध सबैभन्दा बढी आक्रामक र आलोचक बनेका उनै मीनेन्द्र थिए । 

भात खान आएका जिल्ला सभापतिहरूलाई केन्द्रीय सभापतिले के भने ? यसको ठोस जवाफ उनीहरूले पाएनन् । उनले सतही धारणा राखे ‘म लचिलो हुन तयार छु ।’ तर जिल्ला नेताहरू सन्तुष्ट भएनन् । अनि १४औं महाधिवेशनमा एकमत भएर जान सभापतिजीले के गर्ने भनेर सोधे । 
विधानको धारा निलम्बन र विभाग गठनको विषयमा ध्यानाकर्षण गराउँदै उनीहरूले गुटगतभन्दा स्वतन्त्र काम गर्न सुझाव दिएपछि भने देउवा कड्किएका थिए । फेरि सभापतिहरूले प्रश्न गरे, ‘सभापतिले गुटगत भागबण्डा गर्ने होइन, स्वतन्त्र रूपमा काम गर्ने हो, विधानमा ६ महिनाभित्र गठन गरिसक्ने विभाग किन भएनन् वा सभापतिले आवश्यक किन ठानेनन् भन्ने कुरा प्रस्ट हुनुप¥यो ।’

देउवा केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन तयार थिएनन् । उनले मिलेर जाने वचन दिए पनि त्यसबारे विस्तृत बताएनन् । सभापतिहरू बोल्दै जाँदा विमलेन्द्र निधि, विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले पनि कुरा राखेका थिए । देशैभरि कांग्रेसका शुभेच्छुकहरूले राखेको कुरामा आफू तयार रहेको सभापति देउवाले बताए । तैपनि, आक्रमण जारी रहेपछि उनले भने, ‘किन ? मैले के गल्ती गरेँ ? विभाग खाली भए गठन गर्नु भनेको होइन तिमीहरूले नै ? अनि आज गठन गर्दा किन यस्तो विरोध ?’ आफूले गुटको राजनीति नगरेको उनले बताए । भने, ‘यो गुटको भेला कसले किन बोलाएको ? के यो गुट होइन ? जिल्ला सभापतिहरूलाई छानीछानी भेलामा बोलाएको यो गुट भएन ? अनि तिमीहरू नै ठूलो कुरा गर्ने ? मैले भनिहालेँ त मिलेर जाने भनेर ।’

उनले निरन्तर दिइरहे, बीचमा कोही बोलेन । उनले अनावश्यक गुट खडा गरेर बखेडा झिकेको भनी रामचन्द्र पौडेललाई कराए । त्यसमा पनि कोही बोलेन । त्यहाँ उनी थिएनन् । अनि सभापतिहरूले खाना खाए । हिँड्ने बेलामा केहीले भन्दै थिए, ‘खान बोलाएर यसरी थर्काउने ? यहाँ आउने भनेर कसले सुझाव दिएको ?’ अनि अरू केही भन्दै थिए, खोइ त सभापतिजीको के आयो ठोस् ? मिलेर जाने भन्ने त उहाँको पहिलेदेखिको थेगो नै हो नि ! न महाधिवेशनको मिति परिवर्तन हुने भो, न त गठन भएका विभागमै कुरा मिल्यो । न यसअघिको केन्द्रीय समिति बैठकको निर्णयमै परिवर्तन हुने भो । 

टिप्पणीहरू