​बिहे नगरिकनै जो सबको आमा बनिन्

भनिन्छ, हिलैहिलोको बीचमा सुन्दर कमलको फूल फुल्छ । उनको जीवनका पत्र केलाउँँदा लाग्छ उनी पनि हिलोमै फुलेकी सुन्दर फूल हुन् । अभाव र तनावको पहाडमा हुर्किएकी इन्दिरा राना मगरको त्याग, तपस्या र योगदान स्वदेशले चिनेन त के भयो ? पटक–पटक अन्तर्राष्ट्रिय पुरस्कार हात पार्न सफल भइसकेकी छन् । ०७० सालमा बालबालिकाको क्षेत्रमा काम गरेबापत वल्र्ड चिल्ड्रेन अवार्ड, स्विडेनकी महारानीको हातबाट १ लाख अमेरिकी डलर पुरस्कारसहित सम्मानित उनैको ख्यातिलाई पछ्याउँँदै जनआस्थाकर्मी पुग्यो उनको आश्रम लोलाङ । जहाँ २० बालबालिकाको पालनपोषण हुँदैछ । विशाल हृदयकी आमासँग यो पंक्तिकारले कोट्यायो तिनको बालापन :

जन्मिइन् झापा जिल्ला सालबारीको चारआलीमा । समय यस्तो थियो, बन्ध्याकरण गर्नुलाई पाप मानिन्थ्यो । बुवाआमाको कोखबाट लगालग जन्मिए १० सन्तान । जसमध्ये ६ जना बितिसके । न थियो टाउको लुकाउने छानो न त पेटभरी खाने मानो । बिहान खाए बेलुका के खाऊँ ? हातमुख जोड्ने समस्याले सदैव खेद्थ्यो । सतार, बोटेहरू छिमेकी । तिनैसँगै खेल्दै हुर्किइन् । तिनताक छोरीले पढ्ने अवसर कहाँ पाउनु ? दिनभर सतारहरूसँगै माछा मार्ने र खेल्नेमै बित्थ्यो । उराठ र उदासलाग्दो थियो बालापन । दाजुहरूले झैं पढ्ने रहर त थियो तर ती इच्छा–आकांक्षा मनकै कुनामा सीमित भए । समयक्रमसँगै जेठो दाजु शिक्षक बने । इन्दिरा आफ्ना दाजुसँग ट्युसन पढ्न आएका विद्यार्थीलाई पढाएको पाठ सुन्थिन्, लुकेर । र, कण्ठस्थ पार्थिन् । समयले कोल्टो फे¥यो वा उनको नियतिले ?

इन्दिराको अध्ययनप्रतिको उच्च लगाव देखेर प्रभावित भए विद्यालयका प्राचार्य, जुन विद्यालयमा उनको दाजुले अध्यापन गराउँथे । इन्दिरामा अध्ययनप्रतिको अत्यन्त भोक देखेपछि तिनै प्राचार्यको सक्रियतामा सीधै पाँचै कक्षामा भर्ना भइन् । फेरि समस्या बनेर उभियो लगाउने गतिलो कपडा । साथीहरू उनको कपडा देखेर खिसिट्युरी गर्थे । भन्छन् नि, विष नभएको सर्प र इख नभएको मान्छे काम लाग्दैन । त्यही इखका कारण इन्दिराले आफ्नो मिहिनेतलाई अझै बढाइन् र कक्षा ६ मा पुगिन् प्रथम बनेर । मारवाडीका बच्चाहरूलाई पढाएर खर्च जोहो गर्न थालिन् । एसएलसी पार लगाएपछि आइकम तहको अध्ययनका लागि दमक क्याम्पस पुगिन् । अर्काको घरमा घाँस काट्ने, दाउरा काट्ने, सुँगुरलाई चारो हाल्नेलगायत काम गर्दै आइकम उत्तीर्ण गरिन् । र, इलाम पुगेर विद्यार्थी पढाउने काम पाइन् । त्यतिखेर इलाममा एमाले, कांग्रेसको बलियो पकड थियो । इन्दिरा कुनै दलको थिइनन् । जागिर गुम्यो र दुःख–सुख गरी बिकम दोस्रो वर्षको परीक्षा दिएर स्वप्ननगरी काठमाडौं भित्रिइन् । 

शुरुमा काम भेटिन् सिलाइ कम्पनीमा लुगामा टाँक र आइरन लगाउने । कमाइ दैनिक बीस रुपैयाँ । विकल्पको खोजीमा थिइन् । यस्तैमा अमृत बोर्डिङ स्कुलमा आवेदन दिएर छनोट भइन् । फाटेको चप्पल र च्यातिएको कपडा लगाएर स्कुल जान्थिन् । संयोगवश, त्यो स्कुल रहेछ चर्चित साहित्यकार पारिजातको । इन्दिरा आज जे छिन् र जे हुन् त्यो सबै हुनुमा पारिजातकै देन मान्छिन् । एकदिन पारिजातले इन्दिरालाई आफ्नो कार्यकक्षमा बोलाइन् । तिनताक पारिजात एम्नेष्टी इन्टरनेशनलमा उपाध्यक्षको हैसियतमा कार्यरत थिइन् । अध्यक्ष थिए ऋषिकेश शाह । पारिजातको स्नेहले इन्दिरा सो संस्थाको सदस्य बनिन् । उनी विभिन्न जेलमा जान र त्यहाँको रिपोर्टिङ गर्न थालिन् । राजनीतिक आधारमा जेल परेका बन्दीलाई क श्रेणीको सिदा दिइन्थ्यो भने अन्य अपराधवालालाई ख श्रेणी । त्यो देख्दा मन चस्स हुन्थ्यो । अझ आमासँगै बन्दी बनेका नाबालक बच्चा देख्दा मन भत्भभती पोल्थ्यो । सोही क्रममा विराटनगर र चितवनको जेल भ्रमण गरिन् । त्यहाँका अबोध बालबालिका देखेपछि लाग्यो– अब म यिनका लागि काम गर्छु । 

त्यही चोटले जन्मियो प्रिजनर्स एसिस्टेन्स (पिए) नेपाल सन २००० मा । गरिबी र अशिक्षाका कारण बालबालिका आपराधिक कार्यमा लाग्ने गरेको बुझेपछि उनले आवासगृहसमेत सञ्चालन गरेकी छन् । पिए नेपालले अहिले नौ वटा चिल्ड्रेन्स होम चलाएको छ । त्यस्तै, जेलमा रहेका बालबालिकाका लागि दुईवटा विद्यालय छ  । लोलाङमा २० जना र पिए साँखु चिल्डे«न होममा सय जना बालबालिका छन् । यस अलावा ११ ठाउँमा संस्था खोलेर बालबालिकाकालाई शिक्षा–दीक्षा दिइरहेकी छन् । नारायणस्थान कुमारी होममा १२, माला होममा १७, भक्तपुरको युथ होममा १६ जना, पाल्पा, पाँचथर, इलाम फिक्कलको मदर अर्थ होममा ८ जना, झापाको सस्टेनेबल चिल्डे«न होममा १० बालबालिका राखेर तिनको शिक्षा–दीक्षा र पालनपोषण हेरिँदैछ । उनको संस्थाले पाँच सय जना बालबालिकालाई आश्रममै राखेर र गृहस्थीमै रहेका २ सय बालबालिकालाई विभिन्न किसिमले साथ सहयोग दिइरहेको छ । 

उनको यही सत्कर्म स्वदेशले नचिने पनि सन ००५ मा अशोका फेलो नामको अमेरिकामा रहेको संस्थाले वितरण गर्ने अवार्ड पाइन् । मासिक ३ सय डलरको दरले रकम आउन थाल्यो । यो रकम पाएपछि उनलाई काम गर्न केही सहज भयो । त्यही रकमले पाल्पामा जग्गा किनियो । सन् ००६ मा साँखुमा ३ लाख ५० हजार प्रतिरोपनीका दरले ७ रोपनी जग्गा ४ जनाको सहयोगमा किनियो । बाज्रिलका मनकारीहरूले ५०० डलर पठाइदिए । उनको कार्यशैलीबाट प्रभावित भएर ड्याप र नाफा नामक संस्थाले सहयोगको हात बढायो । सिसिएस इटालीले पनि १० लाख सहयोग ग¥यो । यसरी रकम जुटेपछि साँखुमा भवन निर्माण भएको छ । पछिल्लो चरणमा अढाइ रोपनी जग्गा थपिएको छ । 

प्रतिदिन इन्दिराका सहयोगीहरू थपिँदै छन् । देखावटी होइन, वास्तविक समाजसेवा गर्ने इन्दिरालाई झापाको खुदुनाबारीका एक दिलदारले २ बिघा जग्गा किनिदिएकी छन् । उक्त जग्गामा उत्पादित धानले यहाँका बालबालिका सबैलाई खान अनाज पुग्छ । यस्तै झापामै नमुना विद्यालय अगाडि बढ्दै छ । आफैंले हुर्काएका बालबालिका ठूलो भएपछि उल्टै अरुको उक्साहटमा लागेर बालकल्याणमा मुद्दा हालेको उदाहरण पनि छ । नेपालको सरकारी निकाय, राज्यले इन्दिराको त्याग र योगदान चिनेन त के भयो ? विदेशीले सक्दो सहयोग गरिरहेका छन् । यस्तै कर्ममा रम्दारम्दै इन्दिराले विवाह गर्न भुलिन् । विवाह नगरेर के भयो ? आज उनी हजारौं बेसहाराहरूको आमाको रूपमा पुजिएकी छन् । तिनलाई आश्रय दिइरहेकी छन् । तिनको छहारी बनेर मुहारमा उज्यालो भरिरहेकी छन् । यी मनकारी आमालाई हाम्रोतर्फबाट स्यालुट !
– अञ्जना सुवेदी

टिप्पणीहरू