बसन्तपुरमा मान्छे र बाख्रा मार्ने बाघ फन्दामा
मकवानपुरको मनहरी गाउँपालिका ५, बसन्तपुरमा आफैंले मारेको शिकार खान फर्केको बाघ मान्छेको फन्दामा परेको छ । अस्ति साँझ कान्छीमाया रुम्बालाई मारेको र सोही रात अन्य सात वटा बाख्रालाई खोरमै मारेर भागेको बाघ शिकार खोज्दै पुनः गाउँ फर्कने क्रममा डार्ट गरिएको छ । टाढैबाट गोली हाने जसरी बाघ वा अन्य वन्यजन्तुलाई सुईमार्फत बेहोस बनाउने औषधि लगाउने प्रक्रियालाई डार्ट भनिन्छ ।
मरेका बाख्रालाई बाघ जंगलतिर भागेको ठाउँमा राखेर डार्ट टोली स्ट्यान्डबाइ बसेको थियो । चितवन राष्ट्रिय निकुन्ज तथा पर्सा राष्ट्रिय निकुन्जका प्राविधिकहरु, नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गर्ने र डार्ट गरेर नियन्त्रणमा लिने उपाय निकालेका हुन् । सोहीबमोजिम हिजो साँझ बाघ आउने सम्भावित बाटोमा बाख्रा राखिएकामा आज साँझ सोही बाटो भएर बाघ आएको र टोलीले राखेको बाख्रा खाने क्रममा डार्ट गरिएको मनहरी गाउँपालिका ५ नम्बर वडाध्यक्ष दीपेन्द्र अधिकारीले बताए ।
बाख्रालाई घिसार्ने क्रममा डार्ट गरिएको र त्यसको केही पर बाघ बेहोस अवस्थामा फेला परेको हो । डार्ट गरिएपछि शिकार राखिएको वरपर चार वटा हात्ती प्रयोग गरेर बाघको खोजी गरिएको थियो । बेहोस अवस्थाको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा लगिँदै छ ।
टिप्पणीहरू