मातृसत्ताले हार खाएको लक्षण

मातृसत्ताले हार खाएको लक्षण

“पितृसत्ता राजसंस्थाभन्दा बलियो रहेछ” – डा शिवमाया तुम्बाहाङ्फे

राणाशासनकै बेला महिला शिक्षाको सवाललाई लिएर संघर्षको मैदानमा उभिनेमा साधना प्रधान, सहाना प्रधानसमेत थिए । त्यही मेसोमा एकपल्ट वनभोजको आवरणमा राणाविरोधी धारणा राख्ने थुप्रै महिलाको जमघट भई मंगलादेवी सिंहको नेतृत्वमा नेपाल महिला संघ स्थापना भएको थियो । यसै क्रममा सहाना, साधनासहित अरू आन्दोलनकारीलाई प्रहरीले कुटपिट गरी ब्यारेकमा थुनेर यातना दिने काम गरेका थिए ।

सहाना पुष्पलालसँग सम्पर्क स्थापना भई २००९ सालमै नेकपाको सदस्य भएकी थिइन् । २०१० सालमा नेकपाको प्रथम महाधिवेशनमा तीन महिला प्रतिनिधिले भाग लिएका थिए जसमध्ये उनी पनि थिइन् । विसं २००८ असार २३ गते जातीय जनतान्त्रिक संयुक्तमोर्चा गठन हुँदा नेपाल प्रजा परिषद्, नेपाल कम्युनिष्ट पार्टी, नेपाल युवक संघ, अनेकिसंघ, अखिल नेपाल मजदुर संघ, नेपाल महिला संघ, अखिल नेपाल विद्यार्थी फेडरेशन, समाज सुधार संघ, प्रगतिशील अध्ययनमण्डल आदिको सहभागिता थियो । २०१० मा काठमाडौं नगरपालिकाको निर्वाचन, जुन मुलुककै नगरपालिकाको प्रथम निर्वाचन थियो, मा वडा नं ८ बाट साधना विजयी भएकी थिइन् । त्यसबखत पार्टीमाथि प्रतिबन्ध भएकाले साधना जनअधिकार सुरक्षा समितिका तर्फबाट उम्मेदवार भएको हुनुपर्छ । यसै संस्थाका माध्यमबाट नेकपाले आफ्नो राजनीतिलाई जनसमक्ष प्रस्तुत गरेको थियो ।

०१७ साल कात्तिक २१ गते नेकपाको केन्द्रले जारी गरेको एउटा परिपत्रमा त्यसबेला निम्नलिखित विभाग र कार्य विभाजन देखिन्छ ः (१) पार्टीसम्बन्धीः जनरल सेक्रेटरी (२) पार्टी अखबार संस्कृतिः डिपी अधिकारी (३) संसदीय फाँटः तुलसीलाल अमात्य (४) युवक विद्यार्थी फ्रन्टः कमर शाह (५) मजदुर किसान फ्रन्टः पुष्पलाल । महिला हेर्ने विभाग भने देखिएन जबकि नेकपा स्थापनाको घोषणा हुँदा एक महिलासमेत गरी पाँच जनालाई संस्थापक सदस्यका रूपमा प्रस्तुत गरिएको थियो र त्यसबेलासम्म संसारका प्रत्येक कम्युनिष्ट रोजा लक्जम्बर्ग, क्रुप्सकाया, क्लारा जेट्किन तथा अन्य कम्युनिष्ट वीराङ्गनाबारे परिचित भइसकेको थिए ।

उदेकलाग्दो पक्ष त के भने अविभाजित पार्टीको द्वितीय महाधिवेशनसम्म निर्वाचित केन्द्रीय समितिमा एक जना पनि महिला चुनिएका थिएनन् । ०१५ सालमा सम्पन्न प्रथम संसदीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट एक जना पनि महिलालाई उभ्याइएको थिएन । यसप्रकार महिलासम्बन्धी नेकपाको केन्द्रीय नीतिका कारण सम्पूर्ण पार्टीमा नकारात्मक प्रभाव परेको थियो ।

महिलाप्रति हेरिने दृष्टिकोणबारे वयोवृद्ध कम्युनिष्ट नेता विष्णुबहादुर मानन्धरका पितृसत्तामक सोचले मातृसत्ता न्याकिएको सम्बन्धी धारणाप्रति विमति राख्नुपर्ने देखिँदैन । मुलुकका सात प्रदेशमा जनजाति, मधेशी र ब्राह्मणक्षेत्रीको नियुक्ति हुँदा एक जना पनि महिला अट्न सकेनन् । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले चाहेको भए छ मुख्यमन्त्रीमध्ये एक पक्कै पनि हुन सक्थे तर त्यतिबेला पनि वामपन्थी दलहरूले ठूलो छाती गर्न सकेनन् जसको आलोचना अहिले पनि हुँदै आएको छ । नेकपामा जिल्ला इञ्चार्ज, सहइञ्चार्ज पाउनेमा पनि मुश्किलले महिला आधा दर्जन मात्र पुगे कि ? अहिले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले मानसिकरूपले रुँदै राजसंस्था सबै मिलेर फाले पनि पितृसत्तात्मक सोच परिवर्तन गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने बताएर उही पन्ध्रसाले नेकपा चरित्रलाई सम्भmाइदिएकी छन् । सेनापति बलभद्र कुँवरसँगै सयौँ किशोरी, युवती र प्रौढाहरूले नालापानी किल्लाबाट ढुङ्गामुढा गरेर अंग्रेजविरुद्ध लडेको इतिहास ताजा नै छ ।

छयालीस सालको जनान्दोलनताका संयुक्त वाममोर्चाको अध्यक्षमा सहाना नै थिइन् । प्रजातन्त्र पुनःस्थापनापछि लीला श्रेष्ठलाई नेपालको पहिलो महिला उपसभामुख, सहानालाई पहिलो परराष्ट्रमन्त्री र विद्यादेवी भण्डारीलाई पहिलो रक्षामन्त्री बनाउन कीर्तिमान कायम राख्ने तत्कालीन एमालेले भण्डारीलाई नै पहिलो महिला राष्ट्रपति बनाउन भ्याएकै हो । नेताहरूको अवसानपछि तिनका विधवाहरू(भण्डारी, तीर्था गौतम, गोमा देवकोटा, खातुन, कमला शर्मा, विद्या भट्टराई आदि)लाई संसद्मा पठाएकै हो । तत्कालीन माओवादीले पनि ओनसरी घर्तीलाई पहिलो सभामुख बनाएर कीर्तिमान कायम राखेको थियो । अहिले सचिवालयमा एक महिला पनि नभएका अवस्थामा पार्टीले त्यसको पूरताल किन नगरेको हो, छक्कलाग्दो छ, अहिलेकै २३ सदस्यीय मन्त्रिमण्डलमा जम्मा दुईजना वीना मगर र पद्माकुमारी अर्याल हुँदा पनि पार्टीलाई मातृसत्ताको अवसान हुँदै गरेकामा रत्तिभर दुःखमनाउ छैन । पहिलेको २५ सदस्यीयबाट २३ मा झारी थममाया थापालाई हटाउँदा नारीका ठाउँमा पुरुष नै गए । अहिले प्रतिशतको हिसाब गर्ने हो भने संघीय मन्त्रिपरिष्दमा जम्मा महिला प्रतिशत ८ दशमलव ७ मात्र छ जुन दश प्रतिशत पनि पुग्दैन ।

संस्थागत रूपमा अगाडि बढेको पितृसत्तात्मक सोचलाई उन्मूलन गर्न एक दुई जना मात्र लागेर नहुने भएकाले पत्रकारलाई पनि त्यसमा लाग्न तुम्बाहाङ्फेले त्यसै आह्वान गरेकी होइनन् । पत्रिकाले नलेखी राज्यको आँखा खुल्न गाह्रै छ । ‘राज्यका उच्च ओहोदाहरूमा समाजका सबै अंगहरूको प्रतिविम्ब झल्किन सकेमात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्नुहुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्ने मैले आशा लिएकी छु’, तुम्बाहाङ्फेको यस भनाइले उपसभामुख भइसकेको एक बौद्धिक एकल जनजातिकी महिलालाई सभामुख बनाएको भए के बिग्रन्थ्यो भन्ने आशय झल्किन्छ । करीब दुई वर्ष उपसभामुख भई संसद् चलाएको अनुभवबाट सभामुखमा उक्लने चाहना अस्वाभाविक महत्वाकांक्षा वा अनुचित आग्रह थिएन भन्ने पनि उनले पार्टी नेताहरूलाई सम्झाउन खोजेकी छन् ।

अग्निप्रसाद सापकोटा पटक–पटक मन्त्री भइसकेकाले उनी अन्यायमा थिएनन् । यसबीचमा नेत्री पम्फा भुसालको नाम पनि आएकै हो । यहाँ डा. तुम्बाहाङ्फेको मात्र प्रश्न रहेन, समस्त नारीजगत्को सवाल हो । महिलाले हाँकेको राज्य भन्ने सन्देश विश्व समुदायमा जान्थ्यो त नेकपाकै इज्जत बढ्थ्यो । सापकोटाले संसद्लाई राम्रैसँग हाँक्न सके भने महिलाको अभाव खड्कने छैन । यसपालि अवसर गुमे पनि पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर भने गुमेको छैन । अब समस्त मातृशक्तिको आँखा त्यो कुर्सीतिर गए बेस हुने छ ।

 

टिप्पणीहरू