सवारीमा यतिसम्म स्वाहा
एकातिर प्रधानमन्त्री केपी ओली मितव्ययिता तथा सुशासनको नारा दिने, अर्काेतिर उहाँको नाकैअगाडि ‘लुटको धनमा फुपूको श्राद्ध’ चल्ने ।
हाम्रोजस्तो सानो अर्थतन्त्र भएको मुलुक जहाँ सरकारी सवारीसाधन खरिद, मर्मत सम्भार र इन्धनका नाममा मात्र वार्षिक १५ अर्बभन्दा बढी रकम हावामा उड्ने गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक केलाउने हो भने अघिल्लो वर्ष मात्र केन्द्र सरकारले सवारीसाधन मर्मत शीर्षकमा ७ अर्ब खर्चेको विवरण भेटिन्छ । इन्धनका नाममा मात्र झण्डै ३ अर्ब सकिएको छ । ०६९÷७० मा कूल १ अर्ब १७ करोडको सवारी खरिद भएकोमा गत आर्थिक वर्ष प्रदेशले २ अर्बको किन्दा केन्द्रले ५ अर्बको नयाँ गाडी किनेको तथ्यांक छ । अघिल्लो वर्षमा संघ र प्रदेशले गरी ७ अर्ब ५७ करोड ६५ लाखको सवारी खरिद गरेमध्ये ५ अर्ब ८३ करोड ८३ लाख २ हजारका गाडी संघको रहेछ । यसमा स्थानीय तहको खर्च समावेश छैन । पछिल्लो १० वर्षमा मात्र सवारीसाधन खरिदको नाममा ५६ अर्ब विदेशिएको छ ।
यसरी बर्सेनि अर्बांै खर्चेर किनिएका सवारीसाधनको सदुपयोग भइरहेको छ त ? अर्थ मन्त्रालय भन्छ, कम्तीमा १५ वर्षसम्म एउटै सवारीसाधन चलाउनु अर्थात् त्यसलाई प्रतिस्थापन गर्नु । तर, हामी कहाँ त चल्न मिल्ने गाडीलाई सिंहदरबारभित्र थन्क्याएर मुलुककै प्रमुख प्रशासनिक निकायलाई कवाडखानामा रुपान्तरण गरिएको छ । यस्तो कुरामा खै लगाम ? नियमानुसार सहसचिवसरह वा सोभन्दा माथिका सरकारी अधिकारीले मात्र सवारीसाधन र चालकको सुविधा लिन पाउने हुन् । तर, हामीकहाँ अधिकृतभन्दा माथिका कर्मचारी पनि सरकारी सवारीसाधनमा हुइँकिरहेका छन् । सिंहदरबारभित्र कार्यरत अधिकृतस्तरका कर्मचारीको संख्या एक हजार ३ सय हाराहारीमा छ । तर, त्यहाँ एक हजार ६ सयभन्दा बढी सवारी चालु रहेको विवरण भेटिन्छ । सिंहदरबारभित्र मात्र ९ सय वटा चारपांग्रे सवारीसाधन रहेकामा ३ सय बेवारिसे र ६ सय मात्र चालु छन् । बाँकी कवाडका रूपमा सिंहदरबारलाई कुरुप बनाएर पार्किङ गरिएको भेटिन्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै ८० भन्दा बढी सवारीसाधन कसले, कहाँ, कसरी, के प्रयोजनका लागि प्रयोग गरिरहेको छ जानकारी छैन । त्यहाँ अधिकृतस्तरका ९० कर्मचारी रहेकामा १ सय ५० वटा सवारी प्रयोगमा छन् । उस्तै हालत छ अन्य मन्त्रालयको पनि । कृषिमा ३५ भन्दा बढी सवारी कसले प्रयोग गरिरहेको छ, जानकारी छैन । भूमि व्यवस्था तथा सहकारीमा २२, अर्थमा ६०, संघीय मामिलामा २५ वटा सवारीसाधन कहाँ कुन अवस्थामा प्रयोग भइरहेको हो, केही तथ्यांक र जानकारी छैन । यसको लेखाजोखा गर्ने कसले ?
टिप्पणीहरू