सिमानामा छिमेकीको दादागिरी, नेपाली पक्षको निरीहता
भौगोलिक निकटताले मात्रै होइन दार्चुला र भारतीय सीमा बजार धारचुलालाई साझा संस्कृति, भाषा र आर्थिक एवम् सामाजिक सम्बन्धले पनि जोडेको छ । महाकाली नदी वारिपारीका यी दुइ भिन्न देशका बजारलाई अन्तर्राष्ट्रिय सिमानाले छुट्याएको छ । जनस्तरको सम्बन्ध र पारस्परिक निर्भरतालाई राजकीय दृष्टिकोण र व्यवहारले बेलामौकामा प्रभावित गर्दै आएको छ ।
सिमाक्षेत्रमा रहेको भारतीय प्रशासन र सुरक्षा निकायहरुले समय–समयमा नेपाली नागरिकलाई दुःख मात्रै दिएको छैन, त्यसक्षेत्रको विकास निर्माण र जनजीवनलाई समेत प्रभावित पार्दै आएको छ । पछिल्लो समय महाकाली नदी किनारमा निर्माण भइरहेको तटबन्ध संरचनामा भारतीय पक्षले गरिरहेको अतिक्रमण र नेपाली पक्षमाथिको दबदबाले छिमेकीको दादागिरीलाई झन उजागर गरेको छ ।
पुष ८ गते दार्चुला सदरमुकामको मध्यभागमै महाकाली नदीमा भारतीय पक्षको स्काभेटर नेपालतर्फ तारिएपछि खैलाबैला मच्चियो । जिल्ला प्रशासन कार्यालयलगायत सशस्त्र प्रहरीको गण, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयभन्दा दुई सय मीटरको दूरीमा भारतीय पक्षको स्काभेटर विनाअनुमति नेपाली भूमिमा प्रवेश गर्यो ।
विना जानकारी भारतीय मेसिन नेपालतर्फ प्रवेश गरेपछि सरकारी निकायहरुसँगै स्थानीय बासिन्दा पनि चकित परे । खलंगास्थित वीरेन्द्र वन छेउमा रहेको बसपार्कको पारिपट्टि महाकाली नदी किनारमा भारतीय पक्षले तटबन्ध निर्माण गरिरहेको छ । त्यस क्षेत्रमा नेपाल सरकारले केही वर्ष अघि नै तटबन्ध निर्माण गरिसकेको छ ।
भारततर्फको महाकाली नदी किनारमा तटबन्ध निर्माण भइरहे पनि उताको तटबन्ध संरचनाले नदीको बहावक्षेत्र साँघुरिंदै गएको छ । हिउँदको सुख्खायाममा नदीमा पानीको मात्रा कम भएको बेला नदी किनारक्षेत्रको दर्जनौं मीटर भूमि च्यापेर भारतले तटबन्धको संरचना बनाइरहेको छ ।
आधा दर्जन स्थानमा भारतीय पक्षले नदीको पानीलाई डाइभर्सनसमेत गरेको छ । नदीको मध्यभागमा तारजालीसहितको ढुंगाको पर्खाल लगाएर नेपालतर्फ नदी डाइभर्सन गरिँदा समेत नेपाल सरकारले यसमा कुनै प्रश्न उठाउन सकेको छैन । भारतीय पक्षको चाहना र अभ्यासमा नेपाली पक्षले आँखा चिम्लेर साथ दिइरहेको देखिन्छ ।
नेपाली पक्षको मौनता र अघोषित समर्थनबाट हौसिएको भारतीय पक्षले पूर्वजानकारी बलपूर्वक नेपालतर्फ दिउँसै स्काभेटर पठायो । महाकालीको बहाव नेपालतर्फ फर्काउन डाइभर्सन निर्माण गर्ने उद्देश्यले स्काभेटर नेपालतर्फ ल्याइएको सहजै बुझिन्छ । तर नेपाली प्रहरी प्रशासनले यसबारे अनभिज्ञता जनाएको छ ।
नेपाली पक्षलाई जानकारी नगराई स्काभेटर नेपालतर्फ आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी स्वीकार्छन् । तर पूर्वजानकारी र सहमतिविना नेपाल प्रवेश गरेको भारतीय स्काभेटरलाई तत्काल विनाशर्त छोडिदिने कार्य पनि स्थानीय प्रशासनले गरेको छ । धारचुलास्थित भारतीय प्रशासनको दबाव र गृह मन्त्रालयबाट समेत तत्काल स्काभेटर छाडिदिन आदेश दिएपछि सिडिओसहितका सुरक्षा अधिकारीहरुले आदेश शिरोधार्य गरेका हुन् ।
विना अनुमति स्काभेटर नेपालतर्फ प्रवेश गरेपछि सयौं स्थानीयले आक्रोश पोखेका थिए । स्थानीय बसपार्क क्षेत्रमा उपस्थित भएर उनीहरुले भारतीय स्काभेटर र चालकलाई कारबाही गर्नुपर्ने माग गरे । स्थानीयको आक्रोश र विरोधपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म पाँच घण्टा नदी किनारमै मेसिन र चालकलाई नियन्त्रणमा राखेको थियो । तर भारतीय प्रशासन र काठमाडौंबाट गृह मन्त्रालयले आदेश दिएपछि चालक र स्काभेटरलाई छाडिएको बताइन्छ ।
दार्चुलाको सिमाक्षेत्रमा यस्तो अभ्यास सामान्य जस्तै बन्ने गरेको छ । यसअघि पनि सदरमुकाम खलंगाको बंगाबगर क्षेत्रमा भारतीय मेसिन नेपाल प्रवेश गरेको थियो । गत वर्षको उक्त घटनामा सशस्त्र प्रहरीले मेसिनको साँचो नियन्त्रणमा लिए पनि केही घण्टामै मेसिन भारत फिर्ता पठाइयो घटना सबैलाई अवगत छ ।
महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहँदा नदीको वहाव नेपालतर्फ फर्किने जोखिम बढ्दै गएको छ । बंगाबगर, घाटबजार र वीरेन्द्र वन क्षेत्रमा नेपालतर्फका स्थानीयले भारतीय तटबन्ध निर्माणले नदीको वहाव क्षेत्र मिचेको र नेपालतर्फ जोखिम बढ्ने चिन्ता व्यक्त गरेका छन् । गत वर्षदेखि नै आधा दर्जन पटक नेपालतर्फका स्थानीयले भारतीय पक्षलाई ढुंगा प्रहार गरेर तटबन्ध निर्माणमा विरोध जनाउँदै आएका छन् । तर नेपाली प्रशासनले वार्ता र समन्वय गरेर भारतीय पक्षलाई तटबन्ध निर्माणमा जिम्मेवार बनाउन सकेको छैन ।
स्थानीय नेपालीले बेलामौकामा विरोध जनाएपछि नेपाल र भारत दुई देशका सुरक्षा अधिकारीहरुबीच छलफल हुने गरेको छ । तर ती छलफलमा भारतीय पक्षले नेपाली अधिकारीहरुमाथि तटबन्ध निर्माणमा अवरोध पुर्याएका नेपालीलाई कारवाही गर्नुपर्ने माग राख्दै आएको छ । अन्तर्राष्ट्रिय सिमा र मापदण्डअनुसार तटबन्ध निर्माण गराउनुपर्नेमा नेपालको प्रशासन भारतीय पक्षसँग सँधै निरीह रुपमा प्रस्तुत हुँदैआएको स्वतः अनुमान लगाउन सकिन्छ ।
दार्चुला सदरमुकाम क्षेत्रको महाकाली किनारमा नेपालतर्फ पाँच किलोमिटर लामो तटबन्धको संरचना निर्माण भइसकेको छ । भारतले सोही क्षेत्रमा नेपालको जस्तै तटबन्ध निर्माण गर्दैछ । तर, महाकालीको वहावक्षेत्र नेपालतर्फ फर्काएर निर्माण भइरहेको भारतीय तटबन्धले भविष्यमा नेपालतर्फ क्षति हुने जोखिम बढाएको छ । नदीको प्राकृतिक वहावक्षेत्र साँघुरो बनाएर भारतले आधा दर्जनभन्दा बढी स्थानमा तटबन्धको संरचना निर्माण गरिरहेको उनीहरु बताउँछन् ।
खलंगाको गल्फैक्षेत्रमा महाकाली नदी पश्चिमतर्फसमेत नेपाली भूमि छ । २०७० को बाढीले नदीले नेपालतर्फको भूभाग कटान गरेपछि झण्डै एक सय मिटर चौंडा भूभाग भारततर्फ परेको छ । भारतले गतवर्षदेखि उक्त क्षेत्रमा पनि तटबन्ध निर्माण थालेको छ । गतवर्ष नै यसबारे स्थलगत निरीक्षण गरी भारतीय पक्षसँग समन्वय गर्न काठमाडौंबाट उच्च प्राविधिक टोली दार्चुला पुगेको थियो । तर भारतीय पक्षले उक्त टोलीसँग छलफल गन अस्वीकार गर्यो । गतवर्षदेखि थालेको तटबन्ध निर्माणको कार्यलाई भारतले यो वर्ष थप बढाउने भएको छ ।
जतिपटक विरोध गरे पनि भारतीय पक्षले बलमिच्याइ गर्न छाडेको छैन । महाकाली नदी किनार क्षेत्रका स्थानीयले नेपाली प्रशासन र सुरक्षा निकायसँग पटकपटक आग्रह गरे पनि नेपालको स्थानीय प्रशासन र सुरक्षा निकायलेसमेत भारतीय पक्षसँग तटबन्ध निर्माणमा समन्वय गर्न सकेको छैन । भारतको एकतर्फी तटबन्ध निर्माणलाई नेपाली पक्षले रोक्नुको सट्टा सहयोग गर्दैआएको स्थानीयको आरोप छ ।
सिमाक्षेत्रमा भारतीय प्रशासनको दबावमा परेको स्थानीय प्रशासन नेपाल सरकारकै उच्चतहको आदेशले थप निरीह बनेको स्थानीयवासीको बुझाइ छ । सदरमुकाम क्षेत्रमै छिमेकीको दादागिरी खेपिरहेका स्थानीयले महाकाली नदी किनारका अन्य क्षेत्रमा पनि यस्तै अवस्था भोग्नुपरेको गुनासो गर्दै आएका छन् ।
टिप्पणीहरू